आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट

दक्षिण अफ्रिकालाई हराउँदै भारत दोस्रोपटक महिला यू–१९ च्याम्पियन

आइतबार, २० माघ २०८१, १४ : ४५
आइतबार, २० माघ २०८१

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको क्वाललम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि गोंगादी तृषाले सर्वाधिक ४४ रन बनाइन् । उनले ३३ बलको सामना गर्दै ८ चौका प्रहार गरिन् । उनलाई सानिका चल्केले २२ बलमा २६ रन बनाउँदै राम्रो साथ दिइन् । उनले ४ चौका हिर्काइन् । यसअघि ओपनर जी कामालिनी ८ रन बनाएर पभेलियन फर्किएकी थिइन् ।

यसअघि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । टोलीका लागि माइकी भान भुर्सटले सर्वाधिक २३ रनको योगदान दिइन् । उनले १८ बलमा ३ चौका हिर्काइन् ।

त्यस्तै, जेमा बोथाले १४ बलमा १६ रन जोडिन् । फे काउलिङले १५ रन तथा काराबो मेसोले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न  गोंगादी तृषाले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर ३ विकेट लिइन् । आयुषी शुक्ला, पारुनिका सिसोदिया र वैश्णवी शर्माले २–२ विकेट तथा शबनम सकिलले १ विकेट हात पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप