भग्नावषेशमा आफ्नो घर खोज्दै गाजाबासी
इजरायल–प्यालेस्टाइनबिच युद्धविराम भएपछि, गाजामा युद्धका क्रममा विस्थापित भएका हजारौँ सर्वसाधारण बिस्तारै आ–आफ्नो घर फर्किँदै छन् । अधिकांश सर्वसाधारणको घर भग्नावशेषमा परिणत भई सकेको छ । बाँकी छ त केवल घर भएको आभास ।
२) युद्धविराम भन्दा अघि घर फर्किने तयारी
माजीदा अबु जरादले युद्धविराम अघि नै घर फर्किने सुर गरिसकेकी थिइन् । उनको घर गाजाको बेत हनूनमा छ । युद्ध सुरु भएसँगै ज्यान जोगाउनका लागि उनी आफ्नो परिवारसँगै मुवासीमा रहेको अस्थायी शरणार्थी क्याम्पमा आइन् । यसबिच ज्यान जोगाउनका लागि माजीदाले सात पटक आफ्नो परिवारसँगै एउटा शरणार्थी क्याम्पदेखि अर्को शरणार्थी क्याम्पसम्म भाग्दै हिँड्नु पर्यो । अब उनी आफ्नो घर फर्किँदै छिन् । उनलाई थाहा छैन घरमा के बाँकी छ, तर जे छ, त्यही नै उनको घर हो ।
३) युद्धले १९ लाख सर्वसाधारण विस्थापित
७ अक्टोबर २०२३ मा हमास र इजरायलबिच सुरु भएको युद्धमा गाजाका १९ लाख मानिस विस्थापनमा परेका थिए । अधिकांश विस्थापित सर्वसाधारणहरू राहत शिविरमा र अस्थायी शरणार्थी शिविरमा बस्नु परेको थियो । युद्धविरामसँगै ती सर्वसाधारणहरू क्याम्पदेखि आफ्नो घरतर्फ फर्की रहेका छन् ।
४) विस्थापित हुनेहरूको घर बाँकी छ र ?
युद्धविरामपछि सार्वजनिक भई रहेका तस्बिरहरूमा गाजाका विभिन्न ठाउँका मानिस आ–आफ्नो थातथलो फर्किरहेको देखिन्छ । तर, त्यो थातथलो जसलाई उनीहरूले घर भन्थे पूर्ण रूपमा भग्नावशेषमा परिणत भई सकेको छ । तर, पनि मानिसहरू आफ्नो घर फर्कन पाएकोमा हर्षित छन् । कसैले खच्चडमा आफ्नो सामान लैजाँदै छन् त कसैले आफ्नो समान आफै बोकेर जाँदै छन् ।
५) भग्नावशेषमा परिवारका मान्छे पो भेटिने हो कि !
मोहम्मद महदीको अल–जायतूनमा तीन तले पक्की घर थियो । युद्ध सुरु भएसँगै उनी पनि आफ्नो परिवारसँगै शरणार्थी क्याम्पमा जीवन बिताई रहेका थिए । महदी भन्छन् मानिस भग्नावशेषमा आफ्ना मान्छे खोज्न फर्किएका छन् । इजरायली बारुदको अघिल्तिर भग्नावशेष हुन अभिसप्त सहरको मध्य बाटो हुँदै उनी आफ्नो घर फर्किएका छन् ।
६) आउनासाथ भग्नावशेष पन्छ्याएर आफ्नो घर जोड्न थाले सर्वसाधारण
१५ महिनाको अन्तरालपछि शरणार्थी क्याम्पमा रही रहेका सर्वसाधारणको अनुहारमा घर फर्कने खुसी स्पष्ट देखिन्थ्यो । सर्वसाधारण आफ्नो घर र सडकमा थुप्रिएको भग्नावशेष पन्छ्याई रहेका छन् । ठ्याक्कै त्यही ठाउँ, जहाँ पहिले उनको घर थियो । फेरी त्यहीँ आफ्नो घर बनाऊ सकिन्छ कि भन्ने आश अझै मरेको छैन ।
७) लासहरूबिच जीवन खोजी रहेका मानिस
घरसम्म फर्किने बाटोमा भग्नावशेष मात्रै छैन, लासहरू पनि पन्छ्याउँदै हिँड्नु परेको छ । ४८ वर्षकी उम सबर भन्छिन् आउँदै गर्दा बाटोमा कयौँ लास देखेँ । त्यसमध्ये कयौँ त हप्तौँदेखि त्यही थिएँ । बेत लाहियामा रहेको उनको घर पनि भग्नावशेषमा परिणत भई सकेको छ । त्यहाँ आउना साथ उनको परिवार भग्नावशेष सफा गर्न लाग्यो । भग्नावशेषमा आफन्तको लास पो छ कि ?
८) राफामा चारैतिर तबाहीबाहेक केही छैन
राफा निवासी मोहम्मद अबु ताहा भन्छन्, घर फर्किदा त्यहाँको अवस्था डरलाग्दो हलिउडको कुनै फिल्मी सिन जस्तो थियो । उनले आफ्नो घर वरपर भग्नावशेष, सडकमा तबाही, लास र शरीरका विभिन्न अंग तथा खोपडी सिवाय केही नदेखेको बताए । तर, अबु आफ्नो घर कसरी भत्कियो जान्न चाहन्छन् ।
९) अनिश्चितताबिच जीवन खोज्दै
गाजाका ती मानिस जो आ–आफ्नो घर फर्किसकेका छन् वा जो बाटोमा छन्, उनीहरूलाई थाहा छैन युद्धविराम कहिलेसम्म जारी रहन्छ । उनीहरूलाई कहाँ बस्ने र आगामी जीवन कसरी धान्ने भन्ने पनि थाहा छैन । ओत लाग्नका लागि भए पनि भग्नावशेषकै वरपर सर्वसाधारणहरू आफ्नो टेन्ट लगाइरहेका छन् । एकअर्थमा भन्ने हो भने विस्थापित भएका सर्वसाधारण जो टेन्टमा बसी रहेका थिए, उनीहरू फेरी टेन्टमै जीवन धान्न आई पुगेका छन् । भिन्नता के हो भने मात्रै उनीहरू आफ्नो घर नजिकको टेन्टमा बस्न आई पुगेका छन् ।
१०) घर बनाउन ३५० वर्ष लाग्छ
संयुक्त राष्ट्र संघका अनुसार इजरायलले गाजामाथि यसैगरी प्रतिबन्ध लगाई राख्ने हो भने गाजाका भग्नावशेषमा परिणत भएका घर बनाउन झण्डै ३५० वर्ष लाग्न सक्छ । संयुक्त राष्ट्र संघका अनुसार ६९ प्रतिशत भवनहरू पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् । यसमा दुई लाख ४५ हजार घर पनि समावेश छन् । यसका साथै सडकमा जति भग्नावशेष थुप्रिएको छ त्यसलाई हटाउनका लागि मात्रै १५ वर्षसम्म एक सय वटा ट्रकहरूले दैनिक काम गर्नुपर्ने हुन्छ ।