भूमिगत प्रणालीमार्फत कहाँकहाँ छ विद्युत् वितरण ?
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि पोखरामा पनि भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । यसअघि भूमिगत वितरण प्रणालीमार्फत काठमाडौँका विभिन्न स्थानबाट यो सेवा दिइँदै आएको छ ।
पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहर तथा सडकमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरूमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको जानकारी गराएका छन् । उनले भने, ‘ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित र भरपर्दो पनि हुन्छ ।’
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो । आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लिमिटेड भारतसँग १ करोड ६७ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणका अनुसार पोखरा क्षेत्रको काम आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौँका यी क्षेत्रमा छ भूमिगत प्रणाली
पोखराभन्दा अघि प्राधिकरणले काठमाडौँमा भूमिगत वितरण प्रणाली कार्यान्वयनमा ल्याएको थियो । प्राधिकरणका अनुसार कलङ्की, कालिमाटी–त्रिपुरेश्वर, बल्खु–चोभार, कीर्तिपुर, टंगाल– बालुवाटार, पेप्सकोला–जडीबुटी क्षेत्रमा जमिनमुनिबाट बिजुली वितरण भइरहेको छ । त्यस्तै लाजिम्पाट–महाराजगञ्ज, सामाखुसी–रानीबारी, चाबहिल लगायत क्षेत्रमा पनि भूमिगत प्रणालीमार्फत बिजुली वितरण सुरु गरिएको छ । माइतीघर–बानेश्वर–कोटेश्वर, बानेश्वर–गौशाला, महराजगञ्ज–बूढानीलकण्ठ लगायत क्षेत्रमा भूमिगत गर्ने काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी ताराप्रसाद प्रधानले काठमाडौँका विभिन्न स्थानमा भूमिगत प्रणालीको काम भइरहेको बताए । उनले भने, ‘कतिपय क्षेत्रमा बिजुली भूमिगत गरिए पनि पोल हटाउन सकिएको छैन । इन्द्रचोक–न्युरोड क्षेत्रमा पोल हटायौँ । पोलमा अन्य अप्टिकलवालाको पनि तार भएकाले ढिलाइ भएको हो ।’
बिजुलीका तार र पोलले शहरलाई असुरक्षित तथा कुरूप बनाएको भन्दै प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा काठमाडौँमा सन् २०२० देखि भूमिगत वितरण प्रणालीको काम सुरु गरेको थियो । हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित मानिन्छ । विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति पनि न्यून हुने प्राधिकरणले जनाएको छ ।
विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी भूमिगत प्रणालीमार्फत सेवा प्रदान गर्न सक्नेछन् ।
प्राधिकरणका अनुसार बिजुलीको तार भूमिगत रूपमा बिच्छ्याइए पनि ट्रान्सफर्मर र प्यानल बोर्ड भने जमिनमै हुन्छ । प्राधिकरणले ट्रान्सफर्मरबाट जुमिनमुनिको बाटो प्रयोग गरेर बिजुलीको तारलाई प्यानल बोर्डसम्म पुर्याउँछ । त्यसपछि प्यानल बोर्डबाट ग्राहकसम्म बिजुली पुग्छ ।