आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला

त्रिकोणात्मक शृङ्खला : नाटकीय पतनपछि नेपालको लगातार तेस्रो हार

आइतबार, २० माघ २०८१, १५ : २६
आइतबार, २० माघ २०८१

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो ।

पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउन सक्यो ।

नेपालले खेलमा राम्रो सुरुवात गरेको थियो । ममता चौधरी र सम्झना खड्काले पहिलो विकेटका लागि ३१ रन जोडे । पहिलो विकेटका रूपमा चौधरी ७ रन बनाउँदै पभेलियन फर्किइन् । लगत्तै खड्का पनि २३ रन बनाएर बोल्ड भइन् । उनले २५ बलको सामना गर्दै ४ चौका प्रहार गरिन् ।

त्यसपछि पूजा महतो र कप्तान इन्दु वर्माले नेपालको इनिङ्स सम्हाले । पूजा १८ बलमा १८ रन बनाउँदै आउट भइन् । त्यसपछि कविता जोशीले कप्तानलाई साथ दिइन् । कविता १५ बलमा १४ रन जोडेर पभिलियन फर्कन बाध्य भइन् । यति बेलासम्म नेपालले ४ विकेटको क्षतिमा १ सय रन बनाएको थियो ।

त्यसपछि भने नेपालले लगातार विकेट गुमायो । रुविना क्षेत्री र विन्दु रावलले खाता नै खोल्न सकेनन् भने कप्तान वर्मा पनि ३२ बलमा ३० रन जोडेर आउट हुन पुगिन् । उनले १ छक्का प्रहार गरिन् ।

अलिषा यादव पनि ५ रन बनाएर आउट भइन् । सीता राना मगरले १० रन जोडिन् ।

नेदरल्याण्ड्सका लागि आईरिस जीविलिङ, हेदर साइगर्स र क्यारोलिन डी लांगेले २–२ विकेट हात पारे । इभा लिन्च र इसाबेल भान डर वोनिङले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको हो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेटे डी लिडेले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ३८ बलमा ४१ रन जोडिन् । यस क्रममा उनले ४ चौका र १ छक्का प्रहार गरिन् ।

त्यस्तै, हेदर साइगर्सले २३ बलमा २६ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । फेबे मोल्केनबोर र रोबिन राइकले २१–२१ रन बनाए ।

नेपालका लागि सीता रानामगरले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । उनले ३ ओभरमा मात्र १२ रन खर्चिइन् । मनीषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु वर्माले १–१ विकेट लिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप