सपना देखाएर सर्वत्र ठगी
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका–२ का ३५ वर्षीय दिनेश घिमिरे हाल जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । काठमाडौँ उपत्यकामा लामो सयमदेखि ठगीधन्दा चलाएका घिमिरेलाई पीडितहरूले ‘कुशल ठकुरी’ भनेर चिन्छन् । छद्म नामबाट हिँडडुल गर्ने घिमिरे २०७२ सालदेखि नै ठगीमा संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
कार्यालयका डीएसपी मधु थापा नेतृत्वको टोलीले लामो प्रयास गरेर उनलाई माघ ९ मा पक्राउ गरेको हो । घिमिरेले ठग्नकै लागि दुई वटा विधि प्रयोग गर्ने गरेका थिए । कसैलाई भन्थे, ‘म त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कर्मचारी हुँ, लिलाममा राखेको गाडी र आइफोन सस्तोमा मिलाइदिन्छु ।’ कसैलाई भन्थे, ‘सीआईबीको प्रहरी हुँ, जागिर मिलाइदिन्छु ।’
उनले एयर होस्टेज, डाक्टर र प्रहरीलाई नै ठगेको भेटिएको छ । एयर होस्टेजलाई उनले विदेश पठाउँछु भनेर ठग्ने गरेका थिए । धेरै महिलाहरूलाई उनले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कर्मचारी हुँ भनेर लिलाम हुन लागेको आइफोन मिलाउने प्रलोभनमा पारेर ठगेको भेटिएको छ ।
एकपटक गाडी धुने ठाउँमा भेटेर दिनेशले एक चिकित्सकलाई समेत ठगेका छन् । घिमिरेले ती चिकित्सकलाई भन्छन्, ‘किन पुरानो गाडी चढ्नुहुन्छ ? म भन्सार कार्यालयबाट लिलाम गर्न लागिएको नयाँ गाडी मिलाइदिन्छु ।’ भन्सारको कर्मचारीको परिचय दिएपछि चिकित्सकले उनलाई पत्याए । अनि, पेस्की रकम भनेर दिएको नौ लाख रुपैयाँ गुमाए । उनले यसरी दुई चिकित्सकलाई ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
२०७२ पछि उनीविरुद्ध ठगी र बैंकिङ कसुरमा नौ वटा मुद्दा दर्ता भएको प्रहरीको ‘क्रिमिनल रेकर्ड सिस्टम’मा देखिएको छ । पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनीविरुद्ध ८० लाख रुपैयाँ ठगी गरेको जाहेरी परेको एसपी काजी कुमार आचार्यले बताए । उनले भने, ‘उनीविरुद्ध ११ वटा जाहेरी र ठाडो उजुरी परेको छ ।’
घिमिरे सधैँ मास्क लगाएर हिँड्थे । टोपी छुटाउँदैन थिए । मास्क सारेर चुरोट तान्थे अनि मुख छोपिहाल्थे । मुखै नदेखाउने उनी सपना देखाएर ठगीधन्दा चलाइरहेका थिए । कसैलाई गाडीको सपना, कसैलाई आइफोन र कसैलाई वैदेशिक रोजगारीको सपना देखाउँथे । उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
अहिले ठगीका दुई वटा शैली देखिएका छन् । घिमिरे ‘अफलाइन’ ठगीको आरोपी हुन् । अनलाइनमार्फत ठग्ने मानिसहरू पनि यत्रतत्र, सर्वत्र छन् ।
सिरहाको इटहर्वा घर भएका २७ वर्षीय इम्तियाज अहमदले अनलाइनमार्फत एउटा प्रलोभन देखाए । सामाजिक सञ्जाल ह्वाट्स एप र मेसेन्जरमा उनले भने, ‘तपाईंलाई कोभिड–१९ बाट मृत्यु भएका विदेशी नागरिकको नेसनल बैंकको रकम लिने गरी उत्तराधिकारी बनाउँछु ।’ मृत्यु भइसकेका विदेशीहरूको रकम पाउने लोभमा पीडितहरू उनले भनेअनुसार मान्दै गए । डलर, ल्यापटप र आइफोन पठाएको भन्दै करबापत रकम ‘डिपोजिट गर्नुस्’ भन्न थाले । उनको कुरा मानेर रकम डिपोजिट गर्दा पीडितहरूले ५६ लाख रुपैयाँ गुमाए । ०८१ साउनमा इम्तियाज पक्राउ परे ।
अनलाइनमार्फत ठग्नेहरूले नयाँ नयाँ शैली अपनाउने गरेको बताउँछन् एसपी आचार्य । आचार्यले रातोपाटीसँग भने, ‘अनलाइन ठगीको स्वरूप फरक फरक हुन्छ ।’
चिट्ठा परेको भनेर ह्वाट्स एपमा म्यासेज पठाएर ठग्ने शैली पुरानो भसक्यो । तर, अहिले पनि मानिसहरू चिट्ठाको लोभमा ठगिएको उजुरी लिएर प्रहरीकहाँ आउन छाडेका छैनन् । आजभोलि टेलिग्राममार्फत कुरा गरेर घरमै बसेर कमाइन्छ भन्दै आरोपीहरूले ‘टास्क’ दिने गरेका छन् । भनेअनुसार गर्दै जाँदा एउटा विवरण गलत भयो भनी जरिवाना माग्ने र ‘टास्क’ पूरा गरेपछि पैसा आउने लोभमा पनि मानिसहरू ठगिने गरेका छन् ।
सामाजिक सञ्जाल, अनलाइन बैंकिङ, अनलाइन सपिङ, चिट्ठा, फिसिङ र अनलाइन पेमेन्ट गर्ने प्लेटफर्ममार्फत सर्वसाधारणहरू ठगिएका छन् । २०८१ साउनपछि अनलाइनकै कारण मानिसहरूले ६ करोड ५५ लाख गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार त्यसरी रकम ठगी गरेको आरोपमा ९५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको छ । पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा ३१ जना विदेशी नागरिक अनलाइन ठगीमा संलग्न देखिएका प्रहरीको तथ्यांक छ ।
शून्य मौज्दातमा खाता खोल्नेहरूले बारम्बार अनलाइनमार्फत कारोबार गरिरहेका हुन्छन् । बैंक, वित्तीय संस्थाहरूले त्यस्ता कारोबारलाई मनिटर गर्नुपर्ने अनुसन्धान अधिकृतहरू बताउँछन् । अर्काको कागजात प्रयोग गरेर सिम निकाल्ने कार्यलाई कडाइ गरे अनलाइन ठगीलाई न्यूनीकरण गर्न सकिने एसपी आचार्यको दाबी छ ।
अनलाइन ठगीको तथ्यांक
स्रोत : प्रहरी प्रधान कार्यालय
- सर्वत्र ठगी र विश्वासघात
आपराधिक विश्वासघात, आपराधिक लाभ र ठगीका घटना देशको एक ठाउँमा मात्रै छैन । यो सर्वत्र फैलिएको छ । जग्गा मिलाइदिन्छु र विदेश पठाउँछु भनेर ठग्नेहरू पनि जताततै भेटिन थालेका छन् ।
अनलाइनमाध्यम प्रयोग नगर्नेहरूले मोबाइल नम्बर परिवर्तन गरिरहने र ठगेपछि सम्पर्कविहीन हुने गरेका एसपी आचार्य बताउँछन् । भन्छन्, ‘कारोबार बिग्रेकाहरूले विभिन्न आइडिया लगाएर ठगिरहेको इस्यु हामीकहाँ आउँछन् ।’
ठगीमा संलग्नहरू एक चरण ठगेपछि सिमकार्ड प्रयोग नै गर्दैनन् । उनीहरूले ह्वाट्स एपमार्फत मात्र कुरा गर्ने हुँदा पक्राउ गर्न असहज भएको आचार्यले बताए । भन्छन्, ‘कतिपय ठगीमा संलग्न आरोपीहरूले नेपाल–भारत सिमानालाई आफ्नो जक्सन बनाएर ठग्छन् ।
ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको तथ्यांक
स्रोतः प्रहरी प्रधान कार्यालय
पछिल्लो ६ महिना (२०८१ साउनपछि) मा सबैभन्दा धेरै ठगीका घटना काठमाडौँ उपत्यकामा दर्ता भएका छन् । यसबिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयमातहत प्रहरी युनिटमा ४ सय ४१ वटा र सीआईबीमा ६ वटा जाहेरी दर्ता भएका थिए । सो अवधिमा देशभर ९ सय ९६ वटा ठगीका घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ । गत वर्ष १ हजार ८ सय ७४ वटा ठगीका घटना प्रहरीमा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा एक हजार १ सय ५ र २०७८/०७९ मा ७ सय ३९ वटा ठगीका घटनामाथि प्रहरीले अनुसन्धान गरेको थियो । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा ठगी क्रमशः बढ्दो छ ।
- कानुनमा के छ ?
मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार ठगी मुद्दामा सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
अपराध संहिताको दफा २५३ अनुसार आपराधिक लाभ (एक्स्टर्सन) लिन वा लिन लगाउनु हुँदैन । प्रहरीमा दर्ता भएका धेरै उजुरीहरू आपराधिक लाभ लिएर पनि ठगेको देखिन्छ । कुनै व्यक्तिले बेइमानीपूर्वक आफ्नो वा अरू कसैका लागि फाइदा उठाउन पाउँदैन । त्यस्तो अवस्थामा १ वर्षसम्म कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।
त्यस्तै आपराधिक विश्वासघात गरेर ठगी गरे तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुणिमाको पनि पतिसँग बिग्रिएको हो सम्बन्ध ?
-
नेपालमा सिमसार क्षेत्र र कोशी टप्पु सिमसार
-
खेलकुदको हबको रूपमा बागमती प्रदेशलाई विकास गर्छौँ : मन्त्री महर्जन
-
सन्दीपले भने, ‘मोन्टी सर, नेपालमा तपाईंको घर सधैँ रहनेछ’
-
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
-
स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित (तस्बिरहरु)