पाथीभरामा केबलकार निर्माण कार्य खारेजीको माग, कसले के भने ?
काठमाडौँ । ताप्लेजुङबाट काठमाडौँ आई बसेका र विभिन्न पेसा तथा व्यवसायमा आबद्ध रहेकाहरूले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय पाथीभरामा केबलकार निर्माण रोक्नको लागि अभियन्ताहरूले आन्दोलन जारी राखेका छन् ।
शनिबार संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पाथीभराको महिमाबारे प्रकाश पार्दै सम्पदा मास्ने कार्य स्वीकार्य नभएको चेतावनी दिएको हो । संघर्ष समितिका काठमाडौँका संयोजक नेपाली सेनाका अवकाशप्राप्त उपरथी अनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दु र बौद्धमार्गीहरुको साझा धार्मिकस्थल रहेको बताएका छन् ।
उनले भने,‘अहिलेको द्वन्द्व भनेको पाथीभरामा केबलकार निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा छ । खास मुद्दा पेचिलो र गहिरो छ । स्थानीय रैथाने आदिवासी जनजातिको संवेदना, परम्परादेखि सनातनदेखि मानिआएको आस्था र विश्वासको बिचमा केही लोभीपापी र स्वार्थहरूको द्रव्यपिशाचुको स्वार्थको द्वन्द्व हो । पवित्र स्थानलाई मौलिक रूपमा राख्नुपर्छ । पवित्र रूपमा राख्नुपर्छ । सर्वसाधारण नागरिकलाई आवातजावातमा बाटोको पहुँच बनाउनुपर्छ । पाथीभरामा केबलकार लगेपछि पवित्रतामा आँच पुग्छ भन्ने हो । कतिपय मान्छेले यो गलत काम भएको प्रति बोल्न सकेका छैनन् । सरकारले बन्दुकको नालको त्रास देखाएर अनि राज्य सत्ताको दुरुपयोग गरेर त्रास देखाइएको छ । यो बोल्न सक्ने वा नसक्ने बिचको पनि द्वन्द्व हो ।’
उनले मुन्धुममा नै मुक्कुलुङको चर्चा रहेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व भएको सम्झाए । उनले भने, ‘इतिहास जित्नेले लेख्नेछ । रचना गर्छ । हाम्रो देशको हकमा पनि त्यही नै भएको छ । २ सय वर्ष मुक्कुम्लुङमा थियो । सनातन कालदेखि थियो । मुन्धुममा मुक्कलुङको चर्चा र व्याख्या छ । अहिले सिलसिलेबार ढंगले आक्रमण हुन थालेको छ । अहिले समय परिवर्तन भएको छ । चन्द्रागिरिमा धर्मलाई व्यवसायीकरण गरियो । पाथीभरा भनेको अनादिकालदेखि नै छ । चन्द्रागिरि र पाथीभरा तुलना गर्न नै मिल्दैन । पाथीभरामा अहिले केबलकारको कुरा पैसाको लागि आमा बेचेसरह हो । धर्मलाई व्यापारीकरण गर्ने कुरा हामीलाई सह्य छैन । किमार्थ मान्य छैन ।’
स्थानीय सरोकारवाला तथा समाजसेवी सलमान थलाङले विकासको नाममा पाथीभराको सभ्यता मास्ने गरि सह्य हुनै नसक्ने सुरुवात भएको भन्दै यथाशीघ्र परियोजना बन्द गर्न चेतावनी दिए । उनले भने,‘हामी चुप लागेर बस्दैनौँ । अहिले पनि पाथीभरामा केबलकार बन्न हुँदैन भन्ने ९९ प्रतिशतको धारणा छ । केबलकार बन्नुहुँदैन भन्ने नै आवाज छ । एक जना व्यापारीले र राज्यले दमन गरेर यदि केबलकार बनाइयो भने भोलि त्यहाँ द्वन्द्व निम्तिन सक्छ । चन्द्र ढकालजी तपाईं जिम्मा लिनुहुन्छ ? विकासको नाममा नौटंकी नगर्नुहोस् ।’
किराँत याक्थुङ चुम्लुङ काठमाडौँका अध्यक्ष तथा समाजसेवी डम्बरबहादुर तुम्बाहाङ्फे मुक्कुम्लुङ मुन्धुमभित्र परेको उल्लेख गर्दै पाथीभरा सबैको धर्मस्थल भएको सम्झाए । उनले भने,‘मुक्कुम्लुङ त लिम्बुको त शिर हो । त्यहाँ बदमासी भयो भने लिम्बुले छोड्दैन । कोठेवारीजस्तो विकास गर्न मिल्दैन । त्यहाँ कुनै पनि हालतमा केबलकार बन्नुहुँदैन । यदि त्यहाँ भोलि ज्यान तलमाथि भयो भने ताप्लेजुङको सांसदले जिम्मा लिनुपर्छ ।’
अधिवक्ता थाईन्द्र आङबोहाङले पाथीभरामा स्थानीयको अधिकार रहने भन्दै स्थानीयहरूको स्वीकृतिबिना कुनै संरचना बनाउन र भत्काउन नमिल्ने टिप्पणी गरे । उनले भने,‘संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रता दिएको छ । केबलकार निर्माण कार्य खारेज हुनुपर्छ । धार्मिक सम्पदा बचाउनुपर्छ ।’
गायिका झुमा लिम्बुले विकासको नाममा सभ्यता मास्ने कुरा स्वीकार्य नहुने र मनपरी गर्न नपाउने बताइन् । उनले भनिन्–‘त्यो ठाउँ त हाम्रो पुस्ताले बचाएको हो । मनपरी गर्न मिल्दैन । व्यापारीको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने काम नगर्नुहोस् । चन्द्र ढकाल भनेको व्यापारी हो । त्यो क्षेत्रको सांसदले बुझ्नुपर्छ, माटोको माया लाग्छ भने लाजलाग्दो राजनीति नगर्नुहोस् ।’
अधिवक्ता हरिचन्द्र भट्टराईले ताप्लेजुङमा अहिले राज्यले गरेको व्यवहार मानवअधिकारको हिसाबले गलत भएको टिप्पणी गरे । उनले भने,‘राज्य त्यसै भाग्न पाउँदैन । पाथीभरा भनेको हाम्रो सभ्यता हो । धरोहर हो । यसमाथि कसैले धावा बोल्नुहुँदैन । जनताको भावनाविपरीतका परियोजना ब्याक हुनुपर्छ । विकासको अधिकार भन्दा पनि मानवअधिकार पहिले हुन्छ । जनतामाथि राज्यले सांघातिक हमला र बुट बजाउन पाउँदैन ।’
पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुन्धुम आफूहरूको सभ्यता भएको र आफूहरू प्रकृति पूजक भएको भन्दै पाथीभरामा केबलकार बनाउन नहुने धारणा राखिन् । उनले भने,‘हामी त प्रकृति पूजक हौँ । रुख, बोटबिरुवा हो पुज्छौँ । मुक्कुम्लुङ हाम्रो पवित्रस्थल हो । विकास कस्तो हो ? संस्कृति मास्न मिल्छ ? हामी केबलकार चाहँदैनौँ । बरु त्यहाँ बाटो बनाऊ । ताप्लेजुङमा बाटो बनाइदिनुहोस् । शिक्षा बनाउनुहोस् । अझै पनि गरिबी छ । हाम्रो कला, संस्कृति मासिने डर छ । केबलकार बन्नुहुँदैन ।’
यस्तै, निर्देशक नवीन सुब्बाले ताप्लेजुङमा केबलकार बनाउन नहुने धारणा राखे । उनले भने,‘अहिले जे काम भइरहेको छ, हाम्रो शिर टेक्ने काम भइरहेको छ। विकासको नाममा हाम्रो आस्था प्रभावित भएको छ । हाम्रो लागि त केबलकार बन्नु भनेको हिन्दु धर्म मान्नेहरूलाई गाईको मासु खाऊ भनेसरह हो । विकासको नाममा धरोहर भत्काउन हुँदैन । विकासले समाज फुटाउने कुरा स्वीकार्य हुँदैन । बरु, जोड्ने कुरा हुनुपर्छ । सरकारको अहिलेको व्यवहारले राष्ट्रलाई द्वन्द्वमा धकेलिरहेको छ । केबलकार बनिनुहुँदैन । त्यसबाट सेना, प्रहरी, सशस्त्र निकालिनुपर्छ । ताप्लेजुङलाई शान्त रूपमा रहन दिनुपर्छ ।’
वातावरण संरक्षणविद् बाबुकृष्ण कार्कीले जनतालाई दिएको सम्पत्तिमा राज्य जानु भनेको गलत भएको टिप्पणी गरे । सर्वोच्च अदालतले समेत आरक्षण क्षेत्रमा सडक, केबलकार लैजान मिल्दैन भनेको कुरा उनले स्मरण गराए । उनले भने,‘यो केबलकार खारेजीको फैसला हो । केबलकार मिसनमा व्यापारीलाई बोकेर नेपाली सेना हिँडेको छैन । मौलाकालिकामा ८ किलोमिटरसम्म सालको रुख काटिएको छ । यिनीहरूले भोलि पाथीभरालाई नांगो बनाउनेछन् । केबलकार आयो भने डिजास्टर हुन्छ । मैले त केबलकार बनाउने कुरालाई एटम बम भनेको छु ।’
वरिष्ठ पत्रकार भवानी बरालले अहिले माफियाको काँधमा चढेर मान्छेले गलत काम गरिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘ती मान्छेले पैसाबाहेक केही देख्दैनन् । आस्था र विश्वासमाथि प्रहार गर्नु गलत हो । केबलकार देखिसकेका छौँ । केबलकार बनाउँदा समृद्धि आउँछ भन्ने कुरा हावा कुरा हो । माफियाले आफू मोटाउनको लागि मात्रै केबलकार भनेको हो । ताप्लेजुङको विकासमा कुनै असर गर्दैन । व्यक्ति पोस्ने काम हो । एक मात्रै सूत्र केबलकार खारेजी हुनुपर्छ ।’ राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले समेत आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम सञ्चालक पत्रकार विश्व लिम्बुले पनि पाथीभरामा केबलकार बनाउने कुरा मान्य नभएको भन्दै ऐक्यबद्धता जनाए ।उनले ‘क बाट केबलकार, ख बाट खारेज, सरकार छातीमा गोली ठोकेर हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौँ’ भन्ने नारासहित यही माघ २१ गते सोमबार दिउँसो १२ः३० बजे माइतीघर मण्डलमा कार्यक्रम राखिएको भन्दै भेला हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे