नेपालका निधि हाम्रा निधि पनि थिए
हालै जनकपुरधाममा वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गरिएको थियो । त्यसमा म पनि सहभागी थिएँ । पछि विमलेन्द्र निधिबाट पुस्तक प्राप्त भयो र घरमा लगेर तत्काल पढ्न थालेँ ।
पुस्तकमा राजनीतिक घटनाका अनेकौँ अन्जान पक्षहरूको उद्घाटन भएको छ । नेपालमा राजतन्त्रका खेला–बेला र त्यसबाट प्रभावित हुँदै आएको नेपालका पुरानो र सशक्त संगठन नेपाली कांग्रेसको गतिविधिको पुस्तकमा बडो मिहीन विश्लेषण गरिएको छ । हैन, प्रस्तुत गरिएको छ । विश्लेषण गर्ने न त त्यति छुट थियो न त लेखकले गर्ने प्रयास नै गरेका छन् ।
‘नेपालका निधि’ भनिए पनि मधेसमा उनको समकक्षी कुनै अन्य नेता त्यतिखेर नहुँदा उनलाई राजतन्त्रका संरक्षक, शासकहरूले पत्याएको कतै पाइएको छैन । अनेकौँ यस्ता प्रसंग यस पुस्तकमा आएका छन्, जब उहाँलाई मन्त्री बनाउन सकिन्थ्यो, सभामुख बनाउन सकिन्थ्यो र पछि त प्रधानमन्त्रीसम्म पनि बन्ने अवसर जुरेको थियो तर उनी ‘मधेसका निधि’ भएरै होला, उनीसँग पक्षपातपूर्ण व्यवहार गरिएका प्रसंग लेखकले कति ठाउँमा कोट्याएका छन् ।
२००७ सालको क्रान्ति र त्यसपछि राजतन्त्रको केन्द्रीय शासन व्यवस्थाप्रतिको निरन्तर संघर्षको लामो इतिहास बोकेको नेपाली कांग्रेसमा अनेकौँ उथल–पुथल नआएको होइन । जसको विषय अनुसार लेखक नेपालले राम्ररी राखेका छन् ।
पृष्ठ ६९ मा निधिजी स्वदेश फर्किएपछि रेल–वे स्टेसनबाट एउटा जुलुस उनकै नेतृत्वमा निस्केको र त्यसमा मकेश्वरप्रसाद सिंह, नागेश्वर झा, रामचन्द्र मिश्र, बोधप्रसाद उपाध्याय, वेणी माधव सिंह, सिंह प्रसाद ठाकुर, महोत्तरी जिकाका सचिव बलराम नायकसहित स्थानीय नागरिकको ठुलै सहभागिता भएको उल्लेख छ । यहाँ त्यो मिति उल्लेख भएन र वास्तवमा जनकपुर रेल–वे स्टेसनबाटै हो वा रेल–वे स्टेसनको पारि उत्तरतिर (हाल शिवपथ) मा रहेको नेपाली कांग्रेसको तत्कालीन कार्यालयबाट निस्केको हो ? यो पंक्तिकारको घर त्यही कांग्रेस कार्यालय क्षेत्रमा पर्छ र म स्वयंले मकेश्वरप्रसाद सिंह, बोधप्रसाद उपाध्याय, बलराम नायक चिन्ताहरण सिंह (जसको नाउँ पुस्तकमा छुटेको छ) लगायत नेताहरूले नारा लगाउँदै बजारभित्र गएको देखेको छु । हुन सक्छ, त्यो प्रसंग बेग्लै होस् तर पनि यस्ता प्रसंग राख्दा मिति र प्रत्यक्ष संवाद (समकालीनसँग) राख्नु जरुरी हुन्छ । यसको कमी यो पुस्तकमा धेरै ठाउँमा भएको छ ।
महाकवि विद्यापति भारतीय कवि हुन्, जसका रचनाहरू कर्णाटवंशीय राजा हरिसिंह देवका दरबारी पण्डितहरू र त्यसपछि मल्ल राजाका दरबारमा प्रवेश पाएका मिथिलाका पण्डितहरूका माध्यमबाट काठमाडौँ उपत्यका छिरेका थिए । सर्वप्रथम यो जानौँ, उनी चौधौँ शताब्दीको उत्तराद्र्धका कवि हुन् ।
वास्तवमा सदेह उपस्थित नहुने व्यक्तित्वको जीवनी लेख्दा दस्ताबेजहरूको उल्लेख गर्नु विश्वसनीयताका लागि आवश्यक हुन्छ । साथै उनका समकालीन अथवा निकै लामो समयसम्म साथमा रहेका कार्यकर्ता, सहयोगीको पनि विचार र अनुभव समेट्नुपर्छ । कलमका धनी नेपालजीले त्यसलाई किन आवश्यक ठानेनन् ! भन्न सकिन्न ।
महेन्द्रनारायण निधिको राजनीतिक जीवनको मात्र कुरो भए केही छैन, उनको सामाजिक जीवनबारे पनि लेख्ने आवश्यकता देखिँदा त्यसबारे धेरै सामग्री स्रोतहरूबाट जुटाउन सकिन्थ्यो । जसमध्ये म पनि एउटा छु, म उनको राजनीतिक दायित्वका साथै भाषा, साहित्य र संस्कृतिप्रतिको रुझानको साक्षी थिएँ ।
लेख्दाखेरि समय (तिथि–मिति)को तालमेल कतै–कतै नभएको जस्तो देखिन्छ । त्यो सम्भवतः शीर्षक बाँड्दा हुन गएको हुन सक्छ । राजनीतिक घटना क्रममा अनेकौँ महत्त्वपूर्ण प्रसंग उल्लेख भएर आएका छन्, जसका बारेमा निधिजीसँग बस्नेहरूलाई पनि थाहा नहुन सक्छ । यी सूचनाहरूले नयाँ पिँढीका राजनीतिकर्मी युवाहरूलाई प्रेरणाको काम दिन सक्छ ।
मेरो ध्यान यस पुस्तकको पृष्ठ ११२ बाट सुरु भएको ‘मधेस ः इतिहास र वर्तमान’ शीर्षकको उपखण्डबाट लेखिएका प्रसंगहरूमा एउटा प्रसंग मैथिली भाषाका महान् कवि विद्यापति बारेमा पनि छ । पृष्ठ ११३ मा उल्लेख छ— तेह्रौँ शताब्दीमा विद्यापतिले लेखेका डेढ दर्जन जति कविता अहिले पनि उपलब्ध छन् । एउटा कविता नेवारी भाषामा लेखिएको छ । उच्चकोटिको उक्त कवितामा महादेवको प्रेमको वर्णन छ रे । कुनै पनि पाठकले त्यो कविताको राजनीतिक उन्तर्य बुझ्न सक्छ ।
कवितामा राजनीतिका बारेमा, अर्थनीतिका बारेमा, कौटिल्यको अर्थशास्त्रका बारेमा पनि उल्लेख भएकाले कविले कौटिल्यको अर्थशास्त्र पढेर त लेखेका होइनन् ? प्रश्न जो कसैको मनमा उठ्न सक्छ । तेह्रौँ शताब्दीमा पनि त्यस्ता कवि थिए भने मिथिला संस्कृति कति बृहत् थियो होला । कल्पना गर्न सकिन्छ ।
यो प्रसंग हाम्रा प्रिय लेखक र आत्मीय वरिष्ठ पत्रकार नेपालजीले किन लेख्नुभयो ! लेख्नैपर्ने भयो भने तथ्य पत्ता लगाएर लेख्नुपथ्र्यो । यत्रो महत्त्वपूर्ण व्यक्तित्वको जीवनी लेख्दाखेरि धेरै विचार पुर्याउनुपर्ने हुन्छ । धेरैले चासो लिएर पढ्छन् तर तथ्य गलत आयो भने !
महाकवि विद्यापति भारतीय कवि हुन्, जसका रचनाहरू कर्णाटवंशीय राजा हरिसिंह देवका दरबारी पण्डितहरू र त्यसपछि मल्ल राजाका दरबारमा प्रवेश पाएका मिथिलाका पण्डितहरूका माध्यमबाट काठमाडौँ उपत्यका छिरेका थिए । सर्वप्रथम यो जानौँ, उनी चौधौँ शताब्दीको उत्तराद्र्धका कवि हुन्, जसका साढे तीन सय ‘गीति रचना’ (कविता हैन) नेपालको राष्ट्रिय अभिलेखालयबाट उतार गरी निकै पहिला भारतमा प्रकाशित भइसकेका छन् । अहिले पनि विभिन्न संग्रहमा अलपत्र छन्, जसमध्ये लगभग पचास जति गीत यो पंक्तिकारको संग्रहमा पनि छ, जो मिथिलाक्षरमा लेखिएका छन् । उनले नेवारीमा होइन, मिथिलाक्षरमा लेखेका थिए, जसका धेरै अक्षर नेवारी लिपिसँग मिल्ने गर्छ ।
पुस्तकमा अनेकौँ राजनीतिक परिवर्तन र निधिजीका अडानबारे खुलस्त आएको छ तर पनि केही प्रसंग जसले उहाँको आफ्नो अडानप्रतिको दृढतालाई स्थापित गर्न सक्थ्यो, ती छुटेको जस्तो देखिन्छ ।
जे भए पनि पुस्तक पठनीय छ र मधेसका सपुत नेपालका निधि महेन्द्रनारायण निधिलाई चिनाउने भरमग्दुर प्रयास पुस्तकमा गरिएको छ । कतै आगामी संस्करण हुने वेलामा अवश्य पनि त्यसमा सुधार गरिने आशा गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल
-
‘नेपालले अब ग्लोबल साउथको डिप्लोमेशीलाई प्राथमिकता दिनुपर्छ’
-
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार