नेपालमा सिमसार क्षेत्र र कोशी टप्पु सिमसार
हरेक वर्ष फेब्रुअरी २ मा सिमसार दिवस मनाइन्छ । यस दिवसको उद्देश्य सिमसार क्षेत्रको संरक्षण, दिगो उपयोग र यसको महत्त्वबारे संसारभरि जनचेतना फैलाउनु हो ।
सन् १९७१ मा इरानको रामसार सहरमा रामसार सम्मेलन आयोजना गरियो । जसको उद्देश्य सिमसार क्षेत्रको संरक्षण र दिगो व्यवस्थापन गर्नुरहेको थियो । यस सम्मेलनले सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय सहकार्यको सुरुवात गर्यो । सन् १९९७ मा पहिलोपटक ‘विश्व सिमसार दिवस’ औपचारिक रूपमा मनाइएको थियो ।
हाल २,४०० भन्दा बढी सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरिएका छन् । सिमसार क्षेत्रले विश्वभरि २५० मिलियन हेक्टर क्षेत्र ओगटेको छ ।
सिमसार, दलदल, रामसार आदि एकै अर्थ दिने जल–थल हो जो प्राकृतिक अथवा कृत्रिम कारणले निर्मित भएको हुन्छ । सिमसार भन्नाले पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भू–भाग बुझिन्छ । हाम्रा वरिपरि पानी नसुक्ने र अलिअलि झार हुने दलदल हामीले देखेका छौँ, त्यसलाई नै सिमसारको नाम दिइएको छ ।
जमिन र पानीको वातावरण मिलेको स्थान नै सिमसार हो, जले जैविक विविधता, पारिस्थितिक सन्तुलन र मानव जीवनका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । नदी, ताल, पोखरी, दलदल, धानबारी आदि प्राकृतिक सिमसार हुन् । बाँध, जलाशय, माछापोखरी, सिँचाइका लागि बनाइएको क्षेत्र आदि मानव निर्मित सिमसार हुन् ।
सिमसार संसारभरि पाइने महत्त्वपूर्ण प्राकृतिक स्रोत हो । सिमसारले जैविक विविधता संरक्षण, जलवायु सन्तुलन र मानव जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । संसारभर सिमसार क्षेत्रलाई महत्त्व दिइएको छ ।
सिमसारले जंगली जनावर र चराहरूलाई वासस्थान प्रदान गरेर जैविक विविधताको संरक्षण गरेको छ । कार्बन डाइअक्साइड सोस्न सघाएर जलवायु परिवर्तनमा समेत यसले योगदान गरेको छ । यस्तै बाढी, कटान र पानी शुद्धीकरणमा सहयोग गर्नुका साथै पर्यटन, माछापालन र कृषि अर्थतन्त्रलाई टेवा पुर्याएको छ ।
सिमसार क्षेत्रहरू विश्वभरि पाइन्छन् । भारत र बङ्गलादेशमा अवस्थित सुन्दरवन सिमसारलाई विश्वकै ठुलो ‘म्यानग्रोभ जंगल’ मानिन्छ ।
कोशी टप्पु जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । अफ्रिकाको ओकाभाङ्गो डेल्टा (बोटस्वाना), युरोपको ड्यान्युुब डेल्टा (रोमानिया), उत्तरअमेरिकाको एभरग्लेड्स (अमेरिका), दक्षिण अमेरिकाको पेन्टानल (ब्राजिल), अस्ट्रेलियाको काकाडु नेसनल पार्क आदि संसारका प्रमुख सिमसार हुन् ।
सिमसारको संरक्षण एक अपरिहार्य विषय हो, तर सिमसार संरक्षणका चुनौती पनि छन् । अतिक्रमण र सहरीकरण; औद्योगिक, कृषि र प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका प्रभाव सिमसार संरक्षणमा प्रमुख चुनौती हुन् । सिमसार क्षेत्र संसारका पारिस्थितिकीय र मानव जीवनमा ठुलो योगदान पुर्याउने स्रोत भएकाले तिनको संरक्षण र दिगो उपयोग विश्वव्यापी प्राथमिकताको विषय बनेको छ ।
नेपालमा कुल भूमि क्षेत्रको ५.९ प्रतिशत (लगभग ८,३१,००० हेक्टर) भाग सिमसार क्षेत्रले ओगटेको छ । यस्तै हाम्रा १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । तिनीहरूले करिब ६०,५६१ हेक्टर क्षेत्रफल ओगटेका छन् ।
- नेपालमा सिमसार क्षेत्र
नेपालमा कुल भूमि क्षेत्रको ५.९ प्रतिशत (लगभग ८,३१,००० हेक्टर) भाग सिमसार क्षेत्रले ओगटेको छ । जसमा प्राकृतिक तथा मानव निर्मित सिमसार क्षेत्रहरू समावेश छन् । नेपालका सिमसार क्षेत्र जैविक विविधता, पारिस्थितिकीय महत्त्व र पर्यटनका लागि अत्यन्त महत्त्वपूर्ण छन् ।
हाम्रा १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । तिनीहरूले करिब ६०,५६१ हेक्टर क्षेत्रफल ओगटेका छन् । जसमा कोशी टप्पु वन्यजन्तु आरक्ष (१७,५०० हेक्टर), कपिलवस्तुको जगदीशपुर जलाशय (२२५ हेक्टर), कैलालीको गौँडा ताल (१७३ हेक्टर), घोडाघोडी ताल (२,५६३ हेक्टर), मुगुको राराताल (१,५८३ हेक्टर), कास्कीको फेवाताल (५७३ हेक्टर), वेगनासताल (२२४ हेक्टर), इलामको माईपोखरीले (९० हेक्टर), चितवनको बिसहजारी (३,२०० हेक्टर) र मनाङको तिलिचो ताल (४,८०० हेक्टर) रहेका छन् ।
यी सूचीकृतबाहेक नेपालमा थुप्रै प्राकृतिक र मानव निर्मित सिमसार क्षेत्र छन् । जसमा नारायणघाट आसपासका तालहरू, तराईका धानबारी र सिँचाइ क्षेत्रहरू, भेरी र कर्णाली नदीका किनारका दलदल क्षेत्र पर्छन् ।
नेपालमा सिमसार क्षेत्रको जैविक र पर्यावरणीय महत्त्व उच्च छ । सिमसार क्षेत्रहरूको संरक्षणका लागि उचित योजना र जनचेतना आवश्यक छ । यसै जनचेतना जागरणको एउटा अध्याय र अवसर विश्व सिमसार दिवस हो ।
सिमसार क्षेत्रको महत्त्वबारे जनचेतना फैलाउन; सिमसार क्षेत्रको संरक्षण र पुनस्र्थापनाका लागि प्रेरित गर्न; सिमसार क्षेत्रमा जैविक विविधता र पर्यावरणीय सन्तुलनको महत्त्व उजागर गर्नकै लागि सिमसार दिवस मनाउने गरिन्छ ।
हामीकहाँ सिमसार क्षेत्रको अतिक्रमण र प्रदूषण रोक्न अत्यावश्यक छ ।
- कोशी टप्पु सिमसार
सुनसरी, सप्तरी, उदयपुर गरी तीन जिल्लामा परेको कोशी वन्यजन्तु आरक्ष अर्थात् कोशी टप्पु एक विशाल सिमसार क्षेत्र हो । जुन जैविक विविधताका लागि विश्वभर चर्चित छ । यहाँ झाडी, घाँसेमैदान र वनस्पति छन् । विश्वमै संकटापन्न वन्यजन्तुमा पर्ने अर्ना यहाँ पाइन्छ । मृग, गैँडा, स्याल र दुर्लभ स्तनधारी जनावर पनि पाइन्छन् । यस्तै करिब ५२० प्रजातिका चराचुरुङ्गी यहाँ पाइन्छन् । जाडो महिनामा धेरैजसो चरा साइबेरिया र तिब्बतबाट यहाँ आउने गर्छन् ।
माछा, घडियाल गोही, कछुवा र अन्य जलचरले गर्दा समेत यो क्षेत्र पर्यटनका लागि संसारभरि प्रसिद्ध छ । जैविक विविधताको संरक्षण, पारिस्थितिक सन्तुलन, पर्यटन, स्थानीय समुदायको जीविकोपार्जनका दृष्टिले कोशी टप्पु सिमसार महत्त्वपूर्ण छ ।
कोशी टप्पु संरक्षणमा केही चुनौती पनि छन् । अतिक्रमण नै एक प्रमुख कारक हो । खेतीयोग्य जमिन विस्तार र बसोबासका कारण सिमसार क्षेत्र सीमित हुँदै गएको छ ।
प्रदूषण अर्को प्रमुख कारक हो । मानव क्रियाकलापले छाड्ने फोहोरका कारण प्रदूषण बढिरहेको छ ।
जलवायु परिवर्तन एक सार्वभौम कारकका रूपमा रहेको छ । कोशी नदीमा आएको बाढीले सिमसार क्षेत्रमा नकारात्मक प्रभाव पार्ने गर्छ । चुरे पानीढलोका स–साना सिमसार सुक्न थालेका छन् ।
चराचुरुंगीको चोरी–सिकार एक मानवीय समस्याको रूपमा रहेको छ । चराचुरुंगीको अवैध सिकार र चोरीले जैविक विविधतालाई खतरामा पारेको छ ।
कोशी टप्पुको संरक्षणको प्रयासको थालनी सन् १९७६ मा कोशी टप्पु वन्यजन्तु आरक्षको स्थापनाबाट भयो । रामसार सम्मेलनको अन्तर्राष्ट्रिय सहयोगमा संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कोशी टप्पुको संरक्षणमा स्थानीय समुदायको भूमिका सुनिश्चित गर्न स्थानीय समुदायलाई संरक्षणको महत्त्वबारे प्रशिक्षण दिने गरिएको छ ।
कोशी टप्पु सिमसार नेपालकै जैविक सम्पदाको खानी हो । यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनले जैविक विविधता मात्र नभई पर्यावरणीय सन्तुलन कायम राख्न पनि सहयोग गर्छ ।
यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सिमसारको संरक्षण’ नाराका साथ सिमसार दिवस मनाइँदै छ । यसले हामीलाई सम्झाउँछ कि सिमसार जैविक विविधताका लागि मात्र नभएर हाम्रा समुदाय, उद्योग र सांस्कृतिक सम्पदाको भविष्य सुरक्षित तुल्याउन समेत महत्त्वपूर्ण छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक शृङ्खला : नाटकीय पतनपछि नेपालको लगातार तेस्रो हार
-
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : मन्त्री गुरुङ
-
राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि...
-
७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार
-
डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ
-
क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउँछ : प्रधानमन्त्री ट्रुडो