शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, नेपालसहित चार देशको सहभागिता

शनिबार, १९ माघ २०८१, १६ : ३६
शनिबार, १९ माघ २०८१

इटहरी । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।

यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन्।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ। यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेका छन्।

प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथिको रूपमा बोल्दै अन्तर्राष्ट्रिय प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए ।

मन्त्री भण्डारीका अनुसार, यस्ता खेलकुद गतिविधिहरूले प्रदेशको खेल क्षेत्रको विकास मात्र नभई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्। मन्त्री भण्डारीले प्रदेश सरकारले आउँदो वर्षको बजेटमा सुटिङबल खेललाई समेट्ने प्रतिबद्धता जनाएका छन् , जसले नेपालमा सुटिङबलको विकासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सरकारले प्रदेशस्तरमा खेलकुद संरचनाहरू विकास गर्न, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजनाका लागि बजेटको व्यवस्था गर्न आवश्यक पहल मन्त्री भण्डारीले बताए । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रदेश सरकारका लागि गर्वको विषय भएको भन्दै उनले यसको निरन्तरताको पक्षमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । 

कार्यक्रममा एसियन सुटिङबल फेडरेसनका महासचिव रवीन्द्रसिंह तमोर प्रतियोगिताको महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै महासचिव तमोरले देशहरू बीचको मित्रता सुदृढ गर्न यस्ता खेलकुद कार्यक्रम प्रभावकारी हुने बताएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले खेलाडीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने मात्र नभई, देशहरूबिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने भूमिका खेल्ने एसियन सुटिङबल फेडरेसनका महासचिव रवीन्द्रसिंह तमोरले बताएका छन् । 

गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न सुटिङबल वर्ल्ड च्याम्पियनसिपमा नेपालले उल्लेखनीय प्रदर्शन गरेको थियो। महिला र पुरुष दुवै टिमले तेस्रो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा कुल ११ देशको सहभागिता रहेको थियो। नेपालले यसपटकको प्रतियोगितामा आफ्नो प्रदर्शनलाई अझ सुधार गर्दै पदक तालिकामा अग्रस्थान हासिल गर्ने लक्ष्य राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप