शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : रङ्गमञ्च बहस

अभिनय प्रशिक्षणका लागि हरिहर शर्माको त्यो प्रयत्न

शनिबार, १९ माघ २०८१, १६ : ३०
शनिबार, १९ माघ २०८१

२०३४ सालतिर भारतको चण्डीगढमा दुईमहिने ‘इन्टरनेसनल थियटर वर्कसप’ सञ्चालन भएको थियो । नेपालबाट कलाकार हरिहर शर्मा (प्रज्ञा–प्रतिष्ठानमा कार्यरत) र इन्द्रनारायण श्रेष्ठ (सांस्कृतिक संस्थानमा कार्यरत) त्यस वर्कसपमा सहभागी हुन पुगेका थिए । 

त्यहाँ शर्माले लोकनाटक, ओपेन–एयर थियटर (खुला रङ्गमञ्च) आदिबारे प्रशिक्षण मात्रै लिएनन्, केही नाटक (मिर्जा साहिबां लगायत) समेत खेले । 

त्यहाँ रङ्गमञ्चसम्बन्धी आफूले आर्जेको अनुभव उनले प्रज्ञा–प्रतिष्ठानका तत्कालीन सदस्य–सचिव सत्यमोहन जोशीलाई सुनाए । प्रज्ञा–प्रतिष्ठानले संगीत, वाद्य, नृत्य र अभिनयको प्रशिक्षण चलाउनुपर्ने शर्माको अनुरोध र अपेक्षा थियो । आफूले यी कुरा प्रस्ताव, सुझाव वा चाहनाका रूपमा जोशीलाई सुनाएको शर्मा बताउँछन् । 

कला, संगीत र लोक–साहित्यका मर्मज्ञ तथा खोजकर्ता जोशीलाई शर्माको सुझाव सराहनीय लाग्यो । जोशीले प्रशिक्षण सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाए र २०३६ सालदेखि प्रज्ञाले कलाका चार विधा (गायन, नृत्य, वाद्य र अभिनय)मा प्रशिक्षण दिन थाल्यो । 

harihar sharma (1)

अम्बर गुरुङ, प्रचण्ड मल्ल, वसन्त श्रेष्ठ, गोपालनाथ योगी, हरिहर शर्मा, शकुन्तला गुरुङ लगायतले अभिनयको कक्षा दिएका थिए । पहिलो वर्ष (ब्याच)मा सुनील पोखरेल, शैलेन्द्र सिम्खडा, कुमार श्रेष्ठ, चन्द्रमाला शर्मा, राजु सिलवाल लगायतले अभिनयको प्रशिक्षण लिएका थिए । रमेश बुढाथोकी, प्रकाश सायमी, वीरेन्द्र हमाल आदि पनि प्रज्ञाकै उत्पादन हुन् ।

‘मलाई लाग्छ नेपालका लागि अभिनय प्रशिक्षणको सुरुवात ऐतिहासिक थियो । नृत्य र संंगीतका विषयमा नेपालीले भारतका स्कुल वा युनिभर्सिटीबाट सिक्ने गर्थे तर अभिनय सिक्ने कार्य भएको थिएन,’ गत साताको भेटमा वरिष्ठ अभिनेता हरिहर शर्माले भने, ‘मैले सम्पूर्ण श्रेय आफैँलाई त दिन्नँ तर त्यतिबेलाको सिंगो प्रज्ञा–प्रतिष्ठान टिम, जसको सदस्य–सचिव सत्यमोहन जोशी हुनुहुन्थ्यो, उहाँको जोडबलले प्रशिक्षण कार्यक्रम सम्भव भएको थियो ।’

प्रज्ञा–प्रतिष्ठान खोल्नुको उद्देश्य नै प्रशिक्षण कार्यक्रम चलाउनु रहेको शर्माले सुनेका थिए । ‘त्यहाँ सबै किसिमका कलाकारलाई तालिम दिने, अभ्यास गराउने र तिनैबाट प्रदर्शन गराउने उद्देश्य राखिएको थियो भन्ने सुन्थेँ । त्यहीँ होस्टेल राख्न भनिएको थियो रे,’ उनी भन्छन्, ‘त्यहाँको पछाडिपट्टिको बिल्डिङ होस्टेलका लागि हो । अहिले जहाँ प्रेस छ, त्यो मेसका लागि थियो ।’ 

harihar sharma (2)

शर्मा २०३० सालमा प्रज्ञा प्रतिष्ठान पुगेका थिए, कलाकारको रूपमा जागिर खान । त्यस अघिसम्म प्रज्ञा प्रतिष्ठानले नाटक वा कलाका विषयको प्रशिक्षण दिँदैनथ्यो । स्कुल–कलेजमा अभिनय गरेकै अनुभवका आधारमा शर्माले प्रज्ञा–प्रतिष्ठानमा कलाकारको जागिर पाएका थिए । 

उनी गएपछि सुरु भएको प्रशिक्षण कार्यक्रम २०५० सालसम्म चलेर बन्द भयो । २०५३ सालमा शर्मा सांस्कृतिक संस्थान (नाचघर)मा महाप्रबन्धक भएर पुगे र त्यहाँ पुनः प्रशिक्षणको कार्यक्रम चलाए । 

  • त्यो जीर्ण नाचघरको उत्थान 

सिंहदरबारभित्र निर्माण भएको नाचघर (सिंहदरबार नाचघर) ठुलाबडाका लागि मात्रै थियो । जहाँ नाटक लगायत मनोरञ्जनका गतिविधि हुन्थे । 

जनस्तरको पहिलो नाचघर २०१६ सालमा निर्माण भयो । चारैतिरबाट पायक पर्ने रानीपोखरीको पश्चिमोत्तर कोणमा ५ रोपनी ४ आना २ पैसा जग्गामा बनेको राष्ट्रिय नाचघर २०१७ सालमा आगलागीमा पर्‍यो । २०१९ सालमा पुनः निर्माण सम्पन्न भएको यो नाचघर २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्त्व विभाग, कहिले सूचना विभाग त कहिले प्रसार विभाग अन्तर्गत रह्यो, (राष्ट्रिय सांस्कृतिक महोत्सव–२०५३ का अवसरमा सांस्कृतिक संस्थानले प्रकाशन गरेको प्रतिवेदन) ।

भारतको चण्डीगढमा रङ्गमञ्चसम्बन्धी आफूले आर्जेको अनुभव उनले प्रज्ञा–प्रतिष्ठानका तत्कालीन सदस्य–सचिव सत्यमोहन जोशीलाई सुनाए । प्रज्ञा–प्रतिष्ठानले संगीत, वाद्य, नृत्य र अभिनयको प्रशिक्षण चलाउनुपर्ने शर्माको अनुरोध र अपेक्षा थियो । 

‘आगलागीमा परेर खत्तमै भएको थियो । पछि रानी रत्नले केही पैसा दिएर जीर्णोद्धार गरेको भन्ने सुन्थेँ,’ शर्मा भन्छन्, ‘जस्ताको छानो पुरानो हुँदै गएपछि चुहिन थाल्यो । ढलको समस्या पनि थियो । एकपटक त राजा महेन्द्रले नाटक हेर्दाहेर्दै पानी परेर भेल पस्यो र महेन्द्रले खुट्टा उचाल्नुपरेको थियो ।’

२०२९ असार ५ गते सञ्चार संस्था ऐन (२०२८) अन्तर्गत सांस्कृतिक संस्थानको स्थापना भयो, जुन राष्ट्रिय नाचघरकै विकसित रूप हो । जहाँ स्वस्थ मनोरञ्जनका नाममा राजसंस्था र पञ्चायती व्यवस्थालाई मलजल गर्ने कार्यक्रम हुन्थे, जसलाई हेर्नका लागि जनताले टिकट किन्थे । अहिलेजस्तो मनोरञ्जनका माध्यम वा साधन पर्याप्त नभएको पञ्चायतकालमा सांस्कृतिक संस्थान ठिकै फस्टाएको थियो । 

यो संस्थान पञ्चायतकालभरि विशेषतः राजा र रानीको जन्मदिन मनाउन, प्रजातन्त्र दिवस मनाउन, दसैँको अवसरमा कार्यक्रम गर्न, राष्ट्रिय एकता दिवस (पुस २७) मनाउन, नयाँ वर्ष मनाउन, आफ्नो वार्षिकोत्सव (असार ५) मनाउनमै केन्द्रित रह्यो । यसले ‘महेन्द्र गीतमाला’ नामक गीत–गजलको विशेष कार्यक्रम समेत प्रदर्शन गरेको थियो ।

राष्ट्रिय एकता दिवसका अवसरमा विशेष कार्यक्रम प्रदर्शन गर्दै आएको संस्थानले २०३८ देखि २०४६ सालसम्म राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गर्‍यो । यो महोत्सव २०४६ सालमा आठौँपटक पोखरामा सम्पन्न भएपछि बजेटका कारण बन्द भयो ।

harihar sharma (3)

२०५० साल अघिसम्म संस्थानले आफ्नो दैनिक कार्यक्रम प्रदर्शन अन्तर्गत धार्मिक, सामाजिक तथा हास्य नाटकका अतिरिक्त गीति नाटक, नृत्य नाटक, प्रहसन, लोकगीत, आधुनिक गीतका साथै परम्परागत शास्त्रीय नृत्य तथा लोक नृत्यहरूको प्रस्तुति रहेको कार्यक्रम ‘फूलबारी’ लगायत प्रदर्शन गर्दै आएको थियो । 

२०५० असार ११ र १२ गते भएको नेपाल बन्दका क्रममा संस्थान पनि तोडफोडमा पर्‍यो र क्षतिग्रस्त संस्थानका सम्पूर्ण कार्यक्रम स्थगित भए । 

बन्द र जीर्ण अवस्थाको संस्थानलाई उठाउने आँट र योजनासहित हरिहर शर्मा सांस्कृतिक संस्थानको जीएम भएका थिए । गएकै वर्ष ‘राष्ट्रिय सांस्कृतिक महोत्सव–२०५३’ सम्पन्न गर्न शर्मा सफल भए । 

उनले महोत्सवसँगै कलाकार प्रशिक्षण तथा उत्पादन; राष्ट्रिय नाचघर मर्मत सुधार; क्षेत्रीय सांस्कृतिक कार्यक्रम; नेपाली वाद्ययन्त्रहरूको अनुसन्धान, संकलन र प्रदर्शन लगायत कार्यक्रम अगाडि बढाएका थिए । 

२०५५ असार २९ गते नाचघरमा राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने कार्यक्रम थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुख्य अतिथि थिए । कार्यक्रम सुरु भएदेखि पानी थाल्यो । पानी र भेल बढ्दै जाँदा कार्यक्रम हलभित्र ढल पस्यो । हरिहर लगायत कर्मचारी ढल खोल्न पुगेका थिए । 

‘त्यसपछि मलाई लाग्यो— अब मर्मत–सम्भार मात्रै गरेर हुँदैन । नयाँ नाचघर बनाउनैपर्छ । उसो त मअघिका जीएम साबहरूले पनि कोसिस गरेका थिए । तर के के मिलेन र बन्न सकेको थिएन,’ हरिहर भन्छन्, ‘म एउटा भिजनसहित नै सांस्कृतिक संस्थानमा गएको थिएँ । त्यहीँ साल सुरु गरेर २०५८ मा नयाँ भवन तयार भयो ।’

संस्थानमा सानो र ठुलो गरी दुईवटा हल छन् । ठुलो हल ७०० सिट क्षमताको र सानो हल १०४ सिट क्षमताको छ । 

अहिले संस्थानले अभिनय, नृत्य, गायन र वाद्यको प्रशिक्षण दिँदै आएको छ । वाद्यमा बाँसुरी, तबला र मादलको प्रशिक्षण दिइन्छ ।

harihar sharma (5)

  • नाटक स्कुल खोल्ने चर्चा

पछिल्लो समय हामीकहाँ अभिनयको प्रशिक्षण नाचघरसँगै निजी नाटकघरहरूले सञ्चालन गर्दै आएका छन् । यद्यपि प्रशिक्षार्थीको आकर्षण निजी नाटकघरतिरै बढी छ ।

नेपालमै एउटा नाटक स्कुल चाहिन्छ भन्ने आवाज पछिल्लो समय अलि चर्कै गरी उठेको छ । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल रङ्गमञ्चसम्बन्धी पढाइ हुने भारतको चर्चित स्कुल ‘नेसनल स्कुल अफ ड्रामा’ (एनएसडी)को एउटा च्याप्टर (शाखा) नेपाल ल्याउन लागेको र त्यसका लागि धेरै काम अगाडि बढेको बताउँछिन् । 

‘निजी तथा सरकारी संस्थाले तालिम दिएर सर्टिफिकेट दिए पनि युनिर्भसिटीको मान्यताजस्तो हुँदैन । हिजो हामीले गुरुकुलमा नाटक पढाएर सर्टिफिकेट त दिन्थ्यौँ तर त्यसको भ्यालिड थिएन । त्यसैले एनएसडीको एउटा शाखा नेपालमा ल्याउने पहल हामीले गरेका छौँ,’ अघिल्लो साताको भेटमा उनले रातोपाटीसँग भनिन्, ‘अहिले डा. अर्जुन कार्कीहरूले एउटा युनिभर्सिटी खोल्दै हुनुहुन्छ । उहाँहरूसँग पनि जोडिएर एउटा नाटक स्कुल खोल्न सकिन्छ कि भन्ने छ । एकेडेमीले एउटा छुट्टै नाटक स्कुल खोल्न सहज हुँदैन, यसका लागि कसै न कसैसँग मिलेर अगाडि बढ्नुपर्छ । हामीले सम्भव भएसम्मका निकायसँग कुरा गरिरहेका छौँ ।’

हरिहरका अनुसार, नेपालका विश्वविद्यालयमा आबद्ध एक नाटक स्कुल चाहिन्छ भन्ने आवाज पञ्चायतकालदेखि नै उठ्दै आएको हो । 

harihar sharma (4)

‘एकेडेमीमा युनिभर्सिटीका प्रोफेसरहरू पनि सदस्य भएर आउँथे, हामीले उनीहरूलाई भन्थ्यौँ— एउटा नाटक स्कुल सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुस्,’ हरिहर भन्छन्, ‘युनिभर्सिटीले नाइँ भनेको होइन तर प्राविधिक रूपमा मिलाउन समस्या भयो ।’ 

नाचघरमा महाप्रबन्धक भएर आएपछि पनि उनले नाटक स्कुल खोल्ने प्रयत्न गरेका थिए । ‘हामीले युनिभर्सिटीसँग पनि कुरा गरेका थियौँ । तर एकेडेमिक क्यालिफिकेसनको कुरा उठ्यो । नाटक मात्रै पढाउने स्कुल खोज्न सहज रहेनछ । नाटक पढेर निस्केपछि त्यो प्रमाणपत्रले सरकारी जागिरमा पनि मान्यता हुनुपर्छ । त्यसका लागि नाटकसँगै अन्य केही विषय अनिवार्य पढ्नुपर्ने भयो, ताकि सरकारी सेवामा जान सहज होस्,’ हरिहर भन्छन्, ‘विश्वविद्यालयसँग आबद्ध हुने भएपछि यी कुरामा स्पष्ट हुनुपर्ने रहेछ । एकेडेमिक क्वालिफिकेसनलाई नजोडी युनिभर्सिटीले एफिलिएसन नदिने रहेछ । यी विविध कारण ढिलाइ हुन पुग्यो, त्यसपछि म पनि सेवानिवृत्त भएँ ।’ 

उनका अनुसार, प्रक्रिया पुर्‍याएर जाने हो भने नाटक स्कुल खोल्न समस्या छैन । २०६३ सम्म नाचघरको जीएम रहेका शर्मा पछि संगीत तथा नाट्य एकेडेमीको उपकुलपति भए । त्यतिबेला नेपालमा निजी तवरले सञ्चालित संगीतका कक्षा वा तालिमलाई युनिभर्सिटीसँग जोड्ने वा मान्यता दिनका लागि काम भएको थियो ।

कुलपति निशा शर्मा पोखरेलका अनुसार, त्यसको प्रक्रिया अहिले पनि अगाडि बढिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप