आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

अहिले टौदहलाई फोटोजेनिक बनाइएको छ !

आइतबार, २० माघ २०८१, १४ : ०९
आइतबार, २० माघ २०८१

फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवसको साक्षी बस्दै आएको छ, टौदह । कति वर्ष त यही दहमा सिमसार दिवसका कार्यक्रम सम्पन्न भएका छन् । काठमाडौँ उपत्यकाभित्र (कीर्तिपुर नगरपालिकामा) पर्ने टौदह एक प्राकृतिक दह (ताल) हो, जसले एक पर्यटकीय स्थलका रूपमा समेत चर्चा कमाउन थालेको छ । 1 Taudaha Sunrise

आस्तिकहरूका लागि पवित्र धार्मिक स्थल वा एक आस्थाको केन्द्र हो, टौदह । टौदहको उत्पत्तिको कथालाई धार्मिक आख्यानहरूद्वारा वर्णन गर्ने गरिन्छ । कर्कोटक नागराजाको वासस्थानका रूपमा चर्चित टौदहको किंवदन्ती मछेन्द्रनाथको भोटो जात्रासँग पनि सम्बन्धित छ । यहाँ स्थानीयद्वारा पूजापाठ गरिन्छ । यस्तै यहाँ नागपञ्चमीमा मेला पनि लाग्छ । 

विज्ञहरु भने काठमाडौँ उपत्यकाको पानी बगेर बाहिर जाने क्रममा ‘अक्सबो लेक’ (अंग्रेजी अक्षर यु आकारको ताल) का रूपमा विकास भएको विश्वास गर्छन् । टौदह बागमती नदीको समीपमा रहेकाले पनि यो तर्कलाई बल पुग्छ ।

सिमसार क्षेत्र हुनुको नाताले यसको पर्यावरणीय देन र महत्त्व छ । पछिल्लो समय टौदहमा वातावरणको अध्ययनमा रुचि राख्ने तथा संरक्षण अभियन्ताहरू र बाह्य वा आन्तरिक पर्यटकहरु यहाँ पुग्ने गर्छन् । घुमन्ते (विशेषतः आन्तरिक पर्यटक)हरूको स्वाद अनुकूल यो स्थलले पर्याप्त आधुनिकता अँगालेको छ । आजकल टौदहमा घुमन्तेहरूको भिड लाग्छ । अहिले टौदह आधुनिक भएको छ । यहाँ आएर फोटो खिच्नेहरु बढेका छन्, जुन सामाजिक सञ्जालमा खुबै भेटिन्छन् । 

टौदह विशेष पारिस्पथितिकीय प्रणाली सञ्चालित हुने सिमसार क्षेत्र थियो । यसलाई जैविक विविधताको अब्बल स्थल मानिन्थ्यो । वास्तविक क्षेत्रफल सानो रहँदा पनि त्यस आसपासका धानखेत, सिम तथा ओसिलो जमिनले यसलाई सिमसारका रूपमा परिचित गराएको थियो । नजिकैको बागमती करिडोर र बोसन खोलाको सिमसार क्षेत्रसहित जल, जमिन, वनस्पति, जलचर, उभयचर तथा अन्य जीवजन्तु एकै ठाउँमा पाइएकाले यो समग्र सिमसारको प्रतिनिधि स्थल थियो । 2 Taudaha South

टौदहको स्थायी प्राकृतिक पानीको स्रोत छैन । प्राकृतिक कुवाहरू पनि भेटिएका छैनन् । ११२ रोपनीमा फैलिएको टौदहभन्दा बाहिर ठुलो हिस्सामा फैलिएको धान खेतहरू धाप वा सिम प्रकृतिका थिए । खेतीयोग्य जमिन मासिँदै गएपछि अचेल टौदह वर्षाको पानीले भरिने गर्छ ।

सिमसार क्षेत्र अति नै मूल्यवान् प्राकृतिक प्रणाली हो । जल परिचालनमा सिमसार क्षेत्रले खेल्ने भूमिकाकै कारण यसलाई प्रकृतिको मिर्गौला पनि भनिन्छ । टौदहमा प्राकृतिक विज्ञानका विद्यार्थीले अनेकौँ अध्ययन र अनुसन्धान गरेका छन् । त्यहाँ पाइने जीवजन्तु तथा वनस्पतिका विषयमा लेख तथा खोजपत्र तयार पारिएका छन् । 
अध्ययनका क्रममा यहाँ ११२ प्रजातिका चराहरू, ३८ प्रजातिका बोटबिरुवा र तीन दर्जनभन्दा बढी किरा र पानीमा पाइने स–साना जीव भेटिएको उल्लेख छ । जल र जमिनका गुणस्तरको र जैविक विविधताको अध्ययन भएका छन् । दहको पानीभित्र रैथाने माछा पौडिरहेका हुन्थे । सर्प लगायत पानीमा पाइने जीवजन्तु तथा झारपातसहित कुशल पारिस्थितिक प्रणाली सन्तुलित रूपमा रहेको थियो । वरिपरिका कृषि भूमिबाट बगेर जाने पानी दुष्प्रभावी थिएन । मान्छेको अनियन्त्रित अतिक्रमण पनि थिएन । यो एउटा राम्रो सम्पदाका रूपमा संरक्षित थियो । 

टौदह नेपालको सीमापारी चीन, मङ्गोलिया, साइबेरिया लगायत स्थानबाट जाडो छल्न आउने पाहुना चराहरूको आश्रय स्थल थियो । यहाँ हिउँदमा दक्षिणतर्फ जाँदा र ग्रीष्म ऋतु सुरु हुँदै गर्दा उत्तरतिर बसाइँसराइ गर्ने चराहरूको विश्रामस्थल पनि थियो । यस कारण पनि टौदहलाई पन्छी अध्ययनको महत्त्वपूर्ण स्थान मानिन्थ्यो । हाल देखा नपरेका वा लोप भइसकेका कैयौँ आगन्तुक पन्छीहरू यो स्थानमा पाइएको अभिलेख सुरक्षित रहेको पन्छीविद् बताउँछन् । यो टौदहको उल्लेखयोग्य विशेषता हो । 

टौदहको स्थायी प्राकृतिक पानीको स्रोत छैन । प्राकृतिक कुवाहरू पनि भेटिएका छैनन् । ११२ रोपनीमा फैलिएको टौदहभन्दा बाहिर ठुलो हिस्सामा फैलिएको धान खेतहरू धाप वा सिम प्रकृतिका थिए । वर्षाको पानी र सामान्य सिँचाइद्वारा खेती हुन्थे । यी वरिपरिका जमिनबाट रसाएर आएको पानी टौदहलाई पर्याप्त हुन्थ्यो । त्यो नै पानीको भरपर्दो स्रोत थियो । खेतीयोग्य जमिन मासिँदै गएपछि अचेल टौदह वर्षाको पानीले भरिने गर्छ । जमिन रसाएर आउने पानीले थोरै मात्र भरथेग गर्दछ । हिउँद लाग्दै जाँदा पानीको सतहमा गिरावट देखिन थाल्छ । यो अहिले टौदहको दुःख बनेको छ । सिमसार संकटमा छ ।3 Taudaha Aerial

करिब चार वर्षअघि तत्कालीन जनप्रतिनिधिहरूद्वारा टौदहलाई आधुनिकीकरण सहितको पर्यटक लक्षित व्यापारिक क्षेत्र बनाउने प्रस्ताव गरिएको थियो । त्यो एउटा सम्पदालाई विनिमय गर्ने उपाय थियो । पर्यावरणीय पक्षलाई अन्देखा गरिएको उक्त प्रस्ताव तुहिनु टौदहको लागि सकारात्मक कुरा हो । प्रकृति संरक्षण सम्बन्धी कमजोर चेत भएका राजनीतिक पात्रहरूको यस्तो सिमसारलाई राजस्व संकलनको स्रोत बनाउने दृष्टता थियो । यति हुँदासम्म जग्गा अतिक्रमण रोक्ने नाउँमा दहको वरिपरि सिमेन्टको पर्खाल लागिसकेको थियो । टौदहका किनारमा बग्रेल्ती ढुङ्गा थुपारिएको थियो । वरिपरि किनारामा ढलान गरिएका ढुङ्गा छापेका पैदल बाटो बनिसकेको थियो । टौदहले चर्चेको जमिनको अतिक्रमण रोक्न गरिएका यी प्रयासले सिमसार अतिक्रमित हुन सुरु भएको थियो । पानी रसाएर आउने छिद्र टालिएको थियो । यही बिन्दुबाट सिमसार खण्डित भई टौदहको परिस्थितिकीय सम्बन्ध वरिपरिका क्षेत्रसँग विच्छेद भइसकेको थियो । दह वरिपरिका चम्किला र झिलिमिली बत्तीले वातावरण बिथोल्न थालेको थियो । स्थानीयका लागि आयआर्जन र सरकारका लागि राजस्व बटुल्न टौदहको प्रयोग भइसकेको थियो । यस मानेमा टौदहले पैसा कमाउन थालेको छ । 

अध्ययनका क्रममा यहाँ ११२ प्रजातिका चराहरू, ३८ प्रजातिका बोटबिरुवा र तीन दर्जनभन्दा बढी किरा र पानीमा पाइने स–साना जीव भेटिएको उल्लेख छ ।

करिब दुई दशकको अन्तरालमा टौदहको रहनसहन व्यापक रूपमा फेरिएको छ । चमक धमक बढेको छ । टौदहमा आउने घुमन्तेहरूको भीड पनि फेरिएको छ, उनीहरूको उद्देश्य फेरिएका छन् । तिनकै आवश्यकता अनुरूप टौदहलाई बिछट्टै राम्रो र आधुनिक देखिने गरी सिँगार्ने कोसिस गरिएको छ । अहिले टौदहलाई फोटोजेनिक बनाइएको छ । पर्यटकलाई मन पर्ने प्रकारका संरचनाको विकास गरिएको छ तर त्यसयता टौदहलाई प्राकृतिक रूपमा फर्काउने ठोस प्रयास नहुनु उदेकलाग्दो छ । यो दुर्भाग्य हो ।

अहिले टौदहको पानी सफा देखिन्छ, जलजन्य वनस्पतिहरू देखिँदैन । यिनै वनस्पतिमा आश्रित हुने जलचर तथा दहभरि पौडिने मसिना रैथाने माछाका हुलहरू हराए, लोप भइसके । ठुला र आयातीत रङ्गीन माछाले पोखरी भरिएको छ, ती माछालाई कृत्रिम दानाद्वारा पालिएको छ । माछालाई दाना दिने काम घुमन्तेहरूको भएको छ । पानीभित्रको वनस्पति र जीवजन्तुबिच हुने प्राकृतिक खाद्य चक्र टुटेको छ । पोखरीको वहन क्षमता साथै पानीको गुणस्तरको बेवास्ता गरिएको छ । फरक ऋतु र मौसम अनुसार विचरण गर्न आउने चराहरूको संख्या ह्वात्तै घट्नु यसैको प्रत्यक्ष असर हो । अनेकौँ अतिक्रमणका कारण अन्य जीवजन्तु पनि बस्न नसक्ने भएको छ ।

टौदहको उपस्थितिले त्यहाँको जनजीवनमा चाहिँ परिवर्तन ल्याएको छ । विशेषतः स्थानीयहरूको रोजगारी प्रवद्र्धन र आर्थिक हैसियत उकास्न टौदहको भूमिका महत्त्वपूर्ण छ । पोखरीको वरिपरि किनारमा निर्माण भएका केही थान पार्टी प्यालेस, दर्जनौँ रेस्टुरेन्ट र कैयौँ स–साना पसल व्यवसाय टौदहकै देन हो । यसबाट सिर्जित रोजगारीले प्रत्यक्ष रूपमा स्थानीयको जीवनस्तर उकासेको छ, सँगसँगै टौदहको अस्तित्वमाथि धावा पनि बोलेको छ । यो आर्थिक विकासले प्रकृति विनाशको ऐना देखाइदिएको छ । खै हामीमा चेत खुलेको ? खै हामीमा संरक्षणप्रतिको हुटहुटी बढेको ? खै टौदहलाई सम्भव भएसम्म प्राकृतिक रूपमा संरक्षण गर्ने हाम्रो प्रतिबद्धता‌ ? वरिपरि जमिनको स्वरूप परिवर्तन हुँदै जाँदा खै पानी पुनर्भरणका कुवा निर्माण गरेको ? हाम्रो कमजोर इच्छा शक्तिकै कारण टौदहले आफ्नो अस्तित्व कसरी कायम राख्ला र ? उसको वैभवशाली इतिहास नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिएला र ? प्राकृतिक सम्पदा जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बाध्यता न स्थानीयले बुझे न त जनप्रतिनिधिले बुझे । बुझे त केवल अबला प्रकृतिलाई दोहन गर्नुपर्छ, त्यसबाट आर्थिक उपार्जन गर्नुपर्छ । सिमसारको अस्वाभाविक दोहन नेपालकै एउटा समस्या हो । प्रकृति संरक्षणमा इमानदार भए उपाय सुझ्छन् । नत्र सिमसार दिवस मनाउनु मात्र संरक्षण गर्न प्रतिबद्ध हुनु होइन ।6 Taudaha Stones

स्थानीय तह आफैँ सरकार हुनुको नाताले सन् १९८८ मा नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र बनिसकेको हेक्का राख्नुपर्ने थियो । सिमसार नीति– २०६९ को अनदेखा नगरिनुपथ्र्यो । अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि–सम्झौता र महासन्धिहरूमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न पनि यी र यस्ता ओजपूर्ण स्थलहरूको तर्कपूर्ण र वस्तुगत संरक्षण आवश्यक छ ।

धार्मिक र पर्यावरणीय महत्त्वलाई धमिल्याउँदै पर्यटकीय महत्त्वलाई उजागर गर्दै छ । टौदहलाई मान्छेले आफ्नो मात्र बनाए, चाहेजस्तै सिँगारेर चिटिक्क बनाए, प्रकृतिका अन्य जीवजन्तुबाट टौदहलाई केवल आफ्नै उपयोगका लागि खोसे । टौदह एउटा पोखरी मात्र भएको छ । यसलाई मानिसले केवल आफ्नो मनोरञ्जन र आयआर्जनको साधन बनाए । यति महत्त्वपूर्ण सिमसारलाई पोखरी हुँदै एउटा खुल्ला एक्वारियमको रूपमा विकास गरिनु दुर्भाग्यपूर्ण स्थिति हो । पर्यटकहरू प्राकृतिक दह हेर्न होइन कि एउटा खुला एक्वारियमको अवलोकन गर्न र माछालाई दाना खुवाउन आउँछन् ।

जलवायु परिवर्तन र विश्व उष्णीकरणको असरको अलावा तीव्र गतिमा बढेको भौतिक संरचना निर्माणले पनि टौदहमाथि संकट थोपरेको छ । प्रत्येक संरचना निर्माण सँगै पानी पुनर्भरणको खाल्डो निर्माणमा कडाइ गरेको भए जमिनमा ओस कायम रहन्थ्यो । दह वरिपरि बाँकी रहेका कृषियोग्य जमिनमा सिँचाइ सहितका जैविक कृषि कर्मलाई प्रोत्साहित गर्न सके पानीका स्रोत कायम रहिरहन्छ । पानीको गुणस्तर सुधारेर जलचर तथा जलजन्य वनस्पति बाँच्न सक्ने बनाउँदा पनि टौदहलाई त्राण मिल्छ । विषादी मिसिएका तथा ढलजन्य तरल पदार्थको चुहावटलाई निर्मम भई बन्द गर्नुपर्छ । रैथाने जातका वृक्षारोपण गर्न सके कैयौँँ पन्छीका लागि वासस्थान उपलब्ध हुन्छ । यसले जैविक विविधतामा भरथेग हुन्थ्यो । धेरै चम्किला वत्तीहरूको प्रयोगले पक्षीमा दिशा भ्रम पैदा हुन्छ । त्यो नियन्त्रण गर्न आवश्यक छ । प्रकृति प्रतिकूल मानिसको अनियन्त्रित चहल–पहल, कोलाहल र भिडभाड नियन्त्रण गरेर पनि टौदहलाई शान्त बनाउन सकिन्छ । प्रकृतिको शोषणभन्दा पहिले प्रकृतिलाई पोषण गर्नु अपरिहार्य हुन्छ । त्यसपछि मात्र विश्व सिमसार दिवस मनाउनु सार्थक हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नबरथ बानियाँ
डा. नबरथ बानियाँ
लेखकबाट थप