राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चले जारी गर्यो तीन बुँदे आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादमा रिट खारेज गर्दै तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले उक्त फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो ।
सर्वोच्चले व्यक्तिको सूचनामा पहुँच दिने कुरामा ख्याल गर्नेसहित तीन बुँदामा सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
सर्वोच्चले राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिन भनेको छ । सर्वोच्चले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित गर्न भनेको छ । गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकाससमेत गर्न सर्वोच्चको आदेशमा उल्लेख छ ।
अधिवक्ता रामबहादुर राउतसहितले राष्ट्रिय परिचयपत्रविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले सुरुमा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले भ्याकेटको निवेदन दर्ता गराएको थियो । उक्त भ्याकेटसहित सबै रिटलाई एकै ठाउँमा राख्दै सर्वोच्चले माघ ६ गते रिट खारेज हुने फैसला सुनाएको थियो ।
सर्वोच्चले निर्देशनात्मक आदेशको आवश्यक कार्यान्वयन प्रयोजनार्थ समेत महान्यायाधिवक्ताको कार्यालयमार्फत आदेशको जानकारी विपक्षीहरूलाई दिन भनेको छ ।
यस्ता छन् तीन बुँदे आदेश:
(क) राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने कार्य गर्न, नागरिकका वासस्थान नजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरणको कार्य यथाशीघ्र सम्पन्न गरी राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू ।
(ख) सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा इकाई खडा गरी कार्य गर्नू ।
(ग) राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकास समेत गर्नू गराउनू ।