पठन संस्कृति किन आवश्यक छ ?
पढ्ने संस्कृतिलाई पठन संस्कृति भनिन्छ । पठन संस्कृतिका निम्ति पठन जीवनको अनिवार्य अङ्ग बन्नुपर्छ । पठन संस्कृतिभित्र पठनलाई मलजल गर्ने र उकेरा लगाउने पर्यावरण पनि पर्छ । पठनका निम्ति उपयुक्त पर्यावरणमै पठन संस्कृति मौलाउँछ । पठनप्रति जागरुक र त्यसको महत्त्व बुझेको समाजमै मानिस पठनप्रति आकर्षित हुन्छन् । पठन संस्कृतिमा पठन जीवनपर्यन्त चल्नुपर्छ । औपचारिक शिक्षा प्राप्त गर्दासम्म पढ्ने र गरिसकेपछि नपढ्नेहरूको संख्या निकै हुन्छ । पठन संस्कृतिमा अनौपचारिक पठनलाई बेसी महत्त्व दिइन्छ । औपचारिक शिक्षा सकिएपछि पनि पठनले निरन्तरता पाउनुपर्छ । पठनको क्षेत्र पनि फराकिलो हुनुपर्छ । औपचारिक शिक्षा प्राप्त गर्दा पढिने विषय क्षेत्रभन्दा बाहिरका साहित्य लगायत ज्ञानका अन्य क्षेत्रका पुस्तकहरूको पठनले पठन संस्कृतिलाई समृद्ध गर्न योगदान दिन्छन् ।
लेखिन थालेपछि पढिन थाल्यो, पहिले सुनिन्थ्यो मात्र । पठन संस्कृतिजस्तै पहिले श्रवण संस्कृति थियो । मानिस एक अर्कालाई कविता, कथा, अनुभव एवं विविध विषयका ज्ञान सुनाउँथे । यसैगरी ती एउटा पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित हुन्थे । अहिले पनि यो संस्कृति जीवित छ । मानिस एक–अर्कालाई सुन्छन्, सुनाउँछन् । पठन संस्कृतिको विकाससँगै विमर्श पनि पठन संस्कृतिकै बारेमा बढी हुन थाल्यो । श्रवण वा सुन्ने संस्कृति प्राथमिकतामा परेन । सुन्ने र पढ्ने कुरा एकापसमा गहिरोसँग जोडिएका छन् । आजको डिजिटल संसारमा पुस्तकका हेर्ने र सुन्ने सामग्रीहरू छन् । यी सबैबाट मानिस लाभान्वित भएका छन् ।
सबै मुलुकमा पठन संस्कृतिको लामो इतिहास पाइन्छ । नेपालमा पनि यसको लामो इतिहास छ । नेपालको इतिहास पठन संस्कृतिले समुचित महत्त्व पाएको इतिहास भने होइन । वर्तमानमा पनि पठन संस्कृति समृद्ध छैन । अतीतमा न शासकहरूले यसलाई महत्त्व दिए, न त समाज नै यसका निम्ति जागरुक बन्यो । शासन गर्नेहरू यसप्रति गम्भीर भइदिएको भए स्थिति अलि फरक हुन्थ्यो । पढ्ने कुरा सत्तारुढ वर्गमा सीमित बन्यो । त्यसको परिधि साँघुरो थियो । लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल कुनै पनि कालमा यसतिर विशेष दृष्टि गएन । औपचारिक–अनौपचारिक रूपमा पढ्ने कुरा माथिल्लो वर्गमा सीमित रह्यो । गुम्बा, चैत्य, विहार, गुरुकुल, मन्दिर आदिमा सीमित रूपमा पठनपाठन भयो । थोरै मानिस भारतका विभिन्न ठाउँमा गएर पढे । समयको दबाबमा परेर राणाशासकहरूले शिक्षाका क्षेत्रमा थोरै भए पनि काम गरे । बिस्तारै बिस्तारै मानिसमा जागरण पनि आउन थाल्यो । सार्वजनिक पुस्तकालय खोल्ने प्रयास भए । प्रयास गर्नेहरू शासकबाट दण्डित भए । १९८७ सालको पुस्तकालय पर्व यसको उदाहरण हो । राणाशासकहरू जनता जागे आफ्नो शासनका विरुद्ध उभिन्छन् भन्थे । चन्द्रशमशेरले त्रि–चन्द्र क्याम्पसको शिलान्यास गरेपछि पछुतो मानेका थिए । तर पनि उनीहरूलाई केही गर्न समयले बाध्य बनाएको थियो ।
मठ–मन्दिरका निम्ति धेरैभन्दा धेरै खर्च गर्ने राज्यले पुस्तकालय स्थापनाका निम्ति खर्च गरे उपयुक्त हुन्थ्यो । सार्वजनिक संस्थाहरूले पनि पठन संस्कृतिको विकासमा गहन भूमिका सम्पादन गर्न सक्छन् र गर्नुपर्छ ।
२००७ सालपछि भने स्थिति बदलिन थाल्यो । शिक्षाको विस्तार भयो । सरकारी र सार्वजनिक स्तरबाटै पुस्तकालयहरू खुल्न थाले । केही पुस्तकालय २००७ सालअगावै स्थापना गरिए पनि धेरै पुस्तकालय लोकतन्त्रको स्थापनापछि खुले । परिवर्तनको प्रभाव आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा पर्यो । यसले पठन संस्कृतिलाई बढायो । साक्षर र शिक्षितहरूको संख्या बढेसँगै पढ्नेहरूको संख्या पनि बढ्यो । स्वदेश र विदेशका लेखकका कृतिहरू अलि बढी बिक्न थाले । पाठ्यपुस्तकका साथै अरु पुस्तक पनि पढिन थाले । तर पनि पठन संस्कृतिको अपेक्षित विकास हुन सकेन । पञ्चायतको स्थापनापछि स्थिति प्रतिकूल भए पनि पढ्ने कुरालाई यसले रोक्न सकेन । पुस्तक किन्ने र पढ््ने कार्य चलिरह्यो । यस कालखण्डमा पनि पुस्तकालय खुले, पठन संस्कृतिका बारेमा छलफल भए । २०४६ सालको आन्दोलनबाट पञ्चायत समाप्त भयो, लोकतन्त्रको पुनः स्थापना भयो । आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । २००७ सालयता सात दशकभन्दा लामो समय बित्दा पनि पठन संस्कृति अपेक्षा अनुसार मौलाउन सकेको छैन । शिक्षा क्षेत्रमा भएको विकासलाई आधार मान्ने हो भने पठन संस्कृति अहिलेको तुलनामा समृद्ध हुनुपथ्र्यो । अहिले पनि पाठ्यपुस्तकबाहेक अन्य पुस्तक कम बिक्छन् । साहित्यिक कृतिहरूको बिक्रीले ठुलो फड्को मारेको छैन । वाङ्मयका विभिन्न क्षेत्रका कृतिहरू पनि धेरै बिकेको पाइँदैन । ई–पुस्तक पढ्नेहरूको संख्या पनि धेरै छैन ।
हामीकहाँ पठनको महत्त्वबोधको विकास राम्रोसँग हुन सकेको छैन । त्यस अनुकूलको पर्यावरणको निर्माण भनेजसरी गर्न सकिएको छैन । पठन किन आवश्यक छ भन्ने कुरालाई गहिरो गरी बुझ्दा मात्र पठन संस्कृति फस्टाउँछ । यस दृष्टिले नेपाली समाज पछि छ । समाजमा गरिबी छ । गरिबी पठन संस्कृतिको विकासमा बाधक छ । मौलाउँदो उपभोक्तावादी चरित्र र मनोविज्ञान पठन संस्कृतिको विरोधी छ । सञ्चार–प्रविधिको दुरुपयोगबाट पठन संस्कृति दुष्प्रभावित छ । लोकप्रिय संस्कृतिका अनेक रूपले पठन संस्कृतिको विकासलाई प्रभावित गरेका छन् । किन्न सक्ने हैसियत भएका नेपाली पनि पुस्तक किनेर पढ्दैनन् । धेरै पठित र हुनेखाने नेपालीका घरमा एउटा सानोतिनो पुस्तकालय पाइँदैन । लाउन, खान, घुम्न, मनोरञ्जन गर्न लाखौँ खर्च गर्न सक्ने नेपालीसँग पुस्तकका निम्ति बजेट हुँदैन । उनीहरू पुस्तकको उपयोगिता नै देख्दैनन् । सामाजिक सञ्जालले यस प्रवृत्तिलाई अझ मलजल गरेको छ ।
आफू र अरुलाई जान्न, देश–दुनियाँ बुझ्न, आलोचनात्मक चेतनाको विकास एवं आत्मिक, बौद्धिक विकास गर्न; समाजको रूपान्तरणमा योगदान दिन र मानिसजस्तो भएर बाँच्न पठन आवश्यक छ । यस्तो पठन जीवनभरि चल्नुपर्छ ।
आफू र अरुलाई जान्न, देश–दुनियाँ बुझ्न, आलोचनात्मक चेतनाको विकास एवं आत्मिक, बौद्धिक विकास गर्न; समाजको रूपान्तरणमा योगदान दिन र मानिसजस्तो भएर बाँच्न पठन आवश्यक छ । यस्तो पठन जीवनभरि चल्नुपर्छ । पठनले आनन्द मात्रै दिँदैन, शिक्षा पनि दिन्छ, बाटो पनि देखाउँछ र सत्यं, शिवं, सुन्दरम् गीत गाउन सिकाउँछ । पठन जीवन र जगतबोधको उत्तम साधन हो । के पढ्ने, किन पढ्ने, सामग्री छनोट कसरी गर्ने जस्ता प्रश्नमा भने पढ्ने मानिस सजग हुनुपर्छ । राम्रा–नराम्रा दुवै थरीका पठन सामग्री पाइन्छन् । नराम्रा सामग्री पढ्न पुगियो भने जीवन बर्बाद हुन सक्छ । कैयौँको जीवन बर्बाद भएको पनि छ । जीवन विरोधी, सुन्दर विरोधी, सत्य विरोधी पठन सामग्रीको कमी संसारमा छैन । त्यस्ता सामग्रीको प्रचार–प्रसार योजनाबद्ध रूपमै भएको छ । त्यसले मानिसलाई प्रभावित गरेको छ । मानिसको चेतनालाई नराम्रो दिशातिर डोर्याउने र रुचिलाई विकृत गर्ने प्रयास भएकै छन् । हाम्रा अगाडि नराम्रा कुराको प्रचारको मायाजाल छ । यो मायाजाल डरलाग्दो छ । मानिस कतिबेला यसको सिकार हुन्छ भन्नै गाह्रो छ । मानिसलाई ज्ञान पिपासुभन्दा खन्चुवा बनाउने संसारमा हामी छौँ । यस्तो स्थितिका माझमा सचेत भईकन पठन सामग्रीको चयन गर्नु पाठकहरूको दायित्व हो ।
पठन संस्कृतिको विकासमा व्यक्ति, परिवार, समाज, सार्वजनिक संस्था एवंं राज्यको महत्त्वपूर्ण भूमिका हुन्छ । राज्यको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । पठन संस्कृतिको विकासका निम्ति व्यक्ति, परिवार, समाज, सार्वजननिक संस्था गम्भीर हुन जति आवश्यक छ, त्योभन्दा बढी राज्य गम्भीर हुन जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले यसका निम्ति धेरै गर्न सक्छन् । राष्ट्रिय शिक्षा नीतिले पठन संस्कृतिको विकासलाई महत्त्व दिएको छ । अरु सम्बन्धित निकायका नीति पनि यस्ता देखिन्छन् । भएको नीतिलाई कार्यान्वयन गर्दा पनि धेरै हुन्छ । प्रत्येक वडामा पुस्तकालय, वाचनालय स्थापना गर्न सकिन्छ । पठनमा अभिरुचि जगाउने गरी कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । मठ–मन्दिरका निम्ति धेरैभन्दा धेरै खर्च गर्ने राज्यले पुस्तकालय स्थापनाका निम्ति खर्च गरे उपयुक्त हुन्थ्यो । सार्वजनिक संस्थाहरूले पनि पठन संस्कृतिको विकासमा गहन भूमिका सम्पादन गर्न सक्छन् र गर्नुपर्छ । व्यक्ति र परिवारको भूमिका त उल्लेखनीय हुन्छ नै ।
हामीकहाँ पठनको महत्त्वबोधको विकास राम्रोसँग हुन सकेको छैन । त्यस अनुकूलको पर्यावरणको निर्माण भनेजसरी गर्न सकिएको छैन । पठन किन आवश्यक छ भन्ने कुरालाई गहिरो गरी बुझ्दा मात्र पठन संस्कृति फस्टाउँछ ।
बालबालिकामा सानैबाट पठनप्रति अभिरुचि निर्माणलाई सबैभन्दा बढी महत्त्व दिनुपर्छ । यसमा परिवार र विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ । बालबालिकामा पाठ्यपुस्तकका साथै अन्य पठन–सामग्रीप्रति पनि रुचिको विकास गर्नु र उनीहरूलाई बाटो देखाउनु परिवार एवं विद्यालयको दायित्व हो । पठनलाई जीवनको अनिवार्य अङ्ग बनाउने गरी संस्कार निर्माण गर्नका लागि यो उपयुक्त समय हो । परिवार नै यसप्रति उदासीन हुँदा परिणाम राम्रो नहुनु स्वाभाविक हो । पठनप्रति अभिरुचि जगाउने गरी कार्यक्रम सञ्चालन गर्ने कुरालाई राज्य एवं सार्वजनिक संस्थाले उच्च महत्त्व दिन जरुरी छ । पुस्तकालय र सामग्रीहरू भएर मात्रै हुँदैन, पढ्ने पाठक पनि हुनुपर्छ । पठनप्रति देखिएको उदासीनता डरलाग्दो छ । पढौँ–पढौँँ लाग्ने सामग्रीको रचना कम हुुनु पनि यस्तो स्थिति निर्माणको एउटा कारण हो । महत्त्वपूर्ण कारण आजको समग्र पर्यावरण र त्यसबाट निर्मित मनोविज्ञान हो । आजको पर्यावरण पठन संस्कृतिका दृष्टिले त्यति उपयुक्त देखिन्न । यसप्रति गम्भीर नभई र पठन संस्कृतिको निर्माणका लागि उपयुक्त पर्यावरण निर्माण नगरी पठन संस्कृतिलाई समृद्ध तुल्याउन सकिन्न । पठन संस्कृतिको विकास समाजको समग्र रूपान्तरणसँग जोडिएको छ । यसले समाजलाई नयाँ दिशा दिन सघाउँछ । जागरुक समाजले नै मुलुकलाई अघिल्तिर डोर्याउने सामथ्र्य राख्छ । यस्तो समाजले नै परिवर्तनको अगुवाइ गर्न सक्छ ।
पठन संस्कृतिको विकासमा प्रविधि सहयोगी रहँदै आएको छ । यसको प्रयोग हामी कसरी गर्छौं, कुरा यति मात्र हो । प्रविधिको सदुपयोग र दुरुपयोग दुवै भएको छ । आज पढ्नका निम्ति पुस्तकालय मोबाइल र कम्युटरमै उपलब्ध छ । इन्टरनेटको विकासका कारण यस्तो सम्भव भएको छ । कैयौँ सामग्री फेसबुक, ब्लग, युट्युब, ह्वाट्सएप आदिमै पाइन्छन्; कैयौँ सामग्री गुगलमा पाउन सकिन्छ । गुगल पढ््ने सामग्रीहरूको विशाल भण्डार हो । आज दर्जनौँ निःशुल्क ई–पुस्तकालय छन् । किनेर पढ्न सकिने हजारौँ ई–पुस्तक छ । मोबाइल र कम्प्युटरमा ती सजिलै उपलब्ध हुन्छन् । अमेजन, कोबो, एप्पलबुक्स आदिबाट यस्ता पुस्तक किन्न सकिन्छ । इन्टरनेट सुविधा लिएका मोबाइल प्रयोगकर्ताहरूका निम्ति मोबाइल नै एक सिङ्गो पुस्तकालय हो । तर पठन संस्कृतिको विकासको निम्ति प्रविधिको समुचित सदुपयोग भएको पाइँदैन । बालबालिका र किशोर–किशोरीहरूबाट यसको दुरुपयोग बढी भएको छ । पढ्नका निम्ति भन्दा अन्य कुराका निम्ति तिनको प्रयोग गरिन्छ । कम्प्युटर, मोबाइल र टेलिभिजनका कारण बिग्रिएका बालबालिका र किशोर–किशोरी निकै छन् । ठुलै पनि यीबाट दुष्प्रभावित छन् । सस्तो मनोरञ्जन, भ्रमपूर्ण यथार्थ र मिथ्या कुरातिर उनीहरूको ध्यान बढी गएको पाइन्छ । सबैभन्दा बढी दुरुपयोग सामाजिक सञ्जालको भएको छ । ती अश्लीलता, अराजकता र भ्रमको प्रचार गर्ने महत्त्वपूर्ण माध्यम बनेका छन् । मानिस त्यसैलाई पत्याउन विवश छन् । पठन संस्कृतिका ठाउँमा यस विरोधी संस्कृतिको निर्माण भएको छ ।
हाबरमासले ‘सार्वजनिक वृत्त’को चर्चा गरेको लामो समय भएको छैन । ‘पब्लिक स्फेयर’ आज ‘डिजिटल स्फेयर’मा बदलिएको छ । विलियम गिब्सनको ‘साइबर स्पेस’को धारणा यथार्थमा रूपान्तरित हुँदै छ । सञ्चार प्रविधिको उन्नत अवस्थाका बिचमा हामी छौँ । इन्टरनेटले हाम्रो जीवनलाई बदलेको छ । एक प्रकारले ‘दिक् र काल’को लोप भएको छ । प्रविधि सम्प्रेषणको प्रभावकारी माध्यम बनेको छ । रेमण्ड विलियम्स सम्पूर्ण सांस्कृतिक प्रक्रियालाई एक सम्प्रेषण व्यवस्थाका रूपमा लिन्छन् र सञ्चार प्रविधिको त्यसमा महत्त्वपूर्ण भूमिका देख्छन् । पठन संस्कृति पनि यससँग जोडिन्छ । पठन संस्कृतिको विकासमा प्रविधिको प्रभावकारी प्रयोग युरोप र अमेरिकामा बढी भएको छ । विकासका दृष्टिले पछि परेका मुलुकमा पनि प्रविधिलाई पठनका निम्ति उपयोग गर्ने प्रवृत्तिको विकास भएको छ । अहिले पनि संसारमा छापिएका पुस्तक नै बढी पढिन्छन् । छापिएका पुस्तक पढ्नुमै बढी आनन्दानुभूति गरिन्छ । तर डिजिटल पुस्तक र अन्य डिजिटल पठन सामग्रीको प्रयोग पनि बढ्दै छ । संक्षेपमा भन्दा प्रविधि पठन संस्कृतिको विकासको महत्त्वपूर्ण माध्यम हो । यस माध्यमको समुचित प्रयोग व्यक्ति, समाज र राज्यको दायित्व हो । समृद्ध पठन संस्कृति सुन्दर निर्माणको जग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे