बस्ती पस्न थालेपछि चुनौती बन्दै बाघ व्यवस्थापन
काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई माघ १३ गते राति १० बजे बाघले आक्रमण गर्यो ।
बस्तीमै पसेको बाघ गाउँलेको होहल्लापछि भागेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । बाघको आक्रमणबाट घाइते भएकी सरस्वतीको अवस्था भने खतरामुक्त छ ।
भदौ ६ गते मकवानपुरको मनहरीमा भैंसीले बाघ मारेको घटना निकै चर्चित बन्यो । मनहरि गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले हानेर बाघ मारेको थियो । बाघ र भैँसी जुधाजुध भएपछि घरधनीले थाहा पाएर हेर्दा बाघ मरेको थियो भने भैँसी घाइते थियो ।
यी दुई घटनाले जंगलको बाघ बस्तीमा पसेको प्रस्ट हुन्छ । यसो हुनुमा जंगलमा बाघको संख्या बढ्नु र वासस्थानको क्षेत्रफल थोरै हुनु मुख्य कारण रहेको देखिन्छ ।
वन्यजन्तु विशेषज्ञ प्राडा मुकेश चालिसेका अनुसार बाघले जंगलमा आहार पाउन सकेन, बस्न, घुम्न, लुक्न, खेल्ने ठाउँ कम भएको छ । उनका अनुसार बाघको वासस्थान क्षेत्र कम र संख्या धेरै भएपछि कमजोर बाघलाई बलिया बाघले लखट्ने गर्छन् ।
‘खानाका लागि बाघ जंगल बाहिर आउने गर्छ, बाघ बुढो र कमजोर भयो भने उसले मृग, बाँदर, जरायो नीलगाईको सिकार गर्न सक्दैन,’ उनले भने, ‘उसले सबैभन्दा अल्छी खालका धेरै दौडिन नसक्नेलाई सिकार गर्छ । त्यस्तो भनेको कि मान्छे हो कि गाई भैँसी वा घरपालुवा जनवार हो । अनि बाघ गाउँघरमा पसेर आक्रमण गर्छ ।’
एकजोडी बाघलाई कम्तीमा पनि ४० देखि ५० वर्गकिलोमिटर क्षेत्र चाहिन्छ । बाघले दिनभर डुलेर बच्चा लुकाउने, खाने, जैविक क्रियाकलाप गर्ने, भालेपोथी भेटिने गर्छन् । तर नेपालमा भने बाघका लागि क्षेत्रफल कम भएको छ ।
घाँस–दाउरा गर्न जंगल पस्दा बाघले मान्छेको गन्ध पाउँछ । एकातर्फ जंगलमा बाघको आहारको कमी, अर्कोतर्फ बाघलाई मान्छेले धपाउने गर्दा मान्छेमाथि बाघले आक्रमण गर्ने गरेको पनि डा. चालिसे बताउँछन् ।
नेपालमा पछिल्लो समय बाघको संख्या बढेको छ । सन् २०१८ मा २ सय ३५ वटा बाघ थिए । चार वर्षमा १ सय २० वटा बाघ थपिएका छन् । सन् २०२२ यता देशभर बाघको संख्या ३ सय ५५ रहेका सरकारी तथ्याङ्क छ ।
बाघलाई संरक्षण गरी व्यवस्थापन गर्न नसक्दा समय–समयमा बाघको आक्रमणका कारण मानिसले ज्यानसमेत गुमाउने गरेका छन् ।
नेपालमा बाघ तराई भूपरिधिमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा पाइन्छन् । चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ । यो बाघको मुख्य वासस्थान पनि हो ।
तर यी क्षेत्रमा बाघलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ । बाघलाई संरक्षण गरिए पनि बाघका लागि आवश्यक पर्यावरणको संरक्षण हुन नसकेको चालिसेको तर्क छ ।
बाघको संख्या विवरणः
एकजोडी बाघलाई कम्तीमा पनि ४० देखि ५० वर्गकिलोमिटर क्षेत्र चाहिन्छ । बाघले दिनभर डुलेर बच्चा लुकाउने, खाने, जैविक क्रियाकलाप गर्ने, भालेपोथी भेटिने गर्छन् । तर नेपालमा भने बाघका लागि क्षेत्रफल कम भएको छ ।
‘अहिले बाघ जंगलभर छन्, न खाने ठाउँ छ, न लुक्ने नै,’ चालिसे भन्छन्, ‘त्यसमाथि मान्छे पर्यटकका रूपमा बिहानदेखि मोटर, जिपमा जंगल जाने गर्छन् ।’
विश्व वन्यजन्तु कोषका अनुसार संसारका १३ वटा देशमा मात्र बाघ पाइने गर्छ । जसमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, चीन, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेयिा, मलेसिया, म्यानमार र रुस पर्छन् ।
जंगली जनवार संरक्षणको कानुनमै प्रश्न गर्छन् चालिसे । सरकारले ठुला जनावर र रूख संरक्षण गरे पनि झाडी र जनावर संरक्षणमा ध्यान दिएको छैन । यसले बाघको बासस्थानका लागि पर्यावरण सन्तुलन हुन सकेको छैन।
‘हाम्रो संरक्षणको मोडेल अलिकति ढंग पुगेको छैन । जस्तोः ठुला जनवारलाई मात्रै बचाउने वा संरक्षण गर्ने भनिएको छ । उनीहरूलाई मात्रै ध्यान दिने गर्छ,’ उनले भने, ‘जब उनीहरूका लागि खाना र वासस्थान मान्छेले नदेखेको ठाउँ हुनुपर्छ । झाडी, साना बुटाहरू, झाङहरू नेपालको कानुनले काट्न दिन्छ । ठुला रूख मात्रै काट्न दिँदैन । ती ठुला रूखमा बाघ बस्ने होइन । उसलाई त आफ्नो बच्चा लुकाऊ न हुर्काउन खेलेर बस्न र लुकेर आहार खोज्ने ठाउँ चाहिन्छ नि ।’
कसरी गर्ने व्यवस्थापन ?
विश्व वन्यजन्तु कोषका अनुसार संसारका १३ वटा देशमा मात्र बाघ पाइने गर्छ । जसमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, चीन, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेयिा, मलेसिया, म्यानमार र रुस पर्छन् । जसमध्ये सबैभन्दा धेरै बाघ पाइने देश भारत हो ।
नेपालमा पाइने बाघ स्वस्थ पारिस्थितिकीय प्रणालीमा सूचक एवं प्राकृतिक खाद्य शृखलाको उच्च तहको प्रजाति हो । करिब ११ फिट लामो शरीर, तीन सय किलोग्राम तौल र चार इन्चसम्म लामा तीखा कुकुर दाँत रहने यो हिंस्रक जनावर हो । १० देखि १५ वर्षसम्म औसत आयु हुने बाघ जन्मिएको करिब साढे दुईदेखि तीन वर्षपछि आमा छाडेर आफ्नो वासस्थानको खोजीमा लाग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग प्रवक्ता तथा उपमहानिर्देशक वेद कुमार ढकाल बताउँछन् । ‘बढ्दो वन अतिक्रमण, चोरीसिकारकै कारण संकटमा परेका बाघ अहिले संरक्षणका कार्यक्रम ल्याएसँगै उल्लेखनीय रूपमा वृद्धि भएका छन्,’ उनले भने, ‘टाइगर कन्जभेसन एक्सन प्लान २०२३–२०३२ बाट पनि संरक्षण गरेका छौँ ।’
नेपालका जंगलमा बाघको संख्या राख्न मिल्ने क्षमताबारे अध्ययन हुनुपर्ने देखिएको छ । प्राडा चालिसेका अनुसार जंगलले कति बाघ धान्न सक्छ, कति छ क्षमता ‘क्यारिङ क्यापासिटी’ को अध्ययन हुनुपर्यो । ‘जंगलको आकार हेरेर, त्यहाँ पाइने खानेकुरा हेरेर बाघको संख्या निर्धारण गर्ने हुनुपर्छ’, उनले भने, ‘तर संसारमा लोप भएको ठाउँमा बाघ बढाऊँ भन्छन्, तर वासस्थान सानो, संख्या बढी भयो ।’
प्रधानमन्त्री केपी ओलीले पनि पुस ११ गते वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बाघको संख्या बढी भएको बताएका थिए । उनले त्यहाँ भनेका थिए, ‘जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ । मान्छे खुवाएर बाघ पाल्न सकिँदैन, त्यो गल्ती गर्नु हुँदैन।’
पातलो जंगलमा बाघलाई डर हुने हुँदा घना जंगल चाहिने चालिसे तर्क गर्छन् । ‘घना जंगलको भाग कति छ । त्यो हेरेर मात्रै संख्या बढाउनुपर्छ । अनावश्यक रूपमा बढाउनु हुँदैन । अर्को कुरा, एउटा बाघले पूरै मृग खायो भने १० देखि १५ दिन पुग्छ ।’
एउटा बाघलाई वार्षिक रूपमा २४–३० वटा स्वास्थ्य मृग आवश्यक पर्ने पनि उनले बताए । नेपालमा भएका बाघहरूलाई वार्षिक १० हजार ६ सय ५० मृग आवश्यक पर्ने भए पनि बाघले त्यो नपाइरहेको उनले बताए । जसका कारण बाघको आहार हेरेर पनि संख्या कायम गर्नुपर्ने चालिसे सुझाउँछन् ।