आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म

आइतबार, २० माघ २०८१, ०० : २४
आइतबार, २० माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. माघ १९
हाम्रो राजनीतिक इतिहासमा ‘माघ १९’ दुईपटक कालो दिन भएर आयो — पहिलोपटक, २०१४ सालमा । त्यतिबेला राजा महेन्द्रले संविधानसभाको चुनाव नगरी प्रतिनिधिसभाको चुनावको घोषणा गरे । त्यसयता जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान नलेख्दासम्म देशले दुर्दशा भोग्नुपरेको जगजाहेरै छ । दोस्रोपटक, २०६१ सालको माघ १९ कालो दिन भएर आयो ।

२. आफन्तबाटै हत्या
विराटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको छ ।

अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । 

३. फोरजी प्रयोगकर्ता थपिए
छ महिनामा २८ लाखभन्दा धेरै फोरजी प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत असार मसान्तमा मोबाइल ब्रोडब्यान्डमार्फत् हुने उक्त प्रयोगकर्ताको कुल संख्या २ करोड २२ लाख ३२ हजार ४१६ रहेकोमा पुस मसान्तमा आइपुग्दा यो संख्या २ करोड ५० लाख ७५ हजार ४१९ पुगेको हो ।

४. रातोपाटी स्पेसल,  रङ्गमञ्च बहस
२०३४ सालतिर भारतको चण्डीगढमा दुईमहिने ‘इन्टरनेसनल थियटर वर्कसप’ सञ्चालन भएको थियो । नेपालबाट कलाकार हरिहर शर्मा (प्रज्ञा–प्रतिष्ठानमा कार्यरत) र इन्द्रनारायण श्रेष्ठ (सांस्कृतिक संस्थानमा कार्यरत) त्यस वर्कसपमा सहभागी हुन पुगेका थिए । त्यहाँ शर्माले लोकनाटक, ओपेन–एयर थियटर (खुला रङ्गमञ्च) आदिबारे प्रशिक्षण मात्रै लिएनन्, केही नाटक (मिर्जा साहिबां लगायत) समेत खेले ।

५. प्रथम नेपाली महिला
रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको नवौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड मेलवादेवी गुरुङका सम्बन्धमा छ ।

६. त्रिकोणात्मक महिला टी–२० 
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो ।

७. अमेरिकी सहयोग कटौतीको असर
प्राध्यापक डा. युवराज सङ्ग्रौलासँग रातापाटीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका कार्यकारी आदेश र त्यसले पार्ने प्रभावलगायतका विषयमा रोहित दाहालले कुराकानी गरेका छन् ।

८. अनेरास्ववियु (क्रान्तिकारी) निर्वाचन 
गुटबन्दीले अस्तव्यस्त रहेको संगठनलाई ३२ वर्ष उमेर हद स्थापित गराउने र शान्तिपूर्ण ढंगबाट राष्ट्रिय सम्मेलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका फ्याक्सन इन्चार्ज तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मासँग राततोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् ।

९. केबलकार निर्माण कार्य खारेजीको माग
ताप्लेजुङबाट काठमाडौँ आई बसेका र विभिन्न पेसा तथा व्यवसायमा आबद्ध रहेकाहरूले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय पाथीभरामा केबलकार निर्माण रोक्नको लागि अभियन्ताहरूले आन्दोलन जारी राखेका छन् । 

१०. खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने 
खानेपानीमन्त्री प्रदीप यादवले जनताको पानी सरकारको लगानी अवधारणा अन्तरगत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेज गरिने बताएका छन् । चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेको भन्दै नीति निर्माण तहमा विशेष पहल गरी यो कर खारेज गर्ने प्रतिबद्धता जनाएका हुन् ।

११. सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरा, महानगर मुकदर्शक
माघ ६ गते पोखरा १४ मा रहेको भोटे चौताराको पिपल ठुटै हुनेगरी काटियो । १ सय वर्षभन्दा पूरानो उक्त चौतारो स्थानीयले श्रद्धापूर्वक संरक्षण गरी राखेका थिए । ‘हुरुरु एक गाडी मान्छे आउँछन् । मिनेटभरमै रुख काटी सक्छन् । बोल्ने मौका पनि पाइँदैन,’ स्थानीय हेमन्त ढकाल भन्छन्, ‘कसले काट्न लगाएको भन्दा थाहा छैन भन्छन् । किन काटेको भन्दा पनि थाहा छैन भन्छन् ।’

१२. भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु
भारतमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार बिहार राज्यको सहर मुज्फरपुरमा भएको उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 
धनुषासँगको सीमा नजिकै पर्ने स्थानमा भएको दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो । दुर्घटना शनिबार नै भएको र मृतकहरु कुम्भ मेलामा गएर फर्किँदै गरेकाहरु भएको एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप