आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : ‘प्रतिनिधि सभा होइन, घोचपेच सभा’देखि रविले निलम्बन फुकुवाको निवेदन दिएपछि सभामुख फायरसम्म

शनिबार, १९ माघ २०८१, ०० : १७
शनिबार, १९ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

संसद् बैठक
शुक्रबार सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूबिच अध्यादेशबारे सवाल जवाफ भएको छ । संसद् बैठक नबसेको बेला सरकारले अध्यादेश ल्याउन पाउने र त्यो संविधानमै व्यवस्था भएको भन्दै सत्तापक्षले बचाउ गर्दा प्रमुख प्रतिपक्ष लगायत नेकपा माओवादी लगायतका प्रतिपक्ष दलले अध्यादेशको प्रक्रिया नै गलत भएको भन्दै विरोध गरे । संसद्का साना दलले आआफ्नै समस्या र गुनासाहरू सुनाए ।

रविको निवेदन
रास्वपाका निलम्बित सांसद रवि लामिछानेले निलम्बन फुकुवाको निवेदन दिएपछि सभामुख देवराज घिमिरेले विद्यमान कानुन र संसद् नियमावलीको अभ्यासबारे स्मरण गराएका छन् । लामिछानेले आज सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन शुक्रवार सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए । 

राष्ट्रिय परिचयपत्र विवाद
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादमा रिट खारेज गर्दै तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले उक्त फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो ।

सहकारी अध्यादेश
एमाले अध्यक्ष समेत रहेको केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सहकारी अध्यादेशप्रति उनकै दलले आधिकारिक रूपमा विरोध जनाएको छ ।  सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको सम्बन्धमा शुक्रबार पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा राख्दै एमाले सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशका केही व्यवस्थाप्रति आफ्नो दलको विरोध रहेको बताएका हुन् ।

मधेसी मोर्चा
मधेसवादी दलको आठ दलीय मोर्चाले साझा मुद्दा तथा आचारसंहिताको मस्यौदा तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले सो कार्यदल गठन गरेको हो । 

हेटौँडा सिमेन्ट उद्योग
भौतिक संरचना निर्माण क्षेत्रमा कुनै समय हेटौँडा सिमेन्टको दबदबा नै थियो । सामान्य नागरिकले घर बनाउनु पर्दा होस् वा सरकारी तथा निजी लगानीमा ठुला भौतिक संरचना निर्माणमा हेटौँडा सिमेन्ट पहिलो रोजाइमा पर्दथ्यो ।

हिउँदमा भएन वर्षा
यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ ।  देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ । 

आन्दोलनको तयारी
 ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ कारण सरुवाबाट वञ्चित भएको भन्दै शिक्षकहरूले आन्दोलनको तयारी गरेका छन् । उक्त निर्देशिकाका कारण आफूहरू सरुवाबाट वञ्चित भएको उनीहरूले गुनासो गर्दै आएका थिए । उनीहरूले आन्दोलनका लागि सरुवा वञ्चित केन्द्रीय सङ्घर्ष तदर्थ समिति नै गठन गरेका छन् । 

बागमती प्रदेश सभा
बागमती प्रदेश सभा गठन भएको ७ वर्ष भइसकेको छ । २०७४ मंसिरमा सम्पन्न निर्वाचन पश्चात् संविधानको धारा १७५ बमोजिम साबिकको प्रदेश नम्बर ३ को ११० सदस्यीय प्रदेश सभा गठन भएको थियो ।

नेपाल बारको युवा कानुन व्यवसायी सर्वेक्षण
नेपाल बार एशोसिएशनको युवा कानुन व्यवसायीहरूले गरेको एक अध्ययनमा न्यायालय, न्यायाधीश र वकिलप्रति आमसर्वसाधारणको धारणा नकारात्मक पाइएको छ । देशभर भ्रमण गरी युवा कानुन व्यवसायीले तयार पारेको अध्ययन प्रतिवेदनमा अदालतमा घुस लेनदेन सामान्यीकरण हुँदै गएको, मुद्दा किनारा लगाउन वर्षौँसम्म लाग्ने प्रक्रियामा अदालत र वकिलको भूमिकामाथि सर्वेक्षणमा सहभागीले चिन्ता प्रकट गरेको पाइएको छ ।

नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन
प्रधानमन्त्री कार्यालयले नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो । टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ । 

ब्रिटिस सेना
स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका टोल खाम्चामगर बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा सेरेमोनियल  ‘किंग्स् गार्ड’ को रूपमा छनोट भएका छन् ।  आउँदो फेब्रुअरी २० तारिखदेखि ड्युटी सुरु गर्ने तयारीमा रहेका टोल खाम्चामगर भूतपूर्व ब्रिटिस गोर्खा समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?