६ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे

काठमाडौँ । छ महिनामा २८ लाखभन्दा धेरै फोरजी प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत असार मसान्तमा मोबाइल ब्रोडब्यान्डमार्फत् हुने उक्त प्रयोगकर्ताको कुल संख्या २ करोड २२ लाख ३२ हजार ४१६ रहेकोमा पुस मसान्तमा आइपुग्दा यो संख्या २ करोड ५० लाख ७५ हजार ४१९ पुगेको हो । यो अवधिमा फोरजी प्रयोगकर्ताको संख्यामा १२.७८ प्रतिशतले बढेको हो । उल्लेखित संख्या यो कुल इन्टरनेट प्रयोगकर्ताको ८९.७० प्रतिशत हो ।
अहिले मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्ने दूरसञ्चार सेवा प्रदायकको संख्या २ वटा मात्रै रहेको छ । सरकारी क्षेत्रको सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको सेवा प्रदायक एनसेलले यस्तो सेवा दिँदै आएका छन् ।
पुस मसान्तसम्म कुल फोरजी प्रयोगकर्तामध्ये नेपाल टेलिकमको १ करोड ३१ लाख तथा एनसेलको १ करोड १९ लाख संख्या रहेको प्राधिकरणको तथ्याङ्क छ । असार मसान्तमा टेलिकमको १ करोड ५२ लाख तथा एनसेलको ६९ लाख प्रयोगकर्ता थिए । यो अवधिमा टेलिकमका प्रयोगकर्ता १३.८९ प्रतिशतले घट्दा एनसेलको प्रयोगकर्ता ७१.४६ प्रतिशतले बढेको देखिएको छ ।
उता थ्रिजी प्रयोगकर्ता भने यो अवधिमा ह्वात्तै घटेको छ । असार मसान्तसम्म ७५ लाख १९ हजार रहेको संख्या अहिले ९ लाख २३ हजारमा झरेको छ । त्यस्तै, १४ लाख ५८ हजारको संख्यामा रहेको टूजी सेवा अहिले शून्यमा झरेको छ ।
त्यसमध्ये नेपाल टेलिकमको थ्रिजी र टूजी प्रयोकर्ता असार मसान्तमा क्रमशः ५६ लाख ८३ हजार र १४ लाख ५८ हजार रहेकोमा अहिले ७ लाख ७६ हजार पुगेको छ । त्यस्तै, एनसेलको थ्रिजी प्रयोगकर्ताको संख्या १८ लाख ३६ हजारबाट १ लाख ४७ हजारमा झरेको छ । एनसेलले टूजी सेवा भने पहिले नै विस्थापन गरिसकेको थियो ।
१ लाख ६८ हजार ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता थपिए
यो अवधिमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १ लाख ६८ ले बढेको छ । असार मसान्तमा २८ लाख १५ हजार रहेको प्रयोगकर्ताको संख्या बढेर २९ लाख ८३ हजार पुगेको छ । यो कुल इन्टरनेट प्रयोगकर्ताको संख्याको तुलनामा १०.३० प्रतिशत बराबर हो । अहिले ४४.७२ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको प्राधिकरणले जनाएको छ ।
त्यसमध्ये नेपाल टेलिकमको ३ लाख ५६ हजार र अन्य इन्टरनेट सेवा प्रदायकको २६ लाख ३६ हजार पुगेको छ । असार मसान्तमा टेलिकमका प्रयोगकर्ताको संख्या ३ लाख १३ हजार र इन्टरनेट सेवा प्रदायकको २५ लाख ४ हजार रहेको थियो ।
यो अवधिमा नेपाल टेलिकमले रेडियो वाईफाई सञ्चालन थालेको देखिन्छ । यो अवधिमा मात्रै टेलिकमका २७ हजार ५२३ रेडियो वाईफाई जडान गरिएको छ । टेलिकमको सेवासँगै अन्य इन्टरनेट सेवा प्रदायकको संख्या ६ हजार ७३८ बाट घटेर ४ हजार ३९० मा झरेको छ ।
निष्क्रियलाई हटाउँदा मोबाइल प्रयोगकर्ताको संख्या घट्यो
यो अवधिमा जीएसएम मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ५६ लाखबाट घटेर २ करोड ९५ लाखमा झरेको छ ।
यो अवधिमा नेपाल टेलिकमले लामो समयदेखि नचलेका जीएसएम सिमको संख्यालाई हटाएर रिपोर्टिङ गरेको छ । त्यसैले छ महिनाअघि २ करोड २४ लाख रहेको सिमको संख्या पुस मसान्तसम्म घटेर १ करोड ४८ लाखमा झरेको छ । यो संख्या घट्दा थ्रिजी र फोरजी प्रयोगकर्ताको संख्या समेत घटेको देखिएको छ भने टूजीको संख्या शून्यमा झरेको छ ।
यो अवधिमा एनसेलका प्रयोगकर्ताको संख्या भने १ करोड ३२ लाखबाट बढेर १ करोड ४७ लाख पुगेको छ । यो अवधिमा नेपाल टेलिकमको पीएसटीएन टेलिफोनको संख्या २ लाख ३० हजारबाट २६ हजारमा झरेको छ । उता एफटीटीएच टेलिफोनको संख्या ३ लाख ६६ हजारबाट बढेर ३ लाख ७१ हजार पुगेको छ । अहिले टेलिकमले पीएसटीएन टेलिफोनलाई एफटीटीएचमा रुपान्तरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय