आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
अनधिकृत काम

सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरा, महानगर मुकदर्शक

शनिबार, १९ माघ २०८१, २१ : ५७
शनिबार, १९ माघ २०८१

पोखरा । माघ ६ गते पोखरा १४ मा रहेको भोटे चौताराको पिपल ठुटै हुनेगरी काटियो । १ सय वर्षभन्दा पूरानो उक्त चौतारो स्थानीयले श्रद्धापूर्वक संरक्षण गरी राखेका थिए ।

‘हुरुरु एक गाडी मान्छे आउँछन् । मिनेटभरमै रुख काटी सक्छन् । बोल्ने मौका पनि पाइँदैन,’ स्थानीय हेमन्त ढकाल भन्छन्, ‘कसले काट्न लगाएको भन्दा थाहा छैन भन्छन् । किन काटेको भन्दा पनि थाहा छैन भन्छन् ।’

त्यसपछि लगातार रुख काट्ने क्रम चलिरह्यो । पर्यावरणमा लामो समयदेखि काम गर्दै आएका ढकालले रुख कटान भएकोबारे वडाध्यक्षलाई फोनबाट तत्कालै खबर गरे ।

रुख जोगाइदिन उनले गरेको गुहार वडाध्यक्ष बोधराज कार्कीले वास्ता गरेनन् (पछि उनले रुख कटानबारे वडालाई जानकारी नगराइएको भन्दै पन्छिन खोजेका छन्) । त्यसपछि ढकालले मेयर धनराज आचार्यलाई भोलिपल्ट म्यासेज लेखेर जानकारी दिए ।

‘मोबाइल, ह्वाट्सएप र म्यासेज मार्फत २६ पटक फोन र म्यासेज गरेँ । उहाँले कुनै रिप्लाई गर्नुभएन,’ ढकाल भन्छन्, ‘३० जनवरीमा बल्लबल्ल फोन उठ्यो । समिति बनाएर कारबाही गर्छौँ भन्नुभयो ।’ उनले जनवरी १९ देखि मेयर आचार्यलाई फोन सम्पर्क गर्न खोजेका थिए । आचार्यले फोन उठाएनन् । नउठाएको मात्रै होइन, फोन फिर्ता पनि गरेनन् ।

bb

पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ९ वटा ठुला रुख नपलाउने गरी ठुट्याइएको छ । ‘पहिलो रुख काटेको दिन वडाध्यक्षलाई खबर गरेँ । रुख काट्न रोकिएन, वडा कार्यालयमै पुगेर जानकारी दिएँ । घर अघिको चौतारा काटेको सहेर बस्न सकिनँ । प्रहरी ल्याएर रोक्न लगाएँ,’ उनी अघि भन्छन्, ‘त्यसपछि डीएफओ, वन मन्त्री, वन सचिवलाई भेटेँ । क्लबका मान्छेहरूलाई भेला पारेर वडा कार्यालयमा लिखित निवेदन दियौँ । बोधार्थ सबैतिर पठाएका छौँ । अझै पनि रोकिएको छैन । कसैलाई कारबाही गरिएको छैन ।’

काटिएको रुखहरू लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा लगेर थन्क्याइएको छ । चराले गुँड लगाउने बेलामा रुख निमिट्यान्न पारेपछि पर्यावरणमा झन् बढी असर पर्ने उनले सुनाए ।

बुझ्दै जाँदा रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले कोटिहोम सञ्चालनका लागि काटेको खुलेको छ । रुख काटिएको विषयमा चिन्ता व्यक्त गर्दै पोखराका जानकार विश्व सिग्देल भन्छन्, ‘पर्यटनको राजधानी ? पोखरालाई नाङ्गो बनाएर गरिएको कथित कोटी होम पोखरेलीहरूले बहिष्कार गरौँ ।’

उनले रुख कटानमा सरकारकै सहयोग रहेको आरोप लगाए । काटिएका अधिकांश रुखहरू समि, वर, पिपल र चाँपका छन् । फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ । त्यही कोटि होमलाई दाउरा चाहिने भएपछि पोखराका सयौँ वर्ष पुराना रुखहरू नामेट हुने गरी ठुटो पारिएको हो ।

रुख कटान नरोकिएपछि माघ १३ गते मझेरी पाटनको मेरो नेपाल युवा क्लबले महानगरलाई रुख कटान रोकिदिन अनुनय पत्र पठायो । जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला वन कार्यालयलाई बोधार्थ दिएर लेखिएको पत्र अहिलेसम्म कार्यान्वयनमा गएको छैन ।

पोखरा पन्छी समाजले माघ १४ गते प्रदेशका वन मन्त्रीलाई चौतारा काटिएकोमा ध्यानाकर्षण पत्र बुझाएको छ । सरोकारवालाको पटक पटकको दबाबपछि डिभिजन वन कार्यालय कास्कीले माघ ९ गते रुख कटानको बारेमा महानगरपालिकालाई पत्र पठाएर वास्तविकता पठाउन भनेको छ । सँगै कानुन विपरीत भएको भए कारबाही गर्न आग्रह गरेको छ ।

महानगरले १३ दिनपछि बल्ल रुख कटानबारे गुनासो आएको भन्दै ध्यानाकर्षण सूचना निकालेको छ । अनधिकृत रूपमा रुख काट्नेमाथि कारबाही हुने लिखित दाबी महानगरको छ । मेयर धनराज आचार्यले रुख कटान वातावरणीय सन्तुलनका हिसाबले समेत हानिकारक रहेकोले कटान गर्ने उपर कानुनी कारबाही हुने बताए ।

image0 (4)

‘पोखरा महानगरपालिकाले सार्वजनिक स्थलहरूमा २ लाख २६ हजार बिरुवा रोपण गर्ने अभियान सुरु गरिरहेको छ,’ उनले भने, ‘यस्तो परिस्थितिमा पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा दिन दहाडै सयौँ वर्ष पुराना वर, पीपल, र स्वामीका रुखहरू निर्मम रूपमा काटिएको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषय गम्भीर चिन्ताको विषय मात्र नभई वातावरणीय सन्तुलनका लागि समेत हानिकारक छ ।’

पोखरामा कोटिहोम आयोजना गर्ने अनुमति कसैले नदिइएको आचार्यले बताए । १४ सहित वडा नम्बर १३, ८ र वडा नम्बर ६ मा समेत रुख कटान भइरहेको छ । फाउन्डेसनले माघ १३ गते नै वडा नम्बर १४ लाई दाउरा आवश्यक परेकोले रुख काट्न सहयोग गरिदिनू भनी पत्राचार गरेको छ । फाउन्डेसनका मिडिया संयोजक लेखराज ढकालले टोल विकास संस्था र केही जनप्रतिनिधिहरूसँग समन्वय गरेर रुख काटिएको बताए ।

 ‘टोल विकास समितिहरूले वडाबाट समन्वय गर्नुभएको रहेछ । हामीले होमको लागि दाउरा चाहिने भनेपछि काट्नुस् भनेर सहमति जनाउनुभएको छ,’ उनी भन्छन्, ‘पहिला महानगरले नै काटेका हाँगा दिनुभयो । नपुग्ने भएपछि टोल विकास संस्था र जनप्रतिनिधिसँग मिलेर हाँगाबिँगा छिमलिएको हो ।’ रुख आफ्नै प्रतिनिधिहरूले कटान गरेको उनले स्वीकारे ।

‘काट्न चाहिँ हामीले नै काटेको हो । तर टोल विकास संस्था र महिला सदस्यहरूसँग अनुमति लिएका छौँ । वडाले पत्र दिएको छ, काटिदिनुस् भनेर टोल विकास संस्थाले भनेको छ,’ अघि थपे, ‘हावा हुण्डरी हुँदा तारमा झुन्डिन्छ, खतरा भएको छ भन्नुभयो । सहमतिमै काटियो ।’

कोटिहोमका बारेमा मेयर आचार्यलाई पनि जानकारी गराइसकेको उनको दाबी छ । ‘मेयर सावसँग कोटिहोम गर्नका लागि जानकारी गराएका छौँ । वडाले पनि स्विकृति दिएको छ,’ ढकाल भन्छन्, ‘महानगरसँग कुरा भईवरी काम अघि बढेको हो । जानकारी नगराइकन काम थालेको होइन ।’ फाउन्डेसनले कोटिहोम गर्नकै लागि पोखरामा ६ महिनाअघि शाखा कार्यालय खोलेको छ । 

4123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप