शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा

शनिबार, १९ माघ २०८१, २० : ००
शनिबार, १९ माघ २०८१

४० महिनादेखि समानान्तर समितिको अभ्यासबाट अस्तव्यस्त भएको अनेरास्ववियु (क्रान्तिकारी)ले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व पाएको छ । २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्वका लागि माघ १२ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भए । उनीसहित २४३ सदस्यीय केन्द्रीय समितिमा पहिलोपटक सबै सदस्य ३२ वर्ष उमेर मुनिका निर्वाचित भएका छन् ।

योपटक प्रतिनिधि, आयोजक समिति सदस्य, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, आयोगका पदाधिकारी प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भए । पहिलोपटक ३२ वर्ष उमेर हद वैधानिक रूपमा स्थापित भएको छ ।

अनेरास्ववियु क्रान्तिकारीले इतिहासमै पहिलो पटक लोकतान्त्रिक अभ्यास गरेको भनेर चर्चा भइरहेको छ । यद्यपि, निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुँदासमेत पार्टी नेताका गुटगत स्वार्थबाट संगठन अछुतो नरहेको टिप्पणी पनि भइरहेका छन् ।

गुटबन्दीले अस्तव्यस्त रहेको संगठनलाई ३२ वर्ष उमेर हद स्थापित गराउने र शान्तिपूर्ण ढंगबाट राष्ट्रिय सम्मेलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका फ्याक्सन इन्चार्ज तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मासँग राततोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः

  • भर्खर सम्पन्न अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?

अनेरास्ववियु (क्रान्तिकारी)ले प्रतिनिधि, उमेर हद र नेतृत्वको निर्वाचनसम्म आइपुग्दा पहिलोपटक लोकतान्त्रिक अभ्यास सुरु गरेको छ । संगठनको फ्याक्सन इन्चार्जको नाताले मलाई धेरै खुसी लागेको छ । संयोग नै मान्नुपर्छ, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा मेरै पहलमा २८ वर्ष उमेर हद लगाउन सफल भयौँ । अहिले युवा साथीहरू स्ववियु सभापति हुनुहुन्छ । संगठनमा पनि ३२ वर्ष उमेर हद लगाउने निष्कर्ष निस्कियो । अहिले नयाँ युवा साथीहरू उत्साहका साथ नेतृत्वमा आउनुभएको छ । उहाँहरूलाई हामीले स्वागत गरेका छौँ । उहाँहरूको टिमले शैक्षिक आन्दोलनलाई ठिक दिशातिर लैजान्छ भन्ने मलाई विश्वास छ ।

  • विद्यार्थीको निर्वाचनबाट पार्टीभित्र नयाँ गुटको जन्म भएको चर्चा भइरहेको छ, गुट–उपगुट कसरी अन्त्य भयो र ? 

अहिले मान्छेहरूले धेरै गुट भए, कुन गुटका आए भनेर बाहिर ल्याएका छन्, त्यो होइन । अब गुट भत्किएको छ । अझै भत्कन्छ ।  आजसम्म विद्यार्थी नेता बन्दा कुनै गुटका नेतालाई समाउन जानुपर्थ्यो । पार्टीका नेतालाई रिझाएपछि बल्ल विद्यार्थी नेता बन्न पाइन्छ भन्ने मनोविज्ञान थियो । विद्यार्थीको बिचमा जानुपर्ने थिएन । जो लोकप्रिय मत लिएर आउँछ, त्यो नै पार्टीका निम्ति आवश्यक छ । संगठनको इतिहासमै ‘ब्रेक थ्रु’ भएको छ । निर्वाचनबाट लोभलाग्दा साथीहरू आउनुभएको छ, उहाँहरूलाई पार्टीले आत्मसात् गर्छ ।   

हाम्रो पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास गर्न विद्यार्थी असफल भएको भए माओवादीलाई फाप्दो रहेनछ भन्ने हुन्थ्यो । यसले के सन्देश दिन खोजेको छ भने एकातिर ३२ वर्ष उमेर हद लगाएर पार्टीतिर फ्लो बढाएका छौँ । त्यहाँ गएर युवाहरूले हस्तक्षेप गर्छन् ।

पहिला क्षमता होस् वा नहोस्, जस्तोसुकै भए पनि एउटा गुटको भए जित्थ्यो । अहिले त्यसले मात्रै हुँदैन । अहिले पनि गुट देखियो तर गुटका वा प्यानलका मान्छे जितेर आए त ? जसको क्षमता छ, लोकप्रिय छ, उनीहरू नै आए । कोही नेताले पनि भल छोप्ने काम नगरे हुन्छ । यी सबै क्षमता भएर आएका हुन् । कुनै गुटका भएर आएका होइनन् । यस्ता क्षमतावान विद्यार्थीलाई आरोप लगाएर, मेरो र तेरो भनेर भल छोप्ने काम गरेर धमिल्याउने काम कसैले पनि नगरौँ ।

  • माओवादीभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ भन्ने बहस भइरहँदा विद्यार्थीको निर्वाचनले कस्तो सन्देश दिएको छ ?

वास्तवमा हाम्रो संगठनले असाध्यै लोकतान्त्रिक अभ्यास गरेको छ । अन्य संगठनबाट हेर्दा पनि त्यस्तो देखिन्छ । तल्ला समितिबाट निर्वाचित भएर आउँदा ३० प्रतिशत केन्द्रीय सदस्य आउन पाउनुभएन । एउटा अभ्यास यो गर्‍र्यौं । अर्को नीतिमा निर्वाचन गर्‍यौँ । त्यो भनेको ३२ वर्ष उमेर हदसम्बन्धमा आम निर्वाचन गर्‍यौँ । नीति र विधि निर्वाचनबाट टुङ्ग्याउने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो । तेस्रो, नेतृत्व निर्माणमा जसरी हामीले निर्वाचन गर्‍यौँ, केन्द्रीय अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, केन्द्रीय आयोगका पदाधिकारी सबै प्रतिनिधिबाट निर्वाचित भएका हुन् । यतिसम्म कि प्रतिनिधि र आयोजक समिति सबै निर्वाचित भएर आएका हुन् । स्वतः प्रतिनिधित्व भएर आएको होइन । मनोनयन नै राखेनौँ । सचिवालय बनाउँदा झगडा हुन्थ्यो । कार्यविभाजन, जिल्ला इन्चार्ज बनाउँदा झगडा हुन्थ्यो । यी सबै कुरालाई ध्यान दिएर सबै पद निर्वाचन प्रक्रियाबाट टुङ्ग्यायौँ । यसले गर्दा हामीले पूर्ण लोकतन्त्रको अभ्यास गरेका छौँ ।

वास्तवमा सक्षम विद्यार्थी निर्वाचित भएर आउनुभएको छ । नेताहरूले यो मेरो, त्यो तेरो भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ किनभने एकदम क्षमतावान व्यक्ति आउनुभएको छ । कुनै गुटमा लागेका कारण आउनुभएको छैन । नत्र एउटै प्यानलले तलसम्म जितेर जाने स्थिति पनि थियो । क्षमतावान साथीहरूलाई कुनै समूहमा राखे होलान् । त्यसलाई मेरो गुटको हो, मेरो गुटको कारणले जितेको हो भनेर कसैले भन्यो भने अहिले जितेर आउने साथीहरूमाथि अन्याय हुन्छ । विद्यार्थीको क्षमता र लोकप्रियताका कारण विजय प्राप्त गरे भनेर हामीले निष्कर्ष निकाल्नु नै उपयुक्त हुन्छ ।

अब हाम्रो पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास गर्न विद्यार्थी असफल भएको भए माओवादीलाई फाप्दो रहेनछ भन्ने हुन्थ्यो । यसले के सन्देश दिन खोजेको छ भने एकातिर ३२ वर्ष उमेर हद लगाएर पार्टीतिर फ्लो बढाएका छौँ । त्यहाँ गएर युवाहरूले हस्तक्षेप गर्छन् । केन्द्रीय समिति बैठकले पनि यी युवाहरूको व्यवस्थापन गर्ने भनिएको छ । पार्टीको नीति निर्माण तहसम्म युवाहरूको हस्तक्षेप बढाउँछ । पार्टीभित्र पनि लोकतन्त्रको माग गर्छन् । यो आवाज बलियो बन्दै जान्छ । त्यसकारण यो निर्वाचनले पार्टी पंक्ति, विद्यार्थी संगठन, अन्य राजनीतिक दलहरूमा पनि राम्रो सन्देश गएको छ ।

यद्यपि यो बिचमा केही जिकज्याक त भए तर हामीले धेरै जटिल काम पूरा गर्‍यौँ । उमेर हदको निर्वाचन गर्नु भनेको चानचुन कुरा थिएन । नेविसंघले अलिअलि अभ्यास गर्न खोजेको देखिन्छ तर पार्टीभित्रको अन्तरविरोधले त्यहाँ मान्य छैन । विधानमा उल्लेख भएको पनि छैन । अब त्यहाँ पनि दबाब बढ्छ ।

एमाले निकट विद्यार्थी संगठनमा अहिले उमेर हदको विषय उठिराखेको छ । म दाबाका साथ भन्न चाहन्छु, स्ववियुमा २८ वर्ष उमेर हद  लगाउने पनि अनेरास्ववियु क्रान्तिकारी हो । संगठनमा ३२ वर्ष उमेर हदको व्यवस्था गर्ने पनि अनेरास्ववियु क्रान्तिकारी नै हो । यसले उदासीन भएका युवाहरूलाई पनि राजनीतिमा उत्साहित गरेको छ । नीति निर्माणमा हामी जानुपर्छ, फोहोरी राजनीति हामीले नै सफा गर्नुपर्छ भन्ने युवाहरू उत्साहित भएका छन् । यो चुनावी प्रतिस्पर्धाले धेरैको आकर्षण बढेको छ ।

म इन्चार्ज भएर आउँदा संगठन लथालिङ्ग थियो । मेरै पहल कदमीमा सहमतिमा ल्याएँ ।

मनोनीत गरेको भए कसैको पनि चित्त नबुझ्ने, गुट–गुटका समूहको मनोनीत गराउनुपर्ने, तिनीहरूले राम्रोसँग काम गर्न पनि नदिने अभ्यास थियो । अहिले कुनै गुटले असहयोग गर भनेर भन्यो भने विद्यार्थीले मान्नेवाला छैन किनभने अर्को वर्ष उसको उमेर गइसकेको हुन्छ । यही कार्यकालमा राम्रो पर्फमेन्स दिनुपर्ने हुन्छ । कुनै गुटका अनावश्यक थ्रेट व्यहोर्नुपर्दैन भन्ने मलाई लागेको छ । उमेर हद र प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने कुराले वास्तवमै पार्टीभित्रको गुटबन्दी अन्त्य गर्छ ।

  • तपाईंले प्रत्यक्ष निर्वाचन प्रक्रियाले गुटबन्दी अन्त्य गर्छ भनिरहँदा यही निर्वाचनमा पनि नेतापिच्छेका उम्मेदवार खडा भए, होइन र ?

यो अलिकति पुरानो मनोविज्ञान थियो । जित्ने विद्यार्थीलाई आफ्नो समूहमा राख्ने हानथाप हो यो । गुट होइन नि । विद्यार्थी आफैँ लड्छन् नि । उनीहरू समूह बनाएर लडेका हुन् र ? आफैँ क्षमतावान थिए । जितेर आए । अध्यक्षको भन्दा दोब्बर मत अन्य साथीहरूले किन ल्याए ? क्षमतावान साथीहरूलाई आफ्ना समूहमा राख्न खोजेको देखिन्छ तर त्यो होइन । गुटको  कारणले जितहारको कुरा छैन अहिले ।

  • तपाईं इन्चार्ज भएर आउँदा संगठन समानान्तर गतिविधिले अस्तव्यस्त थियो । सबैलाई मिलाएर निर्वाचन प्रक्रियासम्म लैजान कसरी सम्भव भयो ?

म इन्चार्ज भएर आउँदा संगठन लथालिङ्ग थियो । मेरै पहल कदमीमा सहमतिमा ल्याएँ । सहमति मै सम्लेलनतर्फ लगेँ । विधि र पद्धति स्थापना गर्न भूमिका खेलेँ । यहाँसम्म सहमति र सहकार्यबाटै ल्याएको हो । एकपक्षले चुनाव मान्दिनँ वा सम्मेलन मान्दिनँ भनेको भए पनि गाह्रो थियो । उमेरसम्बन्धी एजेण्डालाई प्रवेश गर्न दिदैनौँ भनेको भए पनि अप्ठ्यारो हुन्थ्यो । यी सबैलाई सहमतिमा ल्याएर सम्मेलन सम्पन्न गर्न सफल भयो  । यसमा मलाई  खुसी लागेको छ ।

  • निर्वाचन प्रक्रियामा जाँदा पनि अस्वस्थ प्रतिस्पर्धाका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण राम्रा व्यक्ति छुट्न सक्छन् नि, हैन ?

यो एउटा आवधिक संगठन हो । राम्रा छुटे भनेर फेरि संगठनमा ल्याउने कुरा हुँदैन । उमेरका कारणले पनि उहाँहरू बाहिरिने अवस्थामा हुनुहुन्थ्यो । यो अभ्यासमा राम्रा पनि छुट्छन् । शतप्रतिशत सबैकुरा हुँदैनन् । ती ऊर्जावान साथीहरूलाई पार्टीका विभिन्न निकायमा व्यवस्थापन गर्छौं । राजनीति एउटा नर्सरी पनि हो । त्यसकारण तलैबाट ल्याउन हामीले प्रेरित गर्छौं । जसले जित्नुभएन, जो संगठनबाट बिदा हुनुभयो, यी सबै साथीहरूलाई म कार्यदल सदस्य भएका नाताले पार्टीमा व्यवस्थापन गर्ने जिम्मा लिन्छु । सबै साथीहरूलाई खुसी बनाएर आफ्नो कार्यकाल पूरा गर्छु ।

हाम्रो संगठनभित्र अब मैले समस्या देखेको छैन । नीति ओरिएन्टेसनको खाँचो होला ।
  • चुनिएर आउने पदाधिकारीको रोष्टर हेर्दा  अनिवार्य आउनुपर्ने बाहेक खुला प्रतिस्पर्धामा समावेशी अनुहार जितेर आउनु भएन नि ?

महिलाको हकमा जहाँ पुरुषसँग प्रतिस्पर्धा गरेका छन्, त्यहाँ महिलाले पनि जितेका छन् । छात्रा कोटा त अनिवार्य नै जित्ने भइहाले । त्यसबाहेक खुलाको कुरा गर्दा उपाध्यक्षमा महिलाले राम्रो मत ल्याएर जित्नुभएको छ । कोषाध्यक्षमा पुरुषसँग प्रतिस्पर्धा गरेर महिला नै जितेर आउनुभएको छ । सचिवमा पनि पुरुषलाई प्रतिस्पर्धाबाट हराएर महिला नै आउनुभएको छ । आरक्षण वा क्लस्टरबाट मात्रै महिला आउनुभएको छैन ।

  • तपाईं आफैँ पनि यो संगठनको पूर्वअध्यक्ष हुनुहुन्छ । के समस्या रहेछन् ?

हाम्रो संगठनभित्र अब मैले समस्या देखेको छैन । नीति ओरिएन्टेसनको खाँचो होला । उमेर हदका कारण अलि छिटो नेतृत्वमा पुग्नुभएको छ । यी कुरामा हामी ओरिएन्टेसन गर्छौं । उहाँहरू क्षमतावान हुनुहुन्छ । सबैले ब्याचलर, मास्टर्स डिग्री पास गर्नुभएको छ । डाक्टर, इन्जिनियर छन् । उमेर कम भएका साथीहरूले सक्दैनन् कि भन्ने देखिँदैन । त्यसकारण चुनौती म देख्दिनँ । एकताबद्ध भएर मिलेर जाने हो । नमिले अर्को वर्ष उहाँहरू उमेर हदका कारण बिदा हुनुहुन्छ । अहिले गुटबन्दी गर्नुभयो वा काम गर्न दिदैनौँ भन्नुभयो भने अर्को पटक उमेर जान्छ । यसलाई असफल बनाउँछु । अर्कोपटक म सफल हुन्छु भन्ने सुविधै छैन ।

  • अभिभावकका हिसाबले जित हार भएका नेताहरूलाई के भन्नुहुन्छ ?

उहाँहरूलाई जुन विधि संगठनले दियो, जुन प्रक्रियाबाट आउनुभयो, यसलाई उहाँहरूले आत्मसात् गर्नुपर्छ । यही विधिका कारण सिनियरहरू बिदा भएर उहाँहरू नेतृत्वमा आउनुभयो । उहाँहरू क्षमतावान हुनुहुन्थ्यो तर मौका पाउनुहुन्थेन ।

प्रत्यक्ष निर्वाचन प्रणालीको विधि ल्याउनुभएको छ । मनोनीत वा तोकेको भए यस्तो अवसर आउने थिएन । जुन अवसर पाउनुभएको छ, यसलाई नजरअन्दाज नगर्नुहोला । अबमूल्यन नगर्नुहोला । विधिले गर्दा काम गर्ने समय थोरै छ । कार्यकाल सफल बनाउने काममा लाग्नुहोला । कसैको बहकाउमा लागेर निर्णय नै लिन नसक्ने, समानान्तर बनाउँदै हिँड्ने जुन समस्या थियो, त्यो समस्याबाट अहिले मुक्त भएको छ । आफ्नो कार्यकाल सफल बनाउन लाग्नुहोला, यसमा शुभकामना दिन चाहन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप