घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दोषी ठहर भएका गोल्डमेडलिष्ट उपसचिव प्रमोद नेपाल विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतको दोषी ठहर गर्ने फैसलामा चित्त नवुझाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
अख्तियारले शुक्रवार पूनरावेदन निवेदन सर्वोच्चमा पेश गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले अख्तियारको पूनरावेदन दर्ता भएको बताए । अब उनी विरुद्ध सर्वोच्चमा विशेषको फैसला मिले/नमिलेको बारे बहस हुनेछ। नेपाल सरकारले छात्रवृत्तिमा बेलायत पढेर फर्केका नेपाललाई भावी मुख्यसचिवको रुपमा हेरिएको थियो । तर उनी घुससहित अख्तियारको स्टिङ अप्रेशनमा परेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा गोल्ड मेडल पाएलगत्तै उपसचिव नेपाललाई नेपाल सरकारले छात्रवृत्तिमै थप अध्ययनका लागि बेलायत पठाएको थियो । छात्रवृत्तिको अध्ययन सकाएर नेपाल पक्राउ पर्नुभन्दा ८ महिना अगाडि मात्रै नेपाल फर्किएर पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखामा काम गर्न थालेका थिए ।
उक्त महाशाखाको हवाई सम्झौता तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन शाखाको प्रमुख थिए । उनी एउटा नीजि कम्पनीको अनुमतिपत्रका लागि घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । विशेष अदालतले नेपाललाई २०८० माघ १९ गते भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला सुनाएको थियो । अख्तियारले उक्त सजाय कम भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको थियो । अख्तियारले सफाई दिने निर्णय बदर हुनुपर्ने र नेपालको हकमा पनि विगो र सजाय थप हुनुपर्ने दावी गरेको छ।
बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । यद्यपि बीबी एय रवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए । सापटी दिएको भएपनि सरकारी कर्मचारीले रकम लिनु गलत भएको भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो ।
के थियो घटना ?
नेपाल २०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित होटल अरण्यको परिसरबाट उभिरहेका थिए । उनलाई बीबी एयरलाइन्सका एक कर्मचारीले ठुलो ब्याग बुझाए । लगत्तै अख्तियारवाट खटिएको टोलीले उनलाई रङ्गेहात पक्राउ गर्यो । उक्त ब्यागमा साढे २२ लाख रुपैयाँ घुसको डिल भएको र पहिलो किस्तामा ६ वापतको रकम रहेको थियो ।
पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए ।
उनै उपसचिव नेपाल २०७९ साउन १७ गते एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित पक्राउ परेका थिए । प्याराग्लाइडिङ उडान अनुमतिका लागि स्वीकृति दिने क्रममा उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको सूचना अख्तियारलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा रेकी गरी पिछा गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख घुस रकम लिएर गाडीको ड्यासबोर्डमा राख्ने बित्तिकै उनलाई पक्राउ गरिएको थियो ।
अख्तियारको दावी अनुमतिपत्र होल्ड गरेर घुस
केही पर्यटन व्यवसायीहरूले म्याग्दीमा प्याराग्लाइडिङ उडानका लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति दिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण पछि उक्त फाइल पर्यटन मन्त्रालयमा आइपुगेको थियो । उक्त फाइलको टिप्पणी उपसचिव नेपालले उठाउनुपर्ने थियो । तर उनले लामो समयदेखि उक्त फाइलको टिप्पणी नउठाई बार्गेनिङ गरेर बसेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
प्याराग्लाइडिङको उडान अनुमतिका लागि फाइल नै अगाडि नबढेपछि उपसचिव नेपाललाई पर्यटन व्यवसायी घुस दिएर भएपनि फाइल सदर गराउनुपर्ने दबाबमा पुगे । त्यसपछि उनीहरूले उपसचिव नेपाललाई घुस रकम दिने निधो गरेका थिए ।
लामो बार्गेनिङ पछि सुरुमा ६ लाख रुपैयाँ घुस दिने अनि अरु बाँकी काम भएपछि दिनेगरी २१ लाखमा डिल भयो । उक्त सहमतिअनुसार नेपाल घुस लिन होटल पुगेका थिए । होटल पुग्नुअघि व्यवसायीले अख्तियारको स्टिङ अप्रेसन टोलीलाई पनि खबर गरेका थिए । आफूमाथि स्टिङ हुँदैछ भन्ने कुराको भेउ नै नपाएका उपसचिव नेपाल पैसा गाडीमा राखेर फरार हुन खोज्दा पक्राउ परेका थिए ।
२०७९ साउन १७ गते अपराह्न २ः ३० बजे उपसचिव नेपाल नागपोखरीको अरण्य होटलमा पुगे । होटलमा पहिले नै एक व्यक्ति उपसचिवलाई कुरेर बसिरहेका थिए । उपसचिव र ती व्यक्तिबिच कुराकानी भयो र अर्का व्यक्तिले एउटा झोला दिए । उपसचिव नेपाल उक्त झोला आफ्नो कारमा राखेर पुनः होटलमा आए ।
त्यसको केही समयपछि प्याराग्लाइडिङका लागि अनुमति माग गरेका सेवाग्राही पनि त्यही होटलमा पुगे । अनि केही समयपछि ती सेवाग्राहीले एउटा सानो झोलामा ६ लाख रुपैयाँ दिए । उपसचिव नेपालले उक्त रकम गाडीमै गएर दिन भने । सेवाग्राही र उपसचिव नेपालसँगै गाडीमा गए र गाडीको अघिल्लो भागमा रहेको ड्यासबोर्डमा ६ लाख रुपैयाँ राखेर निस्किए ।
त्यसलगत्तै जान लागेका उपसचिव नेपाललाई अख्तियारको टोलीले नियन्त्रणमा लियो । अख्तियारको टोलीले सोधपुछ गर्दा उपसचिव नेपालले अख्तियारका कर्मचारीलाई सापटीको रकम भनि झुक्काउन खोजे । सुरुमै गाडीको अगाडि रहेको ड्यासबोर्डबाट अख्तियारको टोलीले रकम झिकी यो रकम कहाँबाट आयो भनेर केरकार गर्न थालेपछि उनी अलमलिए अनि अख्तियारले नियन्त्रणमा लियो ।
अख्तियारको टोलीले सुरुमा गाडीको अगाडि भागबाट ६ लाख रुपैयाँ मात्रै बरामद गरेको थियो । त्यसपछि फेरि उपसचिव नेपालको गाडी खानतलासी गर्ने क्रममा गाडी भित्रबाट अर्को १६ लाख ५० हजार रुपैयाँ बरामद भयो । तर त्यो पैसाको स्रोत पनि उनले खुलाउन सकेनन् ।
तर पछि उक्त रकमबारे सोधी खोजी हुँदा र झोला दिने व्यक्तिको खोजी गर्दै गर्दा उक्त रकम पनि घुसबापत नै दिएको खुल्यो । हवाई इजाजत पत्र नवीकरण गर्नका लागि बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले उक्त रकम दिएको खुलेपछि हरिभक्त श्रेष्ठलाई पनि मतियार बनाएर अख्तियारले मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक शृङ्खला : नाटकीय पतनपछि नेपालको लगातार तेस्रो हार
-
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : मन्त्री गुरुङ
-
राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि...
-
७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार
-
डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ
-
क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउँछ : प्रधानमन्त्री ट्रुडो