सहकारी क्षेत्रमा देखापरेका विकृति अन्त्य गर्न जरुरी छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी आजको आवश्यकता भएको बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए । उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए ।
उनले आम नागरिकहरूले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचतकर्ताहरु पीडित भएको बताए । सरकारले समयानुकूल सहकारी मैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताए । उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्याउन अभियानको रूपमा बिस्तार गर्न लागिपरेको बताए ।