उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
लमजुङ । लमजुङको उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यतिबेला पहिरो रोकथामका लागि मर्स्याङ्दी नदी किनारमा काम भइरहेको उनको भनाइ छ । ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ ।
त्यस्तै, अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम र नाली निर्माण गर्न बाँकी रहेको सो कार्यालयका सूचना अधिकारी विष्टको भनाइ छ । कार्यालयका अनुसार सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ ।
यस कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना विसंं २०८१ पुस महिना पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता म्याद रहेको थियो । सो निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनःम्याद थप गर्दै आगामी असोज महिनासम्म थप गरिएको सो कार्यालय सूचना अधिकारी विष्टले बताए । सो पहिरो माथि रहेको स्थानीय सडक भासिएर ढुङ्गा, माटो, गेगराङ झरेर काम गर्न समस्या लगायत विविध कारणले गर्दा निर्माणकार्य लम्बिरहेको उनको भनाइ छ । उनले भने, सडक तल मर्स्याङ्दी नदीमा पानीको वहाव बढी भएर पर्खाल लगाउन र सो स्थानमा पहिरो खस्ने गरेकाले नाली निर्माण, कालोपत्रे गर्ने कार्यमा समस्या हुँदा समयमा काम सम्पन्न नभएको हो ।
यस स्थानमा विसं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो ।
बयालीस किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रूपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रु यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसरहसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो ।
त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए । सो स्थानमा गएको पहिरोको रोकथामकार्य अझै सम्पन्न नहुँदा यात्रु सो स्थानमा आवतजागत गर्दा माथिबाट पहिरो खस्छकी भन्ने डर, पहिरो हेर्दै हिड्नुपर्ने होकी दुर्घटना हुन्छकी भन्ने डरमा यात्रा गर्ने गरेको यात्रुको भनाइ छ । विषेशगरी वर्खायाममा यस सडक निकै जोखिम बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
-
सूर्यविनायक धुलिखेल सडक यसरी बन्दै छ ६ लेनको (तस्बिरहरू)
-
नेपालले आज थाइल्यान्डसँग खेल्दै
-
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
-
६ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज