सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत पुस २३ गतेदेखि माघ १९ गतेसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । हावाहुरीका कारण सात वटा घरको छानो उडाएको छ भने एउटा गुम्बा, तीन वटा गोठ, एउटा सरकारी कार्यालय, चार स्थानको सोलार प्यानल र एउटा विद्यालयको छानो उडाएर क्षति भएको छ ।
त्यसैगरी आगलागीका कारण चार वटा घर, एउटा गोठ जलेर नष्ट भएका छन् भने चार वटा सामुदायिक वन र तीन वटा निजी वनमा डढेलो फैलिएको छ । प्रहरीको तथ्याङ्कअनुसार हावाहुरीका घटना खुम्बु पासाङल्हामु गाउँपालिकामा १४ र सोलुदूधकुण्ड नगरपालिकामा तीन वटा भएका छन् । त्यस्तै आगलागीका घटना सोलु दूधकुण्डमा पाँच, सोताङमा तीन वटा, महाकुलुङमा एउटा, माप्यदूधकोसीमा दुई र नेचासल्यानमा एउटा दर्ता भएका छन् ।
सबैभन्दा गम्भीर घटना सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा पुस २४ गते राति भएको थियो । उक्त आगलागीमा परी टाक्सिन्दु निवासी नवराज खालिङ राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा पछिल्लो केही दिनयता हावाहुरीले ठूलो क्षति गराइरहेको छ । माघमा चलेको बेमौसमी हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा संरचनाहरुमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
‘माघ लागेपछि चलेको तीव्र गतिको हावाले जिल्लामा सरकारी संरचनासहित निजी संरचनाहरूमा पनि क्षति पुर्याइरहेको छ । सबैभन्दा बढी क्षति खुम्बुमा गरेको छ, हावाका कारण आगलागी तथा डढेलोको घटनामा पनि त्यतिकै बढेको छ,’ उनले भने ।
हावाहुरीको सबैभन्दा बढी चपेटामा सगरमाथा क्षेत्र परेको छ । जहाँ पछिल्लो पाँच दिनमा १४ वटा संरचनामा क्षति पुर्याएको स्थानीय प्रहरीले जनाएको छ । यसैबिच प्राकृतिक विपद्बाट प्रभावित स्थानीयवासीका लागि तत्काल राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकार भएका निकायहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह