शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
आईसीसी महिला यू–१९ विश्वकप

इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, दक्षिण अफ्रिकासँग उपाधि भिडन्त

शुक्रबार, १८ माघ २०८१, १५ : ०१
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । इङ्ल्यान्डलाई हराउँदै भारतीय टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले शुक्रबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो । 

अब भारतले आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकासँग उपाधिका लागि भिडन्त गर्नेछ । दक्षिण अफ्रिका भने शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बलियो अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो । 

दोस्रो सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने १५ ओभरमै केवल एक विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । 

भारतको जितमा जी. कमलिनीले अर्धशतकीय पाली खेलिन् । उनले अविजित ५६ रन बनाइन् । यस क्रममा उनले ५० बलको सामना गरी आठ चौका पनि हिर्काइन् । अर्की ओपनर गोंगाडी तृषाले पनि ३५ रनको योगदान गरिन् । तृषाले २९ बलमा पाँच चौका प्रहार गरिन् ।

सनिका चाल्क ११ रनमा अविजित रहिन् । उनले १२ बलमा एक चौका प्रहार गरिन् । भारतले अतिरिक्त रूपमा पनि १५ रन पायो । त्यसअघि, इङ्ल्यान्डका लागि ओपनर डाभिना पेरिनले ४५ रन बनाएकी थिइन् । उनले ४० बलमा दुई छक्का र ६ चौका हिर्काइन् । 

चौथो नम्बरकी ब्याटर एबी नरग्रोभ ३० रन बटुलिन् । टोलीकी कप्तान समेत रहेकी उनले २५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । अमु सुरेनकुमारले अविजित १४ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका बलर पुर्णिका सिसोडिया र वैष्णवी शर्माले तीन–तीन विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप