शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
अछाम किशोरी मृत्यु प्रकरण

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या

शनिबार, १९ माघ २०८१, १० : ५६
शनिबार, १९ माघ २०८१

 सुर्खेत । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । 

अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ । 

प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिवर्तित नाम (६९ मङ्गलसेन ७३) र (६९ मङ्गलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरूको नाम नखुलाइएको अछामका प्रहरी, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । 

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मङ्गलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मङ्गलसेन ७६ को प्रेमिका रहेको खुलेको छ । ती बालकहरूले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए । ‘उनले दिन अस्वीकार गरिन,’ डीएसपी भण्डारीले भने, ‘सोही व्यक्तिले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन् ।’

यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ ।  बाख्रा चराउनका गएका दुई किशोरीको अघिल्लो शुक्रवार (माघ ११) गते हत्या भएको हो ।

यस्तो छ घटनाको नालीबेली

सरस्वतीले दुवै प्रस्ताव अस्वीकार गरेपछि ती बालकले इशराको सेतो दोपट्टा खोसी अर्का व्यक्ति (परिवर्तित नाम ६९ मङ्गलसेन ७३) लाई दिए । यस्तै सरस्वती खड्काले दोपट्टा नदिएपछि (परिवर्तित नाम ६९ मङ्गलसेन ७६) ले ईअरफोन खोसेका थिए । उक्त ईअरफोन इशराले ‘मेरो दाइको ईअरफोन हो’ भनेर फिर्ता मागेकी थिइन् । उनीहरूले नदिएपछि दोपट्टा खोसाखोस भएर विवाद बढ्यो । त्यही समयमा इशरा बाख्रा फर्काउन भनेर जङ्गलमा गएकी थिइन् । 

सरस्वती बसिरहेको ढुङ्गाको तलतिर उभिएकी थिइन् । सोही समयमा परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले सरस्वती उभिएको ठाउँमा गएर यौन सम्पर्क गर्न देऊ भनेर प्रस्ताव गरे । प्रहरीको प्रतिवेदनमा भनिएको छ, ‘सरस्वतीले विवाह गर्ने भएपछि मात्र दिन्छु भनेकी र परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले आफ्नो उमेर कम छ, ५–६ वर्षपछि विवाह गरौँला भन्दा सरस्वतीले प्रस्ताव अस्वीकार गरिन् । लगत्तै उनी तल खोलातर्फ फर्किइन् ।’

यौन सम्पर्क गर्न नदिएको झोकमा ती बालकले सोही स्थान नजिक रहेको ढुङ्गा समातेर सरस्वतीको टाउको पछाडिको भागमा प्रहार गरे । डीएसपी भण्डारीले भने, ‘सरस्वती ढलिन् । उनको मृत्यु भयो । त्यसपछि ती बालक हतार–हतारमा पहिला बसेको ढुङ्गामा पुगे । त्यहाँ हातले ढुङ्गा लडाउन खोज्दा ढुङ्गा लडाउन सकेनन् । जमिनको भित्तामा अडेस लगाई दुवै खुट्टाले उक्त ढुङ्गा ठेली धकेली लडाए ।’

त्यसपछि अर्का बालक परिवर्तित नाम ६९ मङ्गलसेन ७३ ले ढुङ्गा आयो भाग भनी कराएका थिए । अनुसन्धानको प्रतिवेदनमा भनिएको छ, ‘ढुङ्गा लड्यो भाग भनी कराई सरस्वती लडेको स्थान तर्फ गएका थिए । ढुङ्गा लडेको र परिवर्तित नाम मङ्गलसेन ७३ ले कराएको आवाज सुनी इशरा पनि सरस्वती ढलेको स्थानमा गइन् ।’

त्यो बेलासम्म सरस्वतीको मृत्यु भइसकेको थियो । इशरालाई ‘कसैलाई नभन्नु भनेर’ ती बालकले भनेपछि उनले अस्वीकार गर्दै घरतर्फ जान प्रयास गर्न थालेपछि ती बालकहरूले ढुङ्गा प्रहार गरेर उनको पनि हत्या गरेको प्रहरी प्रमुख भण्डारीले बताए । उनीहरूले इशराको निधारमा ढुङ्गा प्रहार गरेका थिए । सो पश्चात् परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले उनलाई ढुङ्गाले अनुहारको भागमा हानेर उनीहरू त्यहाँकाबाट भागेका थिए । 

मृतक दुई किशोरी एउटै परिवारका हुन् । ढकारी गाउँपालिका–८, का वडाध्यक्ष उद्धवराज उपाध्यायले दिएको जानकारी अनुसार सरस्वती इशराकी फुपू नाता पर्छिन् ।  कमलबजार नगरपालिका–१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा दुवै कक्षा ८ मा अध्ययनरत थिए । स्कुलमा राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कार्यक्रम चलिरहेकाले उनीहरू त्यो दिन घरमा परिवारलाई सघाउने र शनिवार खेल हेर्न जाने योजनामा थिए ।

यद्यपि उनीहरूको योजना भने सधैँका लागि असफल बन्यो । गोठाला गएका उनीहरू सधैँका लागि अस्ताए । बेलुका अबेरसम्म फर्किएनन्, बाख्रा भने फर्किए । उनीहरू घर नआएपछि परिवारले सोधी खोजी गर्न थाले ।  शनिवार बेलुका ६ बजेतिर दुवै किशोरीको शव सोही गाउँपालिकाको वडा नम्बर १ को सोडसा सामुदायिक वनको छिन्ने ओडार क्षेत्रमा भेटिएको थियो । 

दुई दिन अघि नै किशोरीको गाउँ पुगेका थिए उनीहरू

हत्या गर्ने बालकहरू घटना घटेको २ दिन अगाडी सोही पालिकाको डुफास्थित आफन्तको घरमा आएर बसेका थिए । घटना घटेको अघिल्लो दिन नै इशरालाई पटक–पटक फोन गरी भेट्न बोलाएका थिए ।  अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारी भन्छन्, ‘तर उक्त दिन उनीहरूको भेट भएन ।’

उनका अनुसार घटना घटेको दिन बिहानतिर भेट्ने योजना बनाएर ती दुई बालक बिहान १० बजेको समयमा मृतक किशोरी आउने बाटोमा पर्ने खोलामा गएर उनीहरूको बाटो ढुकी बसेका थिए । इशरा र सरस्वती दिउँसो १२ बजेतिर रिमरौवा खोला नजिक रहेको आफ्नो खोरबाट बाख्रा ल्याई जङ्गलतर्फ गए ।

जङ्गलमै उनीहरूको भेट भएको थियो । त्यस क्रममा मृतक सरस्वतीको मोबाइलबाट परिवर्तित नाम ६९ मङ्गलसेन ७३ को मोबाइलमा सेयरइट मार्फत गीत भिडियो सेयर पनि गरे । त्यसपछि जङ्गलमा रहेको छिन्ने ओडार भन्ने स्थानमा गई उनीहरू सँगै ठुलो ढुङ्गामा बसेका थिए । 

डीएसपी भण्डारीका अनुसार पक्राउ परेका ती बालकहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई प्रहरीको निगरानी कक्षमा राखिएको छ । थप अनुसन्धान कार्य भइरहेको भण्डारीले बताए ।   दुई किशोरीहरूको शवको पोस्टमार्टम भेरी अस्पताल बाँकेमा गरिएको थियो भने बुधवार गाउँकै खोलामा दाहसंस्कार गरिएको छ ।

घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरी टुङ्गोमा पुर्‍याइएको थियो । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली अछाम पुगेको थियो भने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द लगायतको विशेषज्ञ टोली पनि घटनास्थलमै पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप