आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता : एमाले अध्यक्ष ओलीसँगको सहमतिमा कि आफ्नै बुतामा ?

ओलीलाई गलाउने र नेतृत्व हत्याउन पहल लिइरहेको निकटस्थको दाबी
आइतबार, २० माघ २०८१, ०७ : ०६
आइतबार, २० माघ २०८१

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौँ फर्किने कार्यक्रम छ । एक हप्ता कोशी प्रदेशको राजधानी विराटनगरमा बसेर अर्थपूर्ण ‘राजनीतिक मुभ’ गरेकी उनले सयौँ नेता तथा कार्यकर्तासँग भेट गरिन् । 

यसबिचमा उनले ८ वटा औपचारिक कार्यक्रममा सहभागी भइन् । जहाँ औपचारिक कार्यक्रम गरिन् त्यहाँ पनि समूहगत, व्यक्तिगत ढङ्गले अनौपचारिक भेटघाटहरू मनग्ये गरिन् । मुख्य गरी विराटनगरको होटल बिगमा बसेर उनले सयौँ एमालेका नेता तथा कार्यकर्ताहरूसँग भेट गरिन् । 

शनिबार मात्रै उनले तीन दर्जनबढी समूहका एक सयभन्दा बढी नेता, कार्यकर्तासँग भेट गरेको निकटस्थ स्रोत बताउँछ । भेटघाट गर्नेहरूमा अधिकांश एमालेका नेता कार्यकर्ता छन् भने कतिपय काँग्रेस र नेकपा एसका नेता, कार्यकर्ताले पनि भेट गरेका छन् । 

‘उहाँ औपचारिक रूपमा ८ वटा कार्यक्रममा सहभागी हुनुभयो । अनौपचारिक रूपमा त उहाँले पालो पाइराख्नु भएको छैन । भेटघाट गर्नेहरुको लाइन नै छ,’ भण्डारीलाई भेट्न चाहनेहरूको लागि समय व्यवस्थापन गरिरहेका एमाले नेता सोमराज थापाले भने, ‘उहाँ आइतबार काठमाडौँ फर्किने कार्यक्रम छ ।’

उनका अनुसार १४ गते विराटनगर आइपुगेकी उनले त्यही दिन महिला कार्यकर्तासँग भेटघाट गरिन्, त्यसपछि पत्रकार सम्मेलनमा सहभागी भएर उनले विद्यार्थीसँग पनि छलफल गरिन् र नेता, कार्यकर्तासँग भेटघाट गरिन् । 

१५ गते इटहरीको जनता माविको औपचारिक कार्यक्रममा समावेश भएकी उनले त्यहीँ रहँदा सुनसरीका एमाले नेता, कार्यकर्तासँग छलफल भयो । १६ गते भण्डारी मोरङ बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा आयोजित कार्यक्रम र एक निजी स्कुलको औपचारिक कार्यक्रममा सहभागी भइन् । 

१७ गते उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएकी उनी १८ गते मोरङको ग्रामथानमा रहेको एक विद्यालय र धरानको इन्जिनियरिङ क्याम्पसको कार्यक्रममा सहभागी भइन् । १९ गते सुनसरीको इटहरीमा रहेको एनटिभी इटहरी च्यानलको कार्यक्रममा सहभागी भएकी उनले सोही दिन विराटनगरमा सञ्चालित विराट एक्स्पोको अवलोकन गरिन् । 

2-Bidya (1)

औपचारिक कार्यक्रमबाहेक उनले प्राध्यापक, बुद्धिजीवी, मदन भण्डारी फाउन्डेसनको टिम, काँग्रेस नेता ज्ञानेन्द्र कार्की, भीम पराजुलीसम्मले नै भेटघाट गरे । मोरङ एमालेका प्रायः नेता, कार्यकर्ताले भण्डारीलाई भेटेको स्रोत बताउँछ । शनिबार दिउँसो सभामुख देवराज घिमिरेले पनि भण्डारीलाई होटलमै भेटेका छन् । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले पनि भेटघाटको समय मागिरहेका छन् । भण्डारीले प्रत्येक दिन भएका कार्यक्रम र भेटघाटको विषयमा आधा घण्टा समीक्षा गर्ने गरेको बताइएको छ ।

भेट्नेहरू भन्छन्, ‘अब ओलीबाट काम चल्दैन’

भण्डारीसँग भेटघाटमा गएका एमालेका नेता कार्यकर्ताहरूले गुम्सिएर बसेको कुरा गर्ने गरेको स्रोत बताउँछ । ‘कहाँ भनौँ, कसलाई पीडा कहाँ पोखौँ भन्ने भएकाहरूले भण्डारीसँग आएर पर्याप्त गुनासो पोखेका छन्,’ उनी निकट स्रोत भन्छ, ‘सबैको गुनासो नै गुनासो छ । म साइड लागेँ, मलाई साइड लगाइयो । हजुर संरक्षण बनिदिनु पर्‍यो भन्ने मात्रै आएका छन् ।’

‘केपी ओलीको बोली पनि ठिक छैन । हाम्रो अबको लिडर को हो भन्ने छ । केपी पछि म हुने भन्ने शङ्कर पोखरेल र विष्णु पौडेलमा देखिन्छ । त्यसो हुँदा बिना प्रतिस्पर्धा बेगर म आफैँ हुन्छु भन्ने राष्ट्रपतिज्यूलाई लागेको हुनसक्छ,’ भेटमा सहभागी एक नेताले भने, ‘एमाले नेतृत्वको स्वभावजन्य कुराले पार्टीमा पनि गज्याङ गुजुङ भयो । माओवादी, नेकपा एसलगायतका विभिन्न टिमले पनि उहाँलाई गार्जेनशिप लिइदिनु पर्‍यो भन्ने कुरा आएको बुझेको छु । अहिले माधव नेपाल, प्रचण्डहरूले पनि पार्टी विभाजन गरेर गल्ती गरेको भन्ने फिल गरेको र प्याच्च बोलेर बिगार्ने ओलीको स्वभाव नै भेटघाटमा चर्चाकाे विषय बन्ने गरेकाे छ ।’

तर, अहिलेसम्म भण्डारीले चुनाव लडेरै आफू एमाले अध्यक्ष बन्ने मनस्थितिमा नरहेको उक्त स्रोत दाबी गर्छ । ‘आफैँ लडेर आउने मनस्थिति छैन । तर, परिस्थिति निर्माण गरेर नेतृत्व लिने दाउमा रहेको बुझिएको छ,’ ती नेताले भने । 

घटनाक्रमहरू र उनको सक्रियता हेर्दा भण्डारी सक्रिय राजनीतिमा आउने आधारहरू प्रस्ट हुँदै गएको छ । पहिलो आधार पार्टीको सङ्गठित सदस्यता नवीकरण गर्नु हो । दोस्रो आधार पटकपटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्नु र तेस्रो आधार सातवटै प्रदेशको भ्रमण गर्ने कार्यतालिका बनाउनु हो । 

एमालेभित्रको एकता, नेकपा एस र माओवादीसम्मको एकताको कुरा उनले गर्ने गरेकी छिन् । ‘सिधै राजनीतिमा आउने जस्तो चाहिँ देखिँदैन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, चीनको चाहना पनि कम्युनिष्टहरुलाई मिलाउने देखिएको छ भन्ने सन्दर्भका कुराहरू पनि आएका छन्,’ उनले भने । भण्डारीले पार्टी धेरै बिग्रियो भन्ने चिन्ता पनि व्यक्त गर्ने गरेकी छिन् । उनले बोलेकै भरमा भीम रावल, बिन्दा पाण्डेलगायतलाई कारबाही गरेर पार्टीलाई कमजोर बनाएको भाव व्यक्त गर्ने गरेको स्रोत दाबी गर्छ ।

सुनसरीको इटहरीमा भण्डारीसँग भेट गरेकी एमाले नेतृ मौसमी राईले भने आफूसँग शिक्षा सुधारको कुरा गरेको बताइन् । ‘राजनीतिक रूपमा कार्यकर्ताहरू चुनावदेखि चुनावसम्म र सङ्गठनदेखि सङ्गठनसम्म मात्रै लागेको देखिन्छ । समाजका विकृति, विसङ्गतिका विषयमा चासो दिनुपर्नेतिर राजनीतिक दलहरू लागेका छैनन् । नेता भनेको चुनावदेखि चुनावसम्म मात्रै होइन । हाम्रो दायित्व समाज परिवर्तनको दायित्व हो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘पार्टीका विभागहरू स्वास्थ्य, शिक्षा जस्ता विभाग भएपनि विसङ्गतिको कुरा नउठेको र सङ्गठन निर्माणमा मात्रै जोड दिएको भन्ने खालको कुरा गर्नुभयो । उहाँले व्यवहारिक पाटोलाई बढी जोड दिनुभयो । मलाई त राम्रो लाग्यो ।’

राजनीतिमा आउने निश्चित

घटनाक्रमहरू र उनको सक्रियता हेर्दा भण्डारी सक्रिय राजनीतिमा आउने आधारहरू प्रस्ट हुँदै गएको छ । पहिलो आधार पार्टीको सङ्गठित सदस्यता नवीकरण गर्नु हो । दोस्रो आधार पटकपटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्नु र तेस्रो आधार सातवटै प्रदेशको भ्रमण गर्ने कार्यतालिका बनाउनु हो । 

ओलीसँगको भेटपछि भण्डारी उनीसँगको सल्लाहमै देशदौडाहा निस्किएको हुनसक्ने या एकल बुँतामै निस्किएको हुनसक्ने कतिपय विश्लेषण गर्छन् । ‘प्रधानमन्त्रीसँगको भेटघाटले दुईवटा कुरा बुझ्नु पर्छ । एउटा केपी ओलीलाई अबको पार्टी अध्यक्ष विद्या भण्डारी हो भन्ने माहौल पनि बनाउँछ । अर्को ओलीले तपाई होइन भन्ने हो भने म प्रतिस्पर्धा गर्छु भन्ने माहौल पनि बनाएको छ,’ भण्डारी निकट स्रोत भन्छ, ‘उहाँको कन्फिडेन्स हेर्दा राजनीतिमा आउने नै देखिन्छ । बिस्तारै माहौल बन्दै गएको छ । अहिलेको अभियान पनि त्यही हो ।’ 

सहमतिका साथ भयो भने आउने तर, प्रतिस्पर्धात्मक ढङ्गले नआउने भन्ने कुरा ओलीपक्षीय नेताहरूको प्रचार भएको स्रोत दाबी गर्छ । ‘पूर्व राष्ट्रपतिले होटलमा बसेर ७ दिनसम्म दर्जनौँ समूहका मानिसहरूसँग किन भेट्नु ? के स्वार्थ हो ? उहाँलाई राज्यले दिने सेवा, सुविधा र सुरक्षा दिएकै छ,’ उक्त स्रोत भन्छ, ‘साँच्चै विद्या भण्डारी राजनीतिमा आएँ मलाई छोड्नुपर्छ । नछोडे म प्रतिस्पर्धा गर्छु भन्नुभयो भने केपी ओली जीले छोड्नु पर्दैन र ? चुनाव लडेर हार्न मन होला र ? ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप