बलियो अस्ट्रेलियालाई स्तब्धः पार्दै दक्षिण अफ्रिका फाइनलमा
काठमाडौँ । बलियो अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकी टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने १८.१ ओभरमा केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । दक्षिण अफ्रिकाको जितमा ओपनर जेमा बोथाले महत्वपूर्ण योगदान गरिन् । उनले टोलीको खातामा ३७ रन थपिन् । यस क्रममा उनले केवल २४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काइन् । अर्की ओपनर सिमोन लाउरेन्स भने पाँच रनमै आउट भइन् ।
कप्तान कायला रेनेकले पनि टोलीका लागि २६ रनको योगदान गरिन् । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै २६ बलमा तीन चौका पनि हिर्काइन् । काराबो मेसोले पनि १९ रन बटुलिन् । उनले २९ बलको सामना गरी दुई चौका हिर्काइन् । अस्ट्रेलियाका बलर हसरत गिल र लुसी ह्यामिल्टनले दुई–दुई विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पालीको सुस्त सुरुवात गरेको थियो । अस्ट्रेलियाका दुबै ओपनरको प्रदर्शन बिर्सनलायक थियो । ओपनर इनेश म्याकोन शून्य रनमै पेभेलियन फर्किइन् भने अर्की ओपनर ग्रेस लियोन्स पनि दुई रनभन्दा अगाडि बढ्न सकिनन् ।
चौथो नम्बरकी ब्याटर काओमी ब्राईले अस्ट्रेलियाका लागि सर्वाधिक ३६ रन बनाइन् । उनले ४४ बलमा तीन चौका पनि हिर्काइन् । सातौँ नम्बरमा क्रिज समाल्न आएकी एला ब्रिस्कोले पनि टोलीको खातामा अविजित २७ रन थपिन् । उनले १७ बलमा चार चौका प्रहार गरिन् ।
कप्तान लुसी ह्यामिल्टनले १८ रन बनाइन् । उनले १६ बलमा तीन चौका हिर्काइन् । अस्ट्रेलियाका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाकी बलर आस्लेघ भान विकले चार विकेट लिइन् । उनले तीन ओभरमा १७ रन खर्चिइन् ।