शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : रङ्गमञ्च बहस

‘प्रगतिवादी गीतिनाटककै वर्चस्व छ’

शनिबार, १९ माघ २०८१, १५ : ३०
शनिबार, १९ माघ २०८१

‘नेपाली गीतिनाटकका प्रवृत्ति’ विषयमा विद्यावारिधि  गरेकी डा. बिन्दु शर्मालाई हामीले पाँच प्रश्न इमेल गरेका थियौँ । उनले लेखेको पठाएको जवाफ : 

  • गीतिनाटकको परिभाषा र यसको ऐतिहासिक पृष्ठभूमि प्रष्ट्याइदिनुस् ! 

गीतिसंवादमा प्रस्तुत गरिएको नाटक नै गीतिनाटक हो । यो मूल रूपमा नाटक हो तर यसको संवाद मञ्चमा जीवन्त सङ्गीत (लाइभ म्युजिक) सहित प्रस्तुत गरिन्छ । मञ्चमा प्रदर्शन गर्ने प्रयोजनले लेखिने भएकाले यसमा गीतसँगै सङ्गीत, पात्र, कथारेखा, द्वन्द्व, विचार आदिको पनि उचित संयोजन गरिएको हुन्छ । समग्रमा गीतिनाटक भन्नु गीत, सङ्गीत र नाटकको त्रिवेणी हो । 

नेपालीमा गिरीशवल्लभ जोशीको ‘पशुपतिसभा’ (१९६९) कृतिबाट गीतिनाटक लेखनको परम्परा प्रारम्भ भएको हो । पुरुरवा र उर्वशीको गान्धर्व विवाहलाई केन्द्रमा राखिएको यस पौराणिक नाटकमा संवादका साथै पात्रका भावनालाई अभिव्यक्त गर्न गीत र गजलको पनि प्रयोग भएको छ । 

  • काव्य वा खण्डकाव्यलाई गीतिनाटक बनाइनु एउटा कुरा भयो । वास्तवमा गीतिनाटककै रूपमा लेखिएका आधारमा नेपाली गीतिनाटकको काल विभाजन कसरी गर्न सकिन्छ ?

वि.सं. १९६९ बाट अहिलेसम्मको अवस्था हेर्दा नेपाली गीतिनाटकलाई दुई खण्डमा बाँडेर अध्ययन गर्न सहज हुन्छ : (क) पूर्वआधुनिक (१९६९—२००७) र (ख) आधुनिक (२००८—अहिलेसम्म) । पूर्वआधुनिक गीतिनाटक पौराणिक तथा लोककथामा आधारित छन् । तिनमा पारसी थिएटर परम्पराको प्रभाव देखिन्छ जसमा गीत, गजल, ठुमरी, दोहा, ठम्का आदिका साङ्गीतिक तालमा नृत्य गर्दै पात्रहरू आउँछन् । शृङ्गारिकताको प्रबलता र आदर्शवादी वैचारिकतामा यस्ता गीतिनाटक रचिएका छन् । 

आधुनिक नेपाली गीतिनाटकको प्रारम्भ मोहनबहादुर मल्लको ‘पागल दुनियाँ’ (२००८) बाट भएको हो । तत्कालीन नेपाली नाटकको शिल्प यसमा पाइन्छ । अतिकाल्पनिकता नभई त्यसमा सामाजिक समस्यालाई उठाएका हुनाले यस कालका गीतिनाटक प्रभावकारी छन् । यस अवधिमा लक्ष्मीप्रसाद देवकोटा, जनार्दन सम, बालकृष्ण सम, श्यामदास वैष्णव, माधव घिमिरे, रायन, उदय शर्मा, जीवन शर्मा, मोदनाथ प्रश्रित, शरद् पौडेल आदि गीतिनाटकमा सक्रिय प्रतिभा हुन् । रायनको ‘सिम्मा’ र घिमिरेको ‘मालती–मङ्गले’ ३० को दशकको अन्त्यदेखि ४० को दशकसम्म सानदार तरिकाले मञ्चन भएका थिए । गीतिनाटकमा महिलाको सहभागिता हेर्दा भद्रकुमारी घले, इन्द्रमणि दर्नाल र सावित्री जङ्गम थापाको भूमिका महत्त्वपूर्ण छ । माओवादी जनयुद्धका क्रममा नेपाली गीतिनाटक निकै मञ्चन भएका थिए र तिनले गहन संवेदनाका साथ विचारलाई सम्प्रेषण गर्ने विशिष्ट काम पनि गरेका थिए ।

आधुनिक नेपाली गीतिनाटकको प्रारम्भ मोहनबहादुर मल्लको ‘पागल दुनियाँ’ (२००८) बाट भएको हो । तत्कालीन नेपाली नाटकको शिल्प यसमा पाइन्छ । अतिकाल्पनिकता नभई त्यसमा सामाजिक समस्यालाई उठाएका हुनाले यस कालका गीतिनाटक प्रभावकारी छन् ।
  • प्रवृत्ति वा धार (विचारधारा) का दृष्टिले समकालीन नेपाली गीतिनाटकले के कस्ता मुद्दा वा आवाज उठाएका छन् ?

गीतिनाटक खासमा भुइँमान्छेका निम्ति अति प्रभावकारी हुन्छ । नेपाली गीतिनाटकको धार हेर्दा यसमा मूलतः यथार्थको आलोचना गर्ने र जनपक्षीय विचार दिने दुई प्रकारका छन् । ‘मालती–मङ्गले’ जस्ता दासमोचनका नाममा राजतन्त्रको महिमामण्डन गर्ने गीतिनाटक एकातिर छन् भने अर्कातिर ‘सिम्मा’ जस्ता जनताको वास्तविक पीडा र त्यसबाट मुक्तिमा सक्रियता प्रदर्शन गर्ने गीतिनाटक आएका छन् । घिमिरेपछि जनपक्षीय वा प्रगतिवादी गीतिनाटककै वर्चस्व छ । आर्थिक, लैङ्गिक, जातीय विभेदविरुद्धको वैचारिकता भएका र सबाल्टर्नको आवाजलाई केन्द्रमा राखेका यस्ता गीतिनाटक मूल्यवान् छन् । यिनले उठाएका मुद्दा पर्यावरणीय, उत्तरउपनिवेशवादी, अभिघात, महिला बेचबिखन आदि छन् ।  

  • कुनै समय नाचघरमा गीतिनाटक खुबै चल्थे । यतिखेर हाम्रा सहरबजारमा रङ्गमञ्चले टाउको उठाउन खोजेको देखिन्छ तर पूर्णाङ्की नाटकको तुलनामा गीतिनाटक लेखन वा प्रकाशन र मञ्चन त्यति देखिँदैन । यस्तो अवस्था कसरी र किन आयो भन्ने लाग्छ ? 

गीतिनाटक लेख्न सहज छ तर त्यसको मञ्चन निकै महँगो पर्छ किनभने गीतहरू सङ्गीतबद्ध भई तिनलाई गाउनुपर्ने पनि हुन्छ । अझ नेपालमा लाइभ म्युजिक र स्वरमा गीतिनाटक प्रदर्शन भएकै छैनन् । खास ‘अपेरा’मा त पर्दापछाडि वा अगाडि नै सङ्गीत र स्वरको सिर्जना हुन्छ; त्यसैले यसको टिकट महँगो हुन्छ ।

सङ्गीत, गायनका साथ गीतिनाटकमा परिवेशले पनि भाषाको काम गर्छ । यस्तो मञ्चीय व्यवस्था निकै खर्चिलो हुन्छ । अर्को कुरा, गीतिनाटक संवेगात्मक प्रस्तुतिमा आधारित विधा हो, यथार्थ हुँदाहुँदै पनि यसले दर्शकलाई भावुक बनाउँछ । हाम्रोमा गीतिनाटक प्रदर्शनका निम्ति उपयुक्त र भव्य अपेरा हाउस पाउनै गाह्रो छ । स्वतन्त्र प्रयोगको अभ्यास हुने समयमा परम्परागत कलाले बजारभाउ नपाउने सम्भावना अधिक हुन्छ, निजी नाटकघरले त्यस्तो रिस्क किन लिने ? सरकारी संस्थामा त्यस्तो काम कसले गर्ने ?

  • गीतिनाटक विधा समाजलाई किन आवश्यक छ ? 

गीतिनाटकले मान्छेको जीवनलाई मानवीय दृष्टिले सभ्य र समृद्ध बनाउँछ । इतिहास र वर्तमानका दुःखपीडालाई एकापसमा जोड्छ अनि अरूप्रति समानुभूति सिर्जना गर्छ । यसले विभिन्न कलामाध्यमलाई एकीकृत गरेर प्रभावकारी विचार सम्प्रेषण गर्छ । यो कलात्मक मनोरञ्जनको स्तरीय स्रोत पनि हो । यसले तत्कालीन सामाजिक, राजनीतिक मुद्दाहरूमाथि टिप्पणी र आलोचना गर्न पनि सघाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप