काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको नवौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड मेलवादेवी गुरुङका सम्बन्धमा छ ।
नेपाली साङ्गीतिक आकाशमा कहिल्यै नअस्ताउने चम्किलो नक्षत्रको नाम हो – मेलवादेवी गुरुङ । गीत रेकर्ड गराउने प्रथम नेपाली महिलाका रूपमा उनी अमर बनेकी छिन् ।
ज्ञानबहादुर गुरुङ (लामिछाने) तथा सपनादेवी गुरुङ (लामिछाने) की जेठी छोरी हुन् – मेलवादेवी । वि.सं. १९५४ मा काफलबोट, रूम्जाटारमा जन्मिएकी मेलवादेवी सानैदेखि कोकिलकण्ठी थिइन् ।
कतिपयले उनको जन्मसाल १९५९ उल्लेख गर्दै आमाको नाम सप्तदेवी जनाएका छन् । चार– पाँच वर्षको उमेरमा आफ्ना साथीहरूसित गाईवस्तु चराउन जाँदा उनले गाएको गीत सुनेर लट्ठ नपर्ने कोही हुँदैनथे ।
एउटा दुर्गम गाउँ र सामान्य परिवारमा जन्मिएकी मेलवादेवीलाई उनको यही गायन प्रतिभाले काठमाडौँतिर डोर्यायो । यस्तो राम्रो गाउनेलाई दरबार पुर्याउनुपर्ने धेरैको सुझाव आएपछि हजुरबा ‘डिट्ठा’ कृष्णबहादुर गुरुङले वि.सं.१९६५ ताका डोकोमा बोकेर काठमाडौँ पुर्याएका हुन् ।
सिंहदरबारमा श्री ३ महाराज चन्द्रशमशेरसमक्ष उनले आफ्नो गायनकला प्रस्तुत गरिन् । स्वर सुनेर चन्द्रशमशेर निकै प्रसन्न भए ।
उनको स्वरको चर्चा दरबारभित्र समेत चल्न थाल्यो । तिनताक नर्तक, नर्तकी, गायक, वाद्यवादक तथा उस्तादहरूलाई दरबारमै राखेर गानबजान गर्ने दरबारको चलन थियो ।
चन्द्रशमशेरले मेलवादेवीलाई पनि दरबारमै राखेर ठुला–ठुला उस्तादहरूबाट सङ्गीत सिकाए । मेलवादेवीलाई उनका बाबु ज्ञानबहादुरले दरबारमा राख्न पहाडबाट ल्याएको भनाइ पनि छ ।
मेलवालाई बाबुले होइन, उनकै आमाले ल्याएको अर्को कथन समेत छ । जे होस्, मेलवादेवीले दरबारमा प्रसिद्ध उस्ताद पण्डित माधवप्रसाद, बालाप्रसाद शर्मा, गणपति, खेमचन्द्र आदि सङ्गीतज्ञबाट शास्त्रीय सङ्गीतको अभ्यास र गायनमा आफूलाई तिखार्ने अवसर प्राप्त गरिन् ।
मेलवादेवीको गायनकलाबाट श्री ३ चन्द्रशमशेर तथा उनकी महारानी बालकुमारीदेवी असाध्यै प्रभावित थिए । महाराज, महारानीबाट प्रशंसित तथा प्रोत्साहित मेलवादेवीको गायन दरबारभित्र तथा बाहिर कुनै पनि महत्त्वपूर्ण अवसरमा शोभाको विषय बन्न थाल्यो ।
महाराज सिकार खेल्न गएका बेलामा साथमा गएर होस् अथवा विदेशी अतिथिगणका सामु सिंहदरबारको आकर्षक बेलायती बैठकमा होस्, मेलवादेवीले गाउँदा जहिले पनि बक्सिस, पुरस्कार र प्रशंसाको ओइरो लागिरह्यो ।
उनले शास्त्रीय, आधुनिक तथा लोकगीत मात्रै होइन, भजन सुनाउँदा पनि सबै जना मन्त्रमुग्ध हुन्थे । स्वर जस्तै उनको रूप पनि अद्वितीय थियो ।
दरबारभित्र एकातिर उनको स्वरका ईर्ष्यालुहरू थिए । अर्कोतिर रूपका द्रोहीहरू पनि कम थिएनन् ।
यी दुवै कुतत्वका कारण उनले जीवनमा धेरै हन्डर खानुपर्यो । सबैको ‘वाहवाह’ बटुल्न समर्थ मेलवादेवीको स्वर बिगार्न कर्तुत समेत गरियो ।
साहित्यकार मदनमणि दीक्षितका अनुसार चन्द्रशमशेर मेलवादेवीको रूपसौन्दर्यबाट पनि अति मुग्ध थिए । धेरै समय उनीसँगै बिताउन चाहन्थे ।
मेलवादेवीलाई रानी बनाउन लागिएको हल्ला समेत चल्यो । महारानी बालकुमारीलाई यो कुरो मनपरेको थिएन ।
उनमा मेलवादेवीप्रति द्वेष, घृणा र क्रोध बढ्दै गयो । उनैले बनारसी पानको बिडामा सिन्दूर हाली सुसारे मार्फत मेलवादेवीलाई खुवाएकी हुन् ।
यसले गर्दा मेलवादेवीको स्वर धोत्रो हुन पुग्यो । चन्द्रशमशेरले उनको स्वर ठिक बनाउन निकै प्रयास गरे ।
बेलायतका चिकित्सक समेत झिकाई उपचार नगराएका होइनन्, तर, पहिलेको जस्तो स्वर रहेन ।
फरक स्वरमै पनि उनको गायन बेजोड थियो, प्रशंसा पाइरहिन् । चन्द्रशमशेरका छोरा केशर शमशेर जस्ता व्यक्तित्व उनको गायनकलाका पारखी थिए ।
उनीसँग सम्बन्धित एउटा रोचक प्रसङ्ग पनि छ । एकदिन, केशरशमशेरले मेलवादेवीलाई ‘तिमीले गाएर पानी पार्न सक्छौ त ?’ भनी सोधेछन् ।
‘केही न केही पानी अवश्य पर्छ हजुर’ भनी मेलवादेवीले गाउन थाल्दा साँच्चै बादल छाई पानी पर्न थालेछ ।
त्यसबाट प्रभावित भई केशरशमशेरले उनलाई पाँचहजार रुपियाँ बकस दिए ।
रूपवती मेलवादेवीमाथि धेरैले आँखा गाडेका थिए ।
बबरशमशेर आदिका नजर उनको रूपमाथि तीखो थियो ।
महाराज, महारानीको सुदृष्टि परेकाले नै उनलाई कामुक हेराइबाट जोगिन केही मद्दत पुगेको थियो तर उनीसामु अप्ठेरा धेरै थिए ।
यही कारण उनले महाराजलाई मनाई सिंहदरबारबाट मुक्त हुन सफल भइन् ।
त्यतिखेर उनले आफूसित भएका गरगहना, लत्ताकपडा आदि सुसारेहरूलाई बाँडेको भनाइ पनि छ ।
दरबारबाट निस्किएपछि उनी चन्द्रशमशेरले नै किनिदिएको विजयेश्वरीस्थित घरमा गएर बस्न थालिन् ।
पहिले क्षेत्रपाटीमा बसेर पछिमात्रै विजेश्वरीमा गएको भनाइ पनि छ ।
दरबारमा छँदा त्यहीँका तबलावादक भगतकृष्ण मानन्धरको आँखा उनीमाथि परेको थियो ।
पटक–पटकको आग्रह, अनुग्रहपछि आखिरमा उनी भगतकृष्णकी दोस्री श्रीमतीका रूपमा बस्न मन्जुर भएकी थिइन् ।
मेलवादेवीका दुई छोरा ओम तथा मोहन र दुई छोरी शान्ता र विमला जन्मिए ।
छोराहरूको चाहिँ पाँच वर्षको कलिलै उमेरमा केही वर्षका फरकमा मृत्यु हुन पुग्यो ।
दरबारमा छिर्न प्रतिबन्ध लागेका भगतकृष्णसितको नाता पनि धेरै काल सुमधुर रहेन ।
वैवाहिक सम्बन्ध टुटेपछि आर्थिक कठिनाइ झेल्न विवश ‘मेलवादेवी’ पतिको दुर्व्यवहारबाट त दिक्क छँदै थिइन् । बबर शमशेरको कुदृष्टिबाट जोगिन समेत सकस पर्न थाल्यो ।
अनि, उनी नेपाल छाडी भारत पुगिन् ।
उनी त्यता लाग्नुका पछाडि एक कारण बबरशमशेरको कुदृष्टि हो भने अर्को कारण
शुक्रराज शास्त्रीको परिवारसँगको हेलमेलले गर्दा पनि उनले मुग्लानिनु परेको हुनसक्छ ।
कसैलाई घर कुर्न लगाई उनी दुई छोरीका साथ बम्बईतर्फ लागिन् ।
त्यहाँ केही समय बिताई कोलकाता गइन् ।
विजयेश्वरीको घर बेचेर उनी सोझै कोलकाता गएको भनाइ पनि छ ।
जे सुकै कारणले मुग्लानिनु परे पनि मेलवादेवीले आफ्नो कर्म भुलिनन् । मेलवादेवीले भारतमा पनि सङ्गीतसाधना छाडिनन् । उनको जीविकाको साधन समेत त्यही सङ्गीत बन्यो । त्यहाँ उनी विभिन्न स्थानमा गाउन, बजाउन त जाने गर्थिन् नै । शास्त्रीय सङ्गीतको प्रशिक्षण दिने काममा पनि त्यत्तिकै लगनशील भइन् ।
उनलाई तानपुरा राम्रो बजाउन आउँथ्यो ।
इलाहावाद सङ्गीत सम्मेलन, रायगढ सङ्गीत सम्मेलन आदि साङ्गीतिक सभा, समारोहमा उनी सहभागी भएको र उनले स्वर्णपदक पाएको उल्लेख भेटिन्छ ।
सङ्गीत शिक्षिकाका रूपमा पनि उनले काम गरिन् ।
उनीबाट प्रशिक्षण पाएर नेपाल तथा भारतका साङ्गीतिक क्षेत्रमा नाम कमाउने अनेक छन् ।
तिनमा सङ्गीतप्रवीण नरराज ढकालको पनि नाम आउँछ ।
उनले भारतका विभिन्न संस्थाबाट सम्मान प्राप्त गरेकी छिन् ।
धोद्रो स्वरमा समेत त्यस्तो सम्मान पाउन सफल उनी, स्वर नबिगारिएको हुँदो हो भने कस्तो कीर्ति प्राप्त हुन्थ्यो होला !
बेला, बेलामा नेपाल आए तापनि उनको स्थायी बसोबास उतै भयो ।
त्यहीँबाट सङ्गीतको अभ्यास, साधना र कला यात्रामा तल्लीन मेलवाले यसबीच छोरीहरूलाई पढाएर बिहावारी समेत गरिदिइन् ।
कोलकातामा रामचन्द्र गुप्तालाई धर्मपुत्र मानिन् ।
मेलवादेवीको जीवनकाल निकै सङ्घर्षमय देखिन्छ ।
बाल्यकालमै आमा, बावुको मायाबाट वञ्चित मेलवादेवीले
दाम्पत्य जीवनको दीर्घकालीन सुमधुरता पनि अनुभव गर्न पाइनन् ।
अन्त्यबेला झन् दारूण रह्यो ।
भनिन्छ– मेलवादेवी डेरामा बस्थिन् ।
नुहाउन भनेर पानी तताउन लाग्दा स्टोभको आगो सारीमा सल्केकाले उनको इहलीला समाप्त हुन पुग्यो ।
दौडादौड गरी कोलकाताको अस्पतालमा नपुर्याइएको होइन ।
आगोले पूरै छोपिसकेकाले ५३ वर्षको उमेरमा उनले २०१२ साल, मङ्सिरमा त्यहीँ प्राण त्याग गरिन् ।
निस्सन्देह उनको भौतिक शरीर यतिखेर हामीमाझ छैन ।
तर उनी आफ्ना गीत, सङ्गीतमा अमर बनेकी छिन् ।
नेपालको साङ्गीतिक आकाशमा उनी सदा नक्षत्र बनेर चम्किइरहने छिन् ।
पहाडी गाउँको सानो ठाउँबाट कण्ठ खोलेकी मेलवादेवीको गायन राष्ट्रभित्र मात्रै होइन, भारतमा समेत गुञ्जायमान हुन पुग्यो ।
उनका शिष्यका पनि शिष्यहरू यतिखेर दुवै मुलुकमा रहेका छन् ।
यस दृष्टिमा उनलाई साङ्गीतिक जगत्मा व्यापक चर्चाप्राप्त प्रथम नेपाली गायिका भन्दा पनि फरक पर्दैन ।
उनी विदेशमा गएर गीत रेकर्ड गराउने प्रथम नेपाली गायिका भएकामा त शङ्कै छैन ।
आफ्नै गीतिरचना, आफ्नै धून र आफ्नै स्वरको त्रिवेणी प्रस्तुति दिनेमा पनि उनको प्रथम नाम आउँछ ।
उनीभन्दा पहिले कुनै पनि नेपाली गायिकाले स्वर रेकर्ड गराएका थिएनन् ।
हिज मास्टर्स भ्वाइस कम्पनी कोलकातामा वि.सं. १९८५ ताका मेलवादेवीको पहिलोपल्ट गीत रेकर्ड गरिएको हो ।
सवारी मेरो रेलैमा
सानु र सानु लै लै कुुसुमे रूमाल बरि लै
ज्यान तिमीले पायौ नि बरि लै
झन् पर जान्छु लै लै झन् माया लाग्छ बरि लै
मोहनी लायौ कि बरि लै
सवारी मेरो रेलैमा
मेलवादेवीको सर्वप्रथम रेकर्ड गरिएको गीत यही हो ।
यसका शब्द, सङ्गीत र स्वर मेलवादेवीकै हुन् ।
शुक्रराज शास्त्रीको गीतमा आफ्नै सङ्गीत र स्वरका साथ उनको घन्किएको दोस्रो गीत हो–
‘न घरलाई घर कहिन्छ, नारी नै घरबार हो ।’
ग्रामोफोनमा स्वर घन्कन थालेपछि उनको लोकप्रियता चुलिंदै गयो ।
मेलवादेवीले नेपाली, नेवारी, हिन्दी, बङ्गाली आदि विभिन्न भाषाका
गीत गाएकी छिन् ।
उनको नेवारी भाषामा रहेको शोकगीतको बोल हो–
‘भ्वः खा ब्वया भनूः’ ।
मेलवादेवीका ‘माया मारी निष्ठूरीले’, ‘थापा र थली’, ‘यो जिन्दगीको के भरोसा’, ‘झन् पर जानु झन् माया लाग्छ लै लै’
‘हाय मेरा परदेशी प्रीतम’, ‘आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा’ आदि चर्चित गीत रहेका छन् ।
मेलवादेवीका प्राप्त चारवटा रेकर्डमा आठवटा गीत समावेश छन् ।
मेलवादेवी अनेक नामले परिचित थिइन् ।
यो नाम त उनलाई दरबार प्रवेशपछि चन्द्रशमशेरले दिएका हुन् ।
यसअघि उनको नाम ‘सुनमाया’ थियो रे !
कोलकाता पुगेपछि उनले आफ्नो नाम ‘सुलभादेवी’ राखेकी थिइन् ।
उनको अर्को उपाधिसूचक नाम पनि रहेको पाइन्छ ।
भनिन्छ– इलाहावादका सङ्गीत सम्मेलनमा उनको गायनकलाको मुक्तकण्ठले प्रशंसा गरिँदै उनलाई ‘ठूमरी की रानी’ नाम दिइएको थियो ।
नेपाल सरकारले मेलवादेवीका योगदानको कदर गर्दै २०६९ सालमा उनको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उनका सम्बन्धमा कुनै अर्थपूर्ण काम भएको चाहिँ देखिँदैन । यो पक्कै पनि लाजलाग्ने कुरो मात्रै होइन, आम नेपालीका निम्ति खेदको विषय समेत हो ।
उनको जीवनीकै सन्दर्भ उक्याउने हो भने पनि कैयन् विषयमा यकिनसाथ ठोकुवा गरेर भन्न सकिने अवस्था छैन । उनका बारेमा चाहिँदो सोधखोज समेत नगरिएको यसबाट पुष्टि हुन्छ । डा. प्रपन्नाचार्य, मेलवादेवीकी सुपुत्री विमला मानन्धर (दीक्षित), मेलवादेवीका धर्मपुत्र रामचन्द्र गुप्ता, अनुसन्धाता सुवि शाह, रामशरण दर्नाल, मास्टर रत्नदास प्रकाश, मदनमणि दीक्षित, नरेन्द्रराज प्रसाईँ, रमेश चिन्तन आदिका लेखनी यस दिशामा स्मरणीय रहेको देखिए तापनि धेरै कुरा प्रकाशमा आउन बाँकी छ ।
प्रतिक्रिया