शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुशल मल्लले बुटबलबाट अर्जुन ट्रफी खेल्ने

शुक्रबार, १८ माघ २०८१, १२ : ४१
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली सदस्य सदस्य कुशल मल्लले बुटबलको टोलीबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपीएल) मा चितवन राइनोजका मार्की खेलाडी थिए ।  

कैलालीको धनगढीस्थित फाप्ला स्टेडियममा माघ १९ देखि २८ गतेसम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेन्डर अनुसार यो प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

प्रतियोगितामा बुटबलको न्यू होराइजन क्लबले पनि सहभागिता जनाएको छ । कुशल मल्लले सोही क्लबबाट प्रतियोगिता खेल्नेछन् । कुशल मल्लको कप्तानीमा रहेको बुटबलको टोलीमा दिलिप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतिक श्रेष्ठ र तुलवहादुर थापा रहेका छन् । 

यसैगरी, टोलीमा महेश भार, विप्रसन केसी, आरिफ खान, दिपक डुम्रे, वीरवहादुर घर्ती र गोविन्द विकले पनि स्थान पाएका छन् । माघ २२ गते हुने खेलमा बुटबलले दशरथ चन्द एकेडेमी बैतडीसँग प्रतिस्पर्धा गर्नेछ । बुटबलले माघ २३ गते क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँसँग र माघ २५ गते सीवाईसी अत्तरियासँग खेल्नेछ ।

सुदूरपश्चिम प्रदेशको क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा अर्जुन ट्रफी आयोजना गरिएको हो । प्रतियोगिताको कुल पुरस्कार राशी २० लाख रुपैयाँ रहेको छ । टी–२० ढाँचाको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र उदीयमान खेलाडीले भने जनही ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा देशभरका आठवटा क्लबको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप