आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
उमागौरी कृषि सहकारी घोटाला प्रकरण

अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

आइतबार, २० माघ २०८१, १६ : २८
आइतबार, २० माघ २०८१

विराटनगर । ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका –४ मा  रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष शम्भु राैनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले आइतबार रौनियार पुर्पक्षको लागि कारागार चालन भएका हुन् । 

अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।  ठगी मुद्दामा रौनियार मुख्य अभियुक्ति रहेका थिए । पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि रौनियार अदालतमा सोमबार उपस्थित भएका थिए । 

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी सोमबार कानुन व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका हुन् । 

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबीसहित २७ मङ्सिरमा मुद्दा दायर भएको थियो ।

मङ्सिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्व वडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

गत २४ पुसमा अदालतमा उपस्थित भएकी सहकारीको पूर्व सञ्चालक अन्जला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् । यो मुद्दामा अहिलेसम्म पाँच जना अदालतमा उपस्थित भएका छन् । तीन जनाको हकमा धरौटी रकम बुझाएर रिहा भएका छन् भने एक जना पुर्पक्षको लागि थुनामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप