शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्प, कार्यकारी आदेश र ढल्दै गरेको पुँजीवादको धुरी

शुक्रबार, १८ माघ २०८१, १२ : ००
शुक्रबार, १८ माघ २०८१

 डोनाल्ड ट्रम्प पुनः एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै सारा दुनियाँ तरङ्गित भएको छ । हुन त एउटा स्वतन्त्र र सार्वभौम देशमा जननिर्वाचित शासकहरू आउँछन्, समय पुगेपछि बिदा हुन्छन्— यो नियमित प्रक्रिया नै हो । यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन ।

त्यसरी आएका शासकले के गर्दा आफ्नो देश र जनताको भलो हुन्छ, भविष्य सुरक्षित हुन्छ भन्ने लाग्छ, गर्ने त्यही नै हो । डोनाल्ड ट्रम्प अहिले अनगिन्ती बुँदामा समेटिएका अमेरिकी हितमा जारी कार्यकारी आदेशहरूमा सहीछाप गरिरहेका छन् । त्यो क्रम जारी रहेको हुँदा बाहिरी दुनियाँले अपेक्षा गरेका वा नगरेका अझै कति त्यस्ता आदेश जारी हुने हुन् ! कुनै पत्तो छैन ।

ह्वाइटहाउस गमनको पूर्वसन्ध्यामै पानामा नहरमाथि अमेरिकी स्वामित्वको दाबी, मेक्सिकोको सिमानामा पर्खाल, क्यानडालाई अमेरिकाको एकाउन्नौँ प्रान्त बनाउन जस्टिन ट्रुडोलाई प्रस्ताव आदि जस्ता ट्रम्पको योजनाले दुनियाँलाई तरंगित बनाएको छ । लुकिछिपी रहेका करोडौँ आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गर्ने ट्रम्पको मौलिक प्रकृतिको घोषणाले त धेरैलाई हल्लायो । यसमाथि अमेरिकाबाट पाउँदै आएको अनुदान सहयोग रोक्का हुने बुँदा कार्यकारी आदेशमा जब आयो, धेरैले चित खाएका छन् । 

अरुले दिए मात्र खान पाउने बाँकी विश्व कति निरीह अवस्थाबाट गुज्रिरहेछ, यहाँनिर छर्लङ्ग देख्न सकिन्छ । सधैँ हात थापेरै गुजारा चलाउने जमातले पनि अब के बुझ्नुपर्छ भने जो दाता छन् तिनले कुन अवस्थासम्म दान दिइरहन सक्छन् त !

पहिलो कुरा त दान उसैले दिन सक्छ, जो यसमा सक्षम र सम्पन्न हुन्छ । दोस्रो कुरा, सक्षम भएर मात्र पुग्दैन उसमा दया–माया, करुणाभाव, अरुभन्दा पृथक् जीवन बाँच्ने महत्त्वाकांक्षा भयो भने दान दिन सक्छ । 

एउटा उदार र अर्काे अनुदार गरी वास्तवमा अमेरिकासँग दुईवटा अनुहार छ । उदार अनुहारले केही दिएझैँ त गर्छ तर जब समय आउँछ समग्र अमेरिकाले एउटा अनुदार अनुहारको रचना गर्दछ र सबै हडपेर फिर्ता लैजान्छ ।

अर्काे भनेको केही पाउने आशाले, केही हत्याउने अभिलाषाले (अनु)दानका रूपमा लगानी गरिने चलन पनि छ ।

अब यीमध्ये अमेरिकी दान कुन प्रकृतिको हो भन्ने मागिखाने वर्गले बुझ्नैपर्छ । अन्यथा हरकोही मगन्तेको हालत कालान्तरमा पानामा नहरको नियतिबाट गुज्रनुपर्नेछ । आफ्नो लगानीमा १२२ वर्षअघि निर्माण भएको नहरमा महँगो प्रवेश शुल्क लगाउन पाइँदैन भन्दै उसले नहरै कब्जा गर्ने धम्की दिएको छ । जब कि आफ्ना २५०० निर्माण मजदुर गुमाएको फ्रान्सले पनि यो नहर निर्माणमा आठ वर्ष समय बिताएको थियो । 

अरु त अरु, नेटो गठबन्धनको महत्त्वपूर्ण सदस्य डेनमार्कको स्वामित्वमा रहेको ग्रिनल्यान्डको भूमिमाथिको अमेरिकी दाबीले ऊसँगको मित्रता या शत्रुता कति जोखिम र खतरापूर्ण हुन्छ ! महसुस गर्न सकिन्छ ।

एउटा उदार र अर्काे अनुदार गरी वास्तवमा अमेरिकासँग दुईवटा अनुहार छ । उदार अनुहारले केही दिएझैँ त गर्छ तर जब समय आउँछ समग्र अमेरिकाले एउटा अनुदार अनुहारको रचना गर्दछ र सबै हडपेर फिर्ता लैजान्छ । उसले दिने अनुदानका सम्झौताहरूमा कुनै न कुनै कानुनी छिद्रताहरू भेटिने गरेका छन् । ताकि त्यही छिद्रतामा छिरेर सम्बन्धित देशको कानुनभन्दा माथि आफू रहन पाइयोस् । उदाहरणका लागि एमसीसी परियोजना काफी छ । धन्न माओवादी केन्द्रको पहलमा १२ बुँदे व्याख्यात्मक घोषणापत्र संसदबाट पारित भयो र दोहोरो अर्थ बोकेका छिद्रताहरू टालियो । अन्यथा कमा र फुलस्टप समेत परिमार्जन गर्न नमानेका देउवा–ओलीको कुबुद्धिले देशलाई पानामा नहरको गति बनाउने निश्चित थियो । वास्तवमा अमेरिकी लगानी याने कि अनुदान कुन उद्देश्यले अभिप्रेरित छन् भन्ने यी कुराबाट बुझ्न सकिन्छ । केही दान दिने तर त्यसको बदलामा सम्बन्धित देशको जरा–किल्ला उखेल्ने उसको दीर्घकालीन नीति छ । 

त्यसका लागि आफ्ना सञ्जाल विस्तार गर्ने, स्थानीय स्तरमा जासुसहरूको फौज खडा गर्ने, आफ्ना विरोधीलाई तिनैमार्फत समाप्त पार्ने र सफल नभएमा सैन्य दलबलसहित आफैँ मैदानमा उत्रने उसको नीतिको सिकार भियतनाम, इराक, अफगास्तिान, लिबिया लगायतले भोगिसकेका छन् ।

मछुवाराले तबसम्म बल्छीमा मासुको टुक्रा लगानी गर्छ, जबसम्म पोखरीमा माछा मार्न सम्भव छ भन्नेमा ऊ विश्वस्त रहन्छ । अमेरिकाले विश्वमा अब किन लगानी गर्ने, उसले अब सोच्न थालेजस्तो छ ।

९० को दशकदेखि उछलकुदमा व्यस्त अमेरिकाको अब मध्यपूर्वलगायत खाडी क्षेत्रतिरको रहर पुगिसकेको हुनुपर्छ । अफगानिस्तानबाट त खेदाइ नै खाइसकेको छ । इरानसँग खेल्न दशपटक सोच्नुपर्छ ।

भियतनाम त उसका लागि उहिल्यै भालुको कनपट साबित भइसकेको हो । राउल क्यास्ट्रो, मादुरोहरू आफ्नो विरासतबाट डगमगाउने अवस्थामा छैनन् । कोरिया हानौँ भने किम जोङ उन आफैँ कता हानौँ भन्दै अन्तरमहादेशीय क्षेप्यास्त्र काँधमा बोकेर हिँडिरहेका छन् । अब कता हान्ने त ! हिन्द महासागरतिर जाउँ, केही सिकार गरौँ भनौँ सी जिन पिङको ड्रागनले अन्तरिक्षतिर फाल्देला भन्ने त्राहिमाम ! पुटिनलाई लुटौँ न त भनौँ, सिकारीका पनि सिकारीलाई कसरी लुट्न सक्नु ! 

युरोप, युरोपियनहरूले पहिलै उधिनेर खाइसके, के नै लुट्नु छ र त्यहाँ ! बिलखबन्दमा छ अमेरिका यतिखेर । 

त्यसैले उसले आफ्नो नीतिलाई व्यापक फेरबदलको संकेत दिएको छ । त्यो सङ्केतले मोटामोटी रूपमा यही भन्छ, ‘संसारभर छरिएर रहेका प्रिय चेलाचपेटाहरू हो ! हुक्के–चम्चे–बैठकेहरू हो ! आइन्दा आफ्नो व्यवस्थापन आफैँ गर, आफ्नो जिम्मेवारी आफैँ लिनु, आफ्नो जोहो आफैँ गर ।’

अमेरिकाले यसो भन्नुपर्ने अनेकौँ बाध्यता छन् । ९० को दशकको एक ध्रुवीय विश्व अब कायम छैन । चीन, भारत, उत्तरकोरिया, इरान र अहिले पुनर्जीवित हुँदै उभिएको रुसी महाशक्तिको विस्तारले अमेरिकी हैकमवादसँग घर फर्किनुको विकल्प बाँकी छैन । उसो त लगातारको युद्धले अमेरिकी अर्थतन्त्र खस्कँदै गइरहेको अवस्था छ । आफ्नै जनता फ्रस्ट्रेसनको सिकार भएर आपसमा गोली हान्दै हिँडेका छन् । 

विश्व बैंकजस्ता वित्तीय संस्थाको मात्र होइन आईएमएफ, अमेरिकी डलरको विकल्पको खोजीमा समाजवाद निकट महाशक्ति खेमा सक्रिय रहेको यो अवस्थामा संसारभरबाट अमेरिकी अनुदान आफ्नै देशतर्फ रिफन्ड हुनुको ठुलो राजनीतिक अर्थ छ । 

वास्तवमा पुँजीवादको महाशिखर ढल्दै गरेको घडी हो यो, उसको अनुदान फिर्ता जानु भनेको उसले आजसम्म जहाँ–जहाँ जसरी टेकेको थियो, त्यहाँबाट पछि हट्नु हो । उसको जरा–किल्ला उखेलिनु हो ।

माक्र्सको परिकल्पनाझैँ विश्व अब पुँजीवादको चरमचुलीबाट समाजवादको ढोका खोल्ने सङ्क्रमणको चरणमा प्रवेश गर्दै छ । त्यो घडी साँच्चै निकट छ ।
पुँजीवादी धुरीको पतनसँगै अब दलाल, तस्कर, भ्रष्ट, कुख्यातहरूको दिनगन्ती सुरु भइसकेको छ । बेचन झालाई लुकाउनेहरू, नक्कली भुटानी शरणार्थीका व्यापारीहरू, आफ्नो कर्तुतबाट बच्न रातारात सरकारको सट्टेबाजी गर्नेहरूको जिनाहराम त्यो दिन हुनेछ, जुन दिन नक्कली भुटानी बनेर अमेरिका छिरेकाहरूलाई उसको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर फ्याँकिदिनेछ ।

साँच्चै अब रुने पालो दलालहरूको हो, मानव तस्करहरूको हो, भ्रष्टाचारीहरूको हो । साम्राज्यवादी भाडामा परिचालित चेला–चपेटा, चाटुकार, सुराकी अनि हुलाकीहरूको हो । यीबाहेक बाँकी तप्का अमेरिकी दान फिर्तामा रुने होइन जस्न मनाउने चाहिँ हो । किसान, मजदुर, खेताला, ज्यामी अर्थात् यो देशको आधारभूत वर्ग जो आज पनि आफ्नै पसिनामा विश्वस्त छन्, तिनको नाम बेचेर उपलब्धिविहीन तिसौँ खर्ब ऋण बोकाउने एउटा अध्यायको अन्त्य अनिवार्य थियो, आज हुँदै गरेको संकेत त्यसको एउटा पाइला मात्र हो ।
(लेखक कार्की पेसाले ट्याक्सी चालक हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोकुल कार्की
गोकुल कार्की
लेखकबाट थप