शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : रङ्गमञ्च बहस

‘म नाचघरको पहिलो ब्याचको विद्यार्थी हुँ, यसो भन्न पाउँदा गर्व लाग्छ’

शनिबार, १९ माघ २०८१, १६ : ००
शनिबार, १९ माघ २०८१

मैले २०५३ सालमा गोरखापत्रमा सूचना देखेँ, जसमा नाचघरमा प्रशिक्षणका लागि आवदेन मागिएको थियो । 

विज्ञापन देखेपछि नाचघर खोज्दै जमल पुगेँ । पुरानो घरको गेटमा प्रभाकरदेव शर्मासँग भेट भयो । उहाँलाई टीभीमा देखेको थिएँ । त्यहाँ भेट्दा के–के न भएजस्तो भयो । उहाँसँग कुराकानीपछि फर्म भरेँ । वैकल्पिकमा नाम निस्कियो । नाम निस्किएका हेटौँडाका एक व्यक्तिले छाडेपछि मैले नाचघरमा नाटक पढ्न पाएँ । पछि त्यहाँबाट स्कलरसिप पनि मिल्यो । त्यो समय नाचघरले हामीलाई तीन सय रुपैयाँ गाडी भाडाको रूपमा दिन्थ्यो । 

म नाचघरको पहिलो ब्याचको विद्यार्थी हुँ, यसो भन्न पाउँदा गर्व महसुस हुन्छ । हामीलाई हरिहर शर्मा, प्रभाकरदेव शर्मा, सुनील पोखरेल, वीरेन्द्र हमाल, अनुप बरालले पढाउनुहुन्थ्यो । सुरुमा हामी १५ जना थियौँ, पछि ७–८ जना भयौँ । 

त्यहाँबाट पासआउट हुने बेलासम्म तीन नाटक गरिसकेका थियौँ । अन्तिम नाटक थियो, जाँ पाल सात्र्रको ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’, जसलाई सुनील पोखरेलले निर्देशन गर्नुभएको थियो । प्रशिक्षणपछि हामीलाई तत्कालीन संस्कृतिमन्त्री शरदसिंह भण्डारीको हातबाट प्रमाणपत्र दिइएको थियो । 

एक वर्षे कोर्स सकिएदेखि २०५८ सम्म मैले नाट्य महोत्सवहरूमा भाग लिएँ । महोत्सवमा भाग लिएको र त्यहाँबाट जितेका प्रमाणपत्र थुप्रै छन् ।

नाचघरका विद्यार्थीले आख्यान कला समूह भनेर सञ्चालन गरेका थियौँ । त्यसबाट थुप्रै सडक नाटक, स्टेज नाटक गर्‍यौँ । नाचघरबाट पासआउट हुने बेला अर्काे एउटा संस्था ‘सान’ खुल्यो । जसमा कृष्ण शाह यात्री अध्यक्ष थिए । सो संस्थामार्फत ‘रणदुर्लभ’ नाटक मञ्चन गरियो । यस्तै वसन्ती नाटकमा मैले मुखियाको भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ । 

०५९ तिर नाचघरले अनुप बरालको निर्देशनमा ‘बरै’ नाटक मञ्चन गर्‍यो, जसमा प्रभाकरदेव शर्मासँगै हामी विद्यार्थीले अभिनय गरेका थियौँ । त्यो समय हामीले नाचघरबाट नाटकको तलब लिएका थियौँ, तलबका रुपमा १५ सय रुपैयाँ आउँथ्यो । त्योभन्दा पछाडि पनि मैले थुप्रै नाटक गरेँ । 

अस्ति एउटा कार्यक्रम भएको थियो नाचघरमा । पुरानो विद्यार्थीको हिसाबले खबर आएको थिएन, आफैँ थाहा पाएर गएको थिएँ । त्यहाँ नयाँ–नयाँ थुप्रै साथीभाइको आसन ग्रहण भयो, नाम आयो । त्यही नाचघरको पहिलो विद्यार्थी मलाई कसैले नाम समेत लिएनन् ।

नाटक लिएर म रुसको ‘एल्टा सेकब थियटर’मा पुग्ने अवसर पाएको थिएँ । त्यहाँ हामीले ‘अभागी आमा’ भन्ने नाटक देखायौँ । त्यसपछि ‘सातुको कथा’सहित थाइल्यान्ड जान अवसर पाएको थिएँ । 

मैले शैली थियटरसँग मिलेर पनि काम गरेँ । यो क्रममा चार–पाँचवटा रसियन नाटक गरियो । पछिल्लो समय ‘सीता’ भन्ने सिरियलमा काम गरिरहेको छु । यसमा मैले बाजेको भूमिका निभाएको छु । त्यसअगाडि प्रभाकरदेव शर्मा निर्देशित ‘जीवन चक्र’ सिरियलमा पनि काम गरेको थिएँ । फिल्म अभिनय समेत गरेको छु । मैले खेलेको पहिलो फिल्म हो ‘अध्ययन’ । केहीअगाडि प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’, ‘अमेरिकन ब्वाइज’, ‘जिग्री’ लगायतमा पनि मेरो अभिनय छ । प्रकाश सपुतको आउँदो फिल्म ‘वसन्त’मा पनि अभिनय गरेको छु । यद्यपि चर्चामा छाउन नसकेको कलाकार हो म । 

त्यतिबेला पास आउट भएर निस्किँदै गर्दा हामी महान् भयौँ, धेरै गर्‍यौँ भन्ने भान हुन्थ्यो । त्यति बेलाका पत्रपत्रिकामा हाम्रो नाम र फोटो छापिएका हुन्थेँ । ती समयको पत्रपत्रिकाको कटिङ अहिलेसम्म राखेको छु । त्यो समय एकदमै गर्व महसुस हुन्थ्यो । पछिल्ला दिनहरूमा कताकता नमिठो लाग्छ । कताकता कलाकारहरूको मूल्याङ्कन नभएजस्तो, भएकाको पनि खोजिनिती नभएजस्तो महसुस हुन्छ । काम गर्दा पनि जुनियरसँग काम गर्नुपर्छ । सिनियरको महत्त्व, इज्जत नभएको अनुभूति हुन्छ । हामीले अग्रज गुरुप्रति एक किसिमको श्रद्धा देखाउँथ्यौँ र देखाउँछौँ । 

नाचघरमा थुप्रै प्रशिक्षक भित्रिएका छन् । अहिलेसम्म मैले प्राथमिकता भने पाएको छैन । आवश्यकता खोलिएको पनि थाहा हुँदैन । 

थापाथलीको गुहेश्वरी बालशिक्षा माविको म स्थायी शिक्षक पनि हुँ । नाटकले मात्र खान नपुग्ने भएर वैकल्पिक बाटोको रूपमा शिक्षक पेसा रोजेको हुँ । दालभात तरकारीको जोहोमा शिक्षकतिर लागियो । त्यसपछि फुर्सदको समय मात्रै रंगकर्ममा दिन थालेँ । नाचघरमा वार्षिक रूपमा विभिन्न कार्यक्रम समेत आयोजना हुने रहेछ । त्यस्ता कार्यक्रममा अहिलेसम्म कसैले सम्झिँदैन ।

अस्ति एउटा कार्यक्रम भएको थियो, नाचघरमा । पुरानो विद्यार्थीको हिसाबले खबर आएको थिएन, आफैँ थाहा पाएर गएको थिएँ । त्यहाँ नयाँ–नयाँ थुप्रै साथीभाइको आसन ग्रहण भयो, नाम आयो । त्यही नाचघरको पहिलो विद्यार्थी मलाई कसैले नाम समेत लिएनन् । त्यहाँका कर्मचारीले पनि चिन्छन् । पुराना विद्यार्थी सम्झनुपर्छ भन्ने पनि हुन्छ होला, त्यो नहुँदा चित्त दुख्यो ।

(रंगकर्मी वासु खनालसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वासु खनाल
वासु खनाल
लेखकबाट थप