‘लोभमा नपरौँ, आफ्नो कर्ममा ध्यान दिऔँ’
अनलाइन ठगीका घटना समाजमा यत्रतत्र छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू कमाइ हुने लोभमा दिनहुँ ठगिन्छन् । पछिल्लो समय ‘घरमै बसेर अनलाइनमा लगानी गरे लाखौँ कमाइन्छ’ भन्ने सपना देखाएर ठगीधन्दा चलाउने सर्वत्र छन् ।
अनलाइन ठगीको पछिल्लो शैली र जोगिने उपायबारे साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको संवादको सम्पादित अंश :
- पहिला बीभत्स र जघन्य अपराध हुन्थे, अहिले अपराधको प्रवृत्ति फेरिएको हो ? ठगीका कस्ता उजुरी प्रहरीकहाँ आइरहेका छन् ?
‘साइबर इनेबल्ड क्राइम’हरू अहिले धेरै बढेका छन् । यो भनेको परम्परागत रूपमा हुनेभन्दा सूचना प्रविधिको एकदमै बढी प्रयोग गरेर हुने अपराध हो । त्यसैले अपराधको प्रवृत्ति परिवर्तन भएको हो । परम्परागत रूपमा हुने घटनामा साइबर इनेबल्ड क्राइमहरू थपिएका छन् । ठगीका उजुरीहरू अत्यधिक बढेका छन् । चालु आर्थिक वर्षमा झनै बढ्दै छ ।
- के कारण ठगीका घटना आजभोलि बढेका होलान् ?
सूचना प्रविधिको प्रयोगबाट अपराध गर्नेहरूलाई शारीरिक रूपमा पहिलेभन्दा जोखिम छैन । जस्तै: बैंक लुट्न मास्क लगाएर हतियार बोकेर जान्थे भने अहिले अहिले रिमोटबाट लुटिरहेका छन् । सूचना प्रविधिमा गोपनीयताका कारण पनि अपराध गर्नेहरूलाई फाइदा भएको छ भने अनुसन्धान गर्नेलाई भने एकदमै गाह्रो भएको छ ।
मान्छेलाई गोपनीयता चाहिन्छ नै । तर, यसले अपराध गर्नेहरूलाई झन् सजिलो भएको छ । भीपीएन, टोर, डार्क वेभ र प्रोक्सीजस्ता प्रविधिहरू आएका छन्, यसले अपराधीहरूलाई गुमनाम पारिरहेको छ । अपराधीहरूले त्यसको फाइदा उठाएका छन् ।
अर्को, प्रयोगकर्ताहरू सचेत भएनौँ । ठगिइरहेका छौँ । अपराधको प्रकृति परिवर्तन भयो, तर हामी सचेत हुन सकेनौँ । त्यसैले नराम्रो काम गर्नेलाई बाटो सजिलो भयो, उनीहरू झनै अगाडि बढिरहेका छन् । डिजिटललाई विश्लेषण गर्ने हिसाबले हामी पछि परेका हौँ । त्यसैले अपराधका घटना बढिरहेका छन् ।
- विशेषगरी अनलाइनबाट हुने ठगीका घटना बढेका छन्, यस्ता खबर र पीडितहरू बढिरहँदा पनि मानिस किन सचेत भएनन् ?
त्यही त, यो बडा अचम्मको कुरा छ । प्रयोगकर्ता सबैभन्दा सचेत र जिम्मेवार हुनुपर्ने हो । साइबर ब्युरोबाट हामीले सूचना प्रकाशन गरेर जानकारी गराइरहँदा पनि संवेदनशील रूपमा नलिएको अवस्था छ ।
साइबर ब्युरोको अनुरोध भनेर हामीले सामाजिक सञ्जालमा सूचना राखिरहेका हुन्छौँ । कमेन्टमा भने ‘अनुरोध गरेर मात्र हुँदैन हजुर, मान्छे पक्राउ गर्दिनुपर्यो ।’ लेख्छन् । हामीले प्रिभेन्सन (रोकथाम) का लागि सूचना राखेका हौँ, तर त्यस्ता सचेतना भिडियोमा मान्छेको ध्यानै छैन ।
जस्तो : फेसबुकमा कडा पासवर्ड राख्ने गर्नुपर्छ । नचिनेकालाई साथी बनाउनु हुँदैन । शंकास्पद लिङ्कमा क्लिक गर्नुभएन । यस्ता कुरा प्रयोगकर्ताले जबसम्म व्यवहारमा ल्याउँदैनन्, तबसम्म ठगीका घटना भइरहन्छन् ।
मानिसहरू प्रलोभनमा छन्, जसका कारण मानिसहरू ठगिएका हुन्छन् । बेरोजगार होलान्, व्यावहारिक अवस्था होला, त्यो अर्कै पाटो हो । तर, प्रलोभनमा फस्नु हुँदैन ।
- प्रहरीले ठगी रोक्नेभन्दा पनि ठगिएपछि मात्र अनुसन्धानमा ध्यान दिएजस्तो देखिन्छ नि !
प्रहरीको मुख्य काम अपराध र अनुसन्धान र नियन्त्रण भनिएकै छ । पीडित आएपछि अनुसन्धानको काम सुरु हुन्छ । तर, त्यो भन्दैमा प्रहरीको जिम्मेवारी प्रिभेन्सनतिर होइन भन्ने हुँदैन । हामीलाई प्रविधिदेखि जनशक्तिको समस्या छ । हामीले अपराध रोक्ने काम पनि गरेका छौँ । साइबर ब्युरोको अनुरोध भन्छौँ, यो एउटा प्रिभेन्टिभ हो । त्यसमा झुक्किनु हुँदैन ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हामीले स्कुलमा गएर सचेतना कक्षा लिइरहेका छौँ । ठगी, यौन उत्पीडित र अनलाइन दुरुपयोग भइरहेको जानकारी गराएका छौँ । सामाजिक सञ्जाल सही तरिकाले प्रयोग गर्नुस् भनेका छौँ । कमेन्ट वा पोस्ट गर्दा कसलाई गर्ने कसलाई नगर्ने छुट्याएर गरौँ भनेर हामीले सचेतना चलाएका छौँ । यो प्रिभेन्टिभ नेचर नै हो प्रहरीको । तर, पुगिरहेको छैन । प्रहरीले मात्रै गरेर पुग्दैन । यसमा सबैको ‘इफोर्ट’ चाहिन्छ । प्रयोगकर्ताले ध्यान नदिँदा यस्ता घटना बढेको होजस्तो लाग्छ ।
- अहिले हुने गरेका घटना रोकथाम र सामना गर्न अनुसन्धान शैली, प्रविधि पर्याप्त छ, छैन ? के–केमा सुधार गर्नुपर्छ ?
अनलाइन ठगी अनुसन्धान गर्न मानव स्रोतको कमी छ । साइबर अपराध मुद्दा ७७ वटै जिल्लाबाट चल्छ, तर त्यसमा आईपी (इन्टरनेट प्रोटोकल) के हो भनेर नजान्ने मान्छेले अनुसन्धान कसरी गर्छ ? सामाजिक सञ्जालको गाइडलाइन नबुझेको हाम्रो जनशक्तिले कसरी अनुसन्धान गर्छ ?
अर्कोचाहिँ, सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने जनशक्ति चाहिन्छ । अथवा, हाम्रो जनशक्तिलाई सूचना प्रविधिको ज्ञान दिनेतिर पनि अग्रसर हुनुपर्छ ।
अर्को बाधा भनेको, अन्तर्राष्ट्रिय सहकार्य हो । किनभने, जति पनि सूचना प्रविधि ठगीमा प्रयोग हुन्छन्, ती विदेशका छन् ।
हाम्रोमा जुन अकाउन्टहरू प्रयोग भएका छन्, तिनीहरूमार्फत नै हामी अघि बढेका छौँ । पुरानो पाराले जाँदा समय धेरै लाग्छ । बैंकसँगको सहकार्य अटोमेटिक छैन, एकदमै सुस्त छ ।
ठगीको पैसा हवाईजहाजको गतिमा जान्छ, हामी ठेलागाडामा गएर हुँदैन । प्रविधिमा पहुँच राख्ने प्रविधि हामीसँग छैन । प्रणाली, पद्धति र जनशक्ति हुने हो भने यस्ता अपराध अनुसन्धान सहज हुन्छन् ।
- अनलाइनमार्फत हुने ठगीका शैलीहरू कस्ता हुन्छन् ?
हामीलाई अहिले सबैभन्दा धेरै प्रेसर भएको ‘अनलाइन इन्भेस्टमेन्ट’ हो । घरमै बसेर काम गर्न सकिने प्रलोभन देखाएर ठगीधन्दा चलिरहेको हुन्छ । चालु आर्थिक वर्षमा ६१ करोड ठगी भएको उजुरीमध्ये ४१ करोड अनलाइन इन्भेस्टमेन्टको नाममा छ ।
‘घरबाटै काम गरेर पैसा डबल पार्न सक्नुहुन्छ, लिंक क्लिक गर्नुस्, साइट सब्सक्राइब गर्नुस्’ भनेर ठगीधन्दा चलाउने शैली अहिले तीव्र फैलिएको छ ।
यस्तो पनि काम हुन्छ र भन्ने जनमानसले बुझेका छैनन् । पोस्ट लाइक गर्दा पैसा डबल हुँदैन भन्ने बुझेनन् । इन्भेस्ट गर्न ठगीमा संलग्नहरूले दिएको खाता कम्पनीको हुँदैन, नेपाली एजेन्टको खातामा पैसा जान्छ । नेपाली पनि विदेशी एजेन्टको रूपमा ५–१० प्रतिशत पाइने लोभमा कमिसनमा लागेका हुन्छन् ।
त्योबाहेक चिट्ठामार्फत, अपुताली, अनलाइनमार्फत सामान किन्दाको समस्या, सूचना प्रणाली प्रयोग गरेर गर्ने सेवाहरूमा ठगी छ । जस्तै: घरबाटै लाइसेन्स बनाइदिन्छु, घर भाडामा खोजिदिन्छु भनेर ठग्छन् । गेमिङमा पनि ठगी भएको देखिएको छ । त्यसैले बुझेर मात्र त्यस्ता सेवा लिनुपर्छ । प्रयोगकर्ताले सूचना प्रणालीको वैधानिकतामा ध्यान नदिँदा अपराधको यस्तो शैली बढेको देखिन्छ ।
- कुन र कस्ता एप्सहरू ठगीमा धेरै प्रयोग भइरहेका छन् वा हुन्छन् ?
मैले अघि नै भनेँ, इन्भेस्टमेन्ट स्किम । त्यो सामाजिक सञ्जालबाट सुरु भएर टेलिग्राममा रिडाइरेक्ट हुन्छ । टेलिग्राममा पीडितहरूलाई निर्देशन दिन्छन् । ठगिने व्यक्तिले बोल्न पनि पाउँदैन । स्पोन्सर विज्ञापन आएका सामाजिक सञ्जालजस्ता माध्यम ठगीमा प्रयोग भएका छन् ।
- दैनिक ठगी बढनुमा केले काम गरेको हुन्छ ?
मुख्यचाहिँ अनलाइन प्रयोगकर्ता नै सचेत हुनुपर्छ । उसले अनलाइन इन्भेस्टमेन्टमा कुन बिजनेस छ ? त्यहाँ तत्काल पैसा कसरी दोब्बर हुन्छ ? पैसा पठाउँदा कम्पनी भएमा दर्ता रहेको यकिन गरेर मात्र हाल्नुपर्छ । व्यक्तिको खातामा रकम पठाउँदा धेरै विचार गर्नुपर्छ । अपुताली पैसा मिलाइदिन्छु भने पनि त्यसको प्रक्रिया र कानुनी व्यवस्था छ । नभरेको चिट्ठा कहिल्यै पर्दैन, त्यस्तो कुरामा प्रलोभनमा पर्नु हुँदैन । प्रलोभनमा नपरौँ, आफ्नो कर्ममा ध्यान दिऔँ । प्रयोगकर्ता प्रलोभनमा पर्दासम्म ठगी भइरहन्छ । आफ्नो खाता भाडामा दिएर ट्रान्सफर गर्ने र कमिसन खानेहरूले पनि यसमा ध्यान दिएमा अनलाइन ठगीका घटना रोकिन्छ ।