शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

विश्वविमोहन श्रेष्ठका तीन कविता

शनिबार, १९ माघ २०८१, १७ : ००
शनिबार, १९ माघ २०८१
  • १) एक बैँस गजबले मातूँ लाग्छ

कहिलेकाहीँ उमेरलाई
बच्चाको ठट्टाले पनि गिजोल्छ 
टुकुचाको पानीले जस्तै
दुर्गन्धले पनि पिरोल्छ
गिर्जाघरको हरेक टाङटाङ टिङटिङमा
ब्युँझेर एउटा उच्छवास
मृत्युले नजिकैबाट चिमोट्छ 
लाग्छ जिन्दगी
खेर गएको वीर्यपातजस्तो 
खालि स्वप्नदोष भइरहेछ
वेश्याको यौनाचार–व्यभिचार
सिप्लिसले ग्रस्त सुकन्याले
निचोरेको पिपजस्तै रहेछ 
खै केके भनूँ
ठ्याम्मै अट्दै–नअटाउने 
आँखामा कसैको कहिल्यै कतै
जिन्दगी रजस्वलाले फालिने
रगतको फाल्साजस्तै रहेछ
तृष्णा–वितृष्णा
यो उकुसमुकुस, छटपटी र कोलाहल
बटुलेर छताछुल्ल वर्तमानलाई 
अँजुलीमा
नजन्मिएको तर
भोलि जन्मले छोराको अंशमा
नउघ्रिएको आकाशलाई
उघारेर
हत्केलामा
खियाउँदै दुःख/कष्ट र 
प्रपञ्चको एउटा डुङ्गा 
लाग्छ छाडी आऊँ 
टाढा कतै
एकान्तमा, सुनसानमा, चकमन्नमा
हेर वसन्तले मनपरी
नाङ्गो फूलहरूलाई
जता पायो त्यतै
म्वाइँ खाइरहेछ
सुटुक्क थाहै नदिई
स्वास्नी, छोराछोरीलाई
आफू पनि
बिर्सेर साँधसिमाना 
जिन्दगीको—
एक बैंस गजबले हाँसूँ लाग्छ 
एक बैँस गजबले नाचूँ लाग्छ 
जिन्दगीको के भरोसा
एक बैँस गजबले मातूँ लाग्छ ।
००

  • २) ॐ स्वाहा

दुवैतर्फ तैनाथ छन्
सशस्त्र/सशङ्क
खाइलाग्दा बर्दीका जवानहरू
अनुहारमा कालो घसेर
टोपमा स्याउलाको छतरी हालेर 
बङ्करमा यतिखेर
पर प्यादाहरू अघि लाएर
ताकमा बसेका छन्
पछिल्लो पङ्क्तिमा गोलबद्ध
जङ्गीका लाठ’साबहरू 
दूरदराज दूरबिनले नियालेर
चहलपहल खुपै बढेको छ ।

दुवैतर्फ मैदानमा यत्रतत्र 
हस्याङफस्याङ/दौडधूप 
हिनहिनाइरहेका घोडा 
मुख बनाइरहेका उँट 
फ्युज तोडिएका हथगोला 
सबै तम्तयार छन्
आदेशको प्रतीक्षामा यस बेला 
मन्त्री महोदय,
बडो सकसमा देखिनुहुन्छ 
शोकमग्न तर गतिछाडा 
घडी, पला विचार गर्दा 
समय पग्लेर धेरै तल 
सतहमा बग्न लागिरहेछ
फुकिने हो कुन 
बेला शङ्खको नाद
र हुने हो कुन बेला
रक्तपात
हात्तीको लस्करले घेरा हालेर
छोड्दै गोलीका पर्रा
कुन बेला बर्सने हो
आकाशबाट अग्निका असीम ज्वाला
सन्त्रस्त/सशङ्क
त्राहिमाम् ! त्राहिमाम् !!
कति बालिरहनु हरे !
घरीघरी तेल हालेर
यस्तोमा पनि
यो माटोको पाला ?
खै कसले जित्ने हो र 
लाउने हो गलामा 
विजयका माला
आफ्नै बन्धु बान्धव मारेर
रचेको थियो अर्जुनले महाभारत 
सारा संसार जितेर पनि
हारेको थियो भनिन्छ, अलेक्जेन्डर ।

खै, अब को हुने हो 
त्यो अलेक्जेन्डर ? 
खै अब कसले रच्ने हो 
त्यो महाभारत 
सारा हिन्दकुश 
मुठीमा खिचेर पनि
सन्यासमा हिँड्नुपर्ने
त्यो अशोका दि ग्रेट, –सेकेन्डर ?
नानाभाँती र नाटीकुटीमा हरे ! 
सधैँ यो मानवताको विजात्रा 
कुन आमाको कोखबाट
कहिले जन्मिने हो
एकै एउटी सुपात्रा ?
ॐ स्वाहा !
ॐ स्वाहा !!
ॐ स्वाहा !!!
००

  • ३)  म जिन्दावाद गाइरहेछु

ती जो बिस्तारै भत्किरहेछन् पर्खालहरू 
त्यसलाई बाजेले रचेको थियो 
ती जो बिस्तारै खुलिरहेछन 
दलान, सिँढी र ढोकाहरू 
त्यसलाई बाबुले रोकेको थियो 
ती जो बिस्तारै मेदिँदै गइरहेछन् 
साँध, सिमानाका लक्ष्मणरेखाहरू 
त्यसलाई दाजुले कोरेको थियो
ती जो अहिले लथालिङ्ग र छरफस्ट देखिन्छन्
पूजाचौका र भण्डारहरू
त्यसलाई आमाले सजाएकी थिई
आज यो अतीतको सम्पन्न पुख्यौली घर
जगैबाट भत्किरहेछ
त्यसको अस्तित्वलाई कुल्चन
यी छोराहरू उत्पात मच्चाइरहेछन् 
म निर्माण र विध्वंसको दोसाँधमा उभिएर 
हतास, अवाक् टोलाइरहेछु 
लौ हेर यी छोराहरू 
विजयको खुसियालीमा
अगिबाटै उत्सव मनाइरहेछन् ।

भन्छन् छोराहरू
कोही अट्दै अटाएनन् 
त्यस घरमा कहिले कतै 
हररात मुर्कट्टाले आएर 
तिनीहरूलाई तर्साइरह्यो 
मुर्कट्टाको भयले 
कोही ब्युँझनै सकेन 
कोही उठ्नै सकेन 
ती जो उठे, तिनीहरू
वायुवेग लिएर आकाशमा उड्नै सकेनन् 
त्यो घर अँध्यारो र साँघुरो छिँडीमा 
तिनीहरूका सपनाहरू थिचिए
उत्साह र आकांक्षाहरू कुल्चिए
मनभरि अनन्त पीडा र फोहर खटिरा लिएर
तिनीहरू त्यसै नरककुण्डमा बसिरहे ।

आज तिनीहरू अनन्त शक्ति लिएर
त्यस नरककुण्डबाट
माथि उठिरहेछन्
हत्केलाले घामलाई छेक्ने
दुस्साहसका विरुद्ध ट्रेन्चभित्र लुकेर
दमनको कुचक्र चलाउने
हातहरूका विरुद्ध
सङ्गीनका आडमा समयको
गतिलाई अवरुद्ध पार्ने
यन्त्रहरूका विरुद्ध
आज तिनीहरू सडकमा ओर्लेर
धावा बोलिरहेछन् 
वर्षौंदेखि कुँज्याएर
कैद गरी राख्ने त्यस फासिस्ट घरका विरुद्ध 
आज तिनीहरू त्यस घरलाई जगैबाट भत्काइरहेछन् ।

इतिहासमा पुनर्जागरण लेखिने
यस घडीमा उभिएर
म निर्विकार आफ्नो पुर्खाको घर 
भत्केको हेरिरहेछु
त्यस घरको ढुङ्गा, ढुङ्गा 
माटो, माटो गनाउने 
सिनोको अनुभव गरिहेछु 
ती सबभन्दा माथि उठेर 
दमनका विरुद्ध लड्ने
ती छोराहरूको समर्थन गरिरहेछु 
विवशता र बाध्यताको 
बन्धनबाट फुत्केर
सम्पूर्ण हलाहललाई पिउन गाइरहेछु 
ती जो आज
दासताका विरुद्ध लडिरहेछन् 
ती छोराहरूको
म जिन्दाबाद गाइरहेछु ।
०००
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विश्वविमोहन श्रेष्ठ
विश्वविमोहन श्रेष्ठ
लेखकबाट थप