शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

‘कन्कसन सब्स्टिच्युट’ चम्किएपछि भारतलाई इंग्ल्याण्डविरुद्ध लगातार पाँचौँ टी–२० शृङ्खला

शनिबार, १९ माघ २०८१, ०९ : ४४
शनिबार, १९ माघ २०८१

पुणे । पुणेमा भएको चौथो टी–२० खेलमा भारतले इंग्ल्याण्डलाई १५ रनले पराजित गरेको छ । योसँगै टोलीले इंग्ल्याण्डविरुद्ध लगातार पाँचौँ टी–२० सिरिज पनि जितेको छ ।

इंग्ल्याण्डले भारतविरुद्ध अन्तिम सिरिज सन् २०१४ मा जितेको थियो। भारतका लागि कन्कसन सब्स्टिच्युट हर्षित राना र स्पिनरहरूले मिलेर ९ विकेट लिए । यही नै जित र हारको भिन्नता बन्यो ।

शुक्रबार एमसीए स्टेडियममा इंग्ल्याण्डले बलिङ रोजेको थियो । भारतले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १८१ रन बनायो । हार्दिक पाण्ड्या र शिवम दुबेले समान ५३ रनको पारी खेले । इंग्ल्याण्डका साकिब महमुदले ३ विकेट लिए । 

१ सय ८२ रनको लक्ष्य पाएको इंग्ल्याण्डले राम्रो सुरुवात गरेको थियो । पावरप्लेमा टोलीले १ विकेट गुमाएर ६२ रन बनाएको थियो । तर ६ ओभर सकिएसँगै टोलीको विकेट झर्न थाल्यो । ६७ रनमा टोलीको ३ विकेट खसेको थियो । 

त्यसपछि सम्हालिएको इंग्ल्याण्डले १२९ रनसम्म मात्रै ४ विकेट गुमायो ।  ह्यारी ब्रुकले अर्धशतक बनाए । मात्र २६ बलमा उनले ५१ रन जोडे ।

ब्रुक आउट भएपछि इंग्ल्याण्डको पतन सुरु भयो । ३७ रनमा अन्तिम ६ विकेट गुमाएपछि इंग्ल्याण्डको टोली १६६ रनमा सीमित भयो । 

भारतका लागि रवि बिश्नोई र हर्षित राणाले ३/३ विकेट लिए । वरुण चक्रवर्तीले २ विकेट लिए । अर्शदीप सिंह र अक्षर पटेलले पनि १–१ विकेट लिए ।

शिवम दुबेले ३४ बलमा ५३ रनको इनिङ्स खेलेर प्लेयर अफ द म्याचको अवार्ड पाए । दुबे ब्याटिङमा आउँदा टोलीले ५७ रनमा ४ विकेट गुमाइसकेको थियो । दुबेले छैटौँ विकेटका लागि हार्दिक पाण्ड्यासँग ८७ रनको महत्त्वपूर्ण साझेदारी गरे।

ब्याटिङका ​​क्रममा टाउकोमा बल लागेका कारण दुबेले फिल्डिङ गर्न सकेनन् । उनको स्थानमा हर्षित राना कन्सन्सन सस्टिच्युटको रुपमा मैदानमा आउनु परेको थियो । उनले ३ महत्त्वपूर्ण विकेट लिएर खेल भारतको पक्षमा पारे ।

चौथो खेलको अन्त्यसँगै भारतले सिरिजमा ३-१ को अग्रता बनाएको छ । भारतले पहिलो र दोस्रो खेल पनि जितेको थियो भने तेस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो  सिरिजको पाँचौँ टी–२० खेल २ फेब्रुअरीमा मुम्बईमा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप