आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित

आइतबार, २० माघ २०८१, १३ : १६
आइतबार, २० माघ २०८१

काठमाडौँ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

शर्माका अनुसार बैठक भोलि (सोमबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो । 

‘अध्यक्ष जिल्लाको कार्यक्रममा व्यस्त भएकाले बैठक स्थगित गरिएको खबर आएको छ । अब भोलि बिहान ११ बजे खुमलटारमा बस्छ’, सचिव शर्माले भने । 

सोमबारको बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय हुनसक्ने उनले बताए । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी माघ १ गतेसम्म हेरफेर गर्ने निर्णय गरेको थियो ।

जिम्मेवारी हेरफेर तथा कार्यविभाजन कार्यदलमा भुसालसहित उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन् । कार्यदलले माघ २ गते बसेको पदाधिकारी बैठकमा प्रस्ताव पेस गरेको थियो । 

स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशको  इन्चार्ज फेर्ने विषयमा छलफल भएको छ । यस्तै पार्टीको केन्द्रीय कार्यालय र प्रचण्डका सचिवालय सदस्य पनि हेरफेर गर्ने तयारी छ । यद्यपि यस विषयमा कुनै निर्णय नभएको शर्माले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप