बागमती प्रदेश सभाः हिउँदे अधिवेशनको सुरुवातमै आरोप–प्रत्यारोप
मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । ४ महिनापछि बसेको प्रदेश सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच आरोप–प्रत्यारोप चलेको थियो ।
प्रदेश सभाको बर्खे अधिवेशनपछिको काम–कारबाहीका विषयमा विपक्षी दलहरूले बैठकमा प्रश्न गरेका थिए । उनीहरूले सरकारले सही ढंगबाट काम गर्न नसकेको र नागरिकका आवश्यकता तथा मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाए ।
सत्ताधारी दलहरूले प्रदेश सरकारले विकास र समृद्धिको मुद्दालाई सशक्त रूपमा अघि बढाएको तर्क गरेका थिए । उनीहरूले सरकारले विकास र सेवा प्रवाहमा प्रभावकारी ढंगबाट काम गरेको जिकिर गरे ।
बैठकमा दलगत रूपमा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणमा दुई ठुला दल मिलेर सरकार गठन भएको बताए । उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको दाबी गरे ।
सरकारले लोकप्रियताका लागि नभएर आवश्यकताको आधारमा काम गरिरहेको मुख्यमन्त्री लामाको भनाइ थियो ।
‘विपद्बाट प्रभावित नागरिकका लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘प्रदेश राजधानी र संघीय राजधानीसहित प्रदेश अन्तर्गतको सडक पूर्वाधार पुनर्निर्माणमा काम भइरहेको छ ।’
प्रदेश सरकारको आयोजना छनोट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको पनि मुख्यमन्त्री लामाले बताए ।
सत्ता साझेदार दल नेकपा एमालेका बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको दाबी गरे । उनले वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका नरहेको बताए ।
प्रदेश सभाले राजस्वका क्षेत्र, प्रहरी र निजामती कर्मचारीको अधिकारका सन्दर्भमा छलफल गर्नुपर्ने उनको भनाइ छ । संसदको बहस मेगा प्रोजेक्ट, वैदेशिक सहायता लिने लगायतका क्षेत्रमा अघि बढाउनुपर्ने उनले बताए ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमाले–कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताए । वर्तमान सरकारका साझेदारहरू गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतङ्कित बनिरहेको उनले बताए ।
सरकारी जग्गा हडप्ने, सहकारीको रकम अपचलनका घटना लुकाउने, गलत प्रवृत्ति गर्नेलाई जोगाउनेतर्फ सत्ता गठबन्धन उद्यत रहेको जम्कट्टेलको आरोप थियो ।
‘वर्तमान सरकार कानुन बनाएर गिरिबन्धु टि–स्टेटको जग्गा व्यक्तिको बनाउने काममा केन्द्रित छ । सहकारी अध्यादेश बदनियतपूर्ण रुपमा आएको छ,’ उनले भने ।
देश आन्दोलनको दिशामा उन्मुख भइरहेको उनको भनाइ थियो । सरकार आम नागरिकप्रति उदार बन्न नसकेको उनले बताए ।
बैठकमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकार नागरिकको पक्षमा काम गर्न असक्षम भएको जिकिर गरे । सरकारले प्रदेशका नागरिकको अपेक्षा पूरा गर्न नसकेको भन्दै उनले नागरिक लक्षित नभइ दलका नेता केन्द्रित भएर काम गरिरहेको आरोप लगाए । सरकारको गतिविधिले नै वर्तमान व्यवस्थाप्रति नागरिकको असन्तुष्टि बढेको उनको भनाइ थियो ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारको नेतृत्व र नीतिमा कमजोरी र प्रशासनिक अक्षमता देखिएको बताए । सरकारले विकास निर्माणभन्दा पनि कार्यकर्ता व्यवस्थापनको लागि काम गरिरहेको उनको भनाइ थियो ।
वर्तमान सरकारको गठबन्धन उद्देश्यहीन ढंगबाट भएको आरोप लगाउँदै खनालले अनावश्यक रूपमा मन्त्रालय विभाजन गरेर फजुल खर्च बढाउने र स्रोतको दुरुपयोग गर्न केन्द्रित रहेको बताए ।
नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले शासक दल र नेतृत्वको कारण व्यवस्थामाथि बारम्बार प्रश्न उठ्ने गरेको बताए । उनले प्रदेशको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था आउनुमा अहिलेसम्ममा सत्तामा जाने दल नै जिम्मेवार रहेको आरोप लगाए ।
बैठकमा हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले वर्तमान व्यवस्थाले पीडित उत्पीडित वर्गको अधिकार सुनिश्चित गरेको बताए ।
त्यसअघि प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन र विभिन्न विधेयक प्रमाणीकरणको पत्र प्रस्तुत पढेर सुनाइएको थियो । यस्तै, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि उर्मिला नेपाल, भारती पाठक, भुवनकेशरी श्रेष्ठ, रमा आले मगर र लक्ष्मी घिमिरेको नाम अनुमोदन गरिएको थियो ।
प्रदेश सभाको अर्को बैठक माघ २३ गते बिहान ११ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर
-
अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
-
सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ
-
प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन
-
तनहुँका रवीन बने कायाक ‘च्याम्पियन’
-
बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु