‘जंगबहादुर बन्न मन छ’
काठमाडौंँ । पब्लिकमा राम्रो क्रेज भएका अभिनेता हुन् प्रदीप खड्का । उनी पछिल्लो समय फिल्म ‘एक्टर : टेक वान’को कारण चर्चित छन् । फिल्म सहिद दिवसको अवसर पारेर आगामी १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
यो फिल्ममार्फत उनी करिब १० महिनापछि पुनः दर्शकमाझ छाउन लागेका हुन् । उनको फिल्म आउँदै गर्दा दर्शकमा एक किसिमको चर्चा र कौतुहलता हुन्छ । त्यो यो फिल्ममा पनि छ । फिल्ममा पनि उनले एक्टर (कलाकार)को चरित्र निर्वाह गरेका छन् ।
‘प्रेमगीत’बाट अभिनेताको रूपमा चिनिएका खड्का नेपाली फिल्म बलिउडसम्म पुर्याउन सफल छन् । उनी चरित्रका रूपमा ‘प्रकाश’ र ‘पूजार सार्की’मा सफल मानिएका छन् । यी फिल्मका चरित्र झैँ ‘एक्टर : टेक वान’को चरित्रमार्फत आफू सबैको मनमा बस्न सफल हुने उनी बताउँछन् ।
फिल्ममा उनी अभिनेत्री आना शर्मा र नव नायिका दिव्या रायमाझीसँग देखिँदैछन् । दिव्यासँगको त उनको प्रेमको हल्ला पनि चलेको छ । यिनै अभिनेता प्रदीप खड्कालाई रातोपाटीले राखेको केही प्रश्न–
- फिल्म ‘एक्टर : टेक वान’ कस्तो फिल्म हो ?
– यो दर्शकलाई पूर्ण मनोरञ्जन दिने हेतुले निर्माण भएको फिल्म हो । कुनै फिल्म कमर्सियल हुन्छ, कुनै नन्–कमर्सियल । कुनै फिल्ममा आइडिया हुँदैन भनिन्छ । यो फिल्म आइडिया पनि भएको र सिटमा राखेर थ्रिलिङ एक्सपिरियन्स दिनेमध्ये गनिन्छ । फिल्मले हरेक दर्शकलाई छुन्छ ।
- यो फिल्म किन रोजाइमा पर्यो ?
– हामी सबैजना कुनै न कुनै तहमा एक्टर नै हो । यो विषयसँग सबै रिलेटेड छन् । एक्टिङ गर्न हामी सबैले जानेका छौँ । कसले कस्तो तहमा एक्टिङ गर्छ भन्ने कुरा फरक हो । हामी संसारमा, समाजमा मिलेर बस्न सक्छौँ भन्ने सोचलाई आधार बनाएर फिल्मको विषयवस्तु बुनिएको छ । त्यसैले यो मेरो रोजाइमा परेको हो ।
- तपाईंलाई कस्तो भूमिकामा देख्न पाइन्छ ?
– म एउटा फिल्म खेल्न संघर्षरत व्यक्तिको चरित्रमा छु । एक्टर बन्न उसले के–के गर्नुपर्छ भन्ने विषय फिल्ममा छ ।
- अहिलेसम्मको अभिनय करियरमा कहिले लभरब्वाई, कहिले सामाजिक चरित्रमा सफल हुनुभएको छ । यो फिल्मले कसरी चिनाउला ?
– मैले अभिनय गरेको अहिलेसम्मकै फरक फिल्म हो ‘एक्टर : टेक वान’ । त्यसले एक किसिमको छाप छोड्छ नै । अर्का कुरो, कमर्सियल एलिमेन्ट भएको फिल्ममा कहिल्यै पनि गुदी हुँदैन भन्ने भाष्य यो फिल्मले चिर्छ ।
- अहिलेसम्मका फिल्ममा उत्कृष्ट चरित्र कुन मान्ने ?
– फिल्मको लागि मैले अभिनयको माध्यमबाट यसमा पनि उत्कृष्ट दिने प्रयास गरेको छु । तर, फिल्म हलमा रिलिज भएर अडियन्सले त्यसको रेस्पोन्स नदिएसम्म त भन्न सकिन्न । ‘एक्टर : टेक वान’ बाहेकको कुरा गर्दा प्रकाश, पूजार सार्कीलाई अडियसन्ले त्यो रुपमा लिनुभयो कि ! मेहनत र आस त यो फिल्ममा पनि त्यतिकै गरेको छु ।
- ‘पूजार सार्की’को ८ महिनापछि नयाँ फिल्म आउँदैछ । एउटा हिरोका लागि यो ग्याप ठिकै हो र ?
– म फिल्ममा काम गरिरहेकै छु । यो फिल्म रिलिज कात्तिकमा गर्ने भन्ने थियो । त्यो समय भएको भए ठिक पनि हुन्थ्यो । त्यसो हुँदा ४ महिनामात्र ग्याप हुन्थ्यो । फिल्म निर्माणको काम केही बाँकी भएकाले यो फिल्म कात्तिकमा आउन सकेन । सबै कुरो कलाकारको हातमा हुँदैन । मेरो अर्काे फिल्म पीताम्बर चैतमा लाग्दैछ ।
- प्रदीपको फिल्म आउँदै गर्दा दर्शकमा अभिनय र मनोरञ्जनको रुपमा एक किसिमको अपेक्षा हुन्छ । त्यो अपेक्षा ‘एक्टर : टेक वान’ले कति पूरा गर्ला ?
– फिल्मको विषयवस्तु एकदमै राम्रो छ । यो पात्र यसलाई सुहाएन भन्ने किसिमको कसैकोमा पनि प्रश्न आउँदैन जस्तो लाग्छ । प्रदीप रोमान्स, चकलेटी ब्वाई मै ठिक भन्नेले पनि यस फिल्मबाट निराश हुनुपर्दैन । थ्रिलिङ एक्सपिरियन्स चाहिन्छ भन्नेहरूका लागि पनि फिल्मले मनोरञ्जन दिन्छ । फिल्म सबै पक्षबाट सशक्त छ । फिल्मको कथा एकदमै रोचक छ । यसले दर्शकलाई सुरुदेखि अन्तिमसम्म बाँधेर राख्न सक्छ ।
- ट्रेलर हेर्दा यो फिल्ममार्फत तपाईंले आफूलाई फरक अभिनयमा प्रयोग गरेजस्तो महसुस पनि हुन्छ नि ?
– हो, यो कुरो सही हो । फिल्ममा एउटा १५/२० मिनेटको पार्ट आउँछ । त्यसमा मेरो मुखभरि पट्टी लगाइएको छ । त्यो दृश्यले पनि केही नयाँ छ भन्ने कुरो अनुमान गर्न सकिन्छ । मेरो क्यारेक्टरमा त्यो पनि बेग्लै स्वाद हो कि जस्तो लाग्छ । एउटा ह्वीलचेयरमा बसेको क्यारेक्टर छ । जसको खुट्टा भाँचिएको छ । अनुहार पट्टीले बाँधिएर केही देखिएको छैन । तर, म त्यो गेटअपमा पनि एक किसिमको राम्रो थ्रिल दिन सफल छु जस्तो लाग्छ । त्यो मेरा लागि चुनौतीपूर्ण पनि थियो । त्यसलाई दर्शकले नोटिस गर्नुभयो भने सफल भइयो भनेर मान्नुपर्यो । नोटिस गर्नु भएन भने फरक दिने प्रयास गरेको हो, विफल भयो भनेर चित्त बुझाउनुपर्छ ।
- अब अभिनय गर्न पाए हुन्थ्यो भन्ने भूमिका त्यस्तो केही छ ?
– अहिलेसम्म सबै काल्पनिक चरित्रमा काम गरियो । जस्तो गरे पनि यस्तै सोचेको, परिकल्पना गरिएको थियो होला । अब मलाई मन लागेको भनेको हामीले देखेको, सुनेको पात्रको चरित्र हो । सुनेको अनुसार निर्वाह गर्यो कि गरेन भनेर मापन गर्ने एउटा तत्त्व हुन्छ । अहिलेसम्म मापन गर्ने चिज छैन । राम्रो र नराम्रो मानिन्छ । सफल र असफल भनिन्छ । जंगबहादुर, अरुण थापा जो सुन्नमा आएका पात्र छन् नि, ती पात्र बन्न मन छ । ती जीवन्त पात्र निर्वाह गर्न पाइयो भने करियरमा एउटा अर्काे राम्रो काम हुन्थ्यो कि भन्ने छ ।
- आगामी योजना के के छन् ?
–‘एक्टर : टेक वान’पछि पीताम्बर रिलिज छ । पीताम्बर पछि ‘ऐरी’को सुटिङ गर्ने तयारी गर्दैछु । त्यसपछिका लागि एक, दुई प्रोजेक्टको अध्ययन कार्य भइरहेको छ ।
- फिल्म वितरण, भ्याटिनी भ्यान, रेस्टुरेन्ट व्यवसाय लगायतमा समेत हात हाल्नुभएको छ नि, अभिनयको भरोसा नभएर हो ?
– अभिनयमा मात्र धेरै समय सदुपयोग नभइरहेको हो कि जस्तो महसुस भयो । फिल्मको रिलिजदेखि कतिपय काममा म समय दिन्छु । त्यस बाहेकको समय, बिहान, बेलुकाको समय पीआर, नेटवर्कका लागि मैले सदुपयोग गर्न सक्छु जस्तो लागेको छ । त्यसको सँगसँगै भ्यानिटी भ्यानको कुरो फिल्मसँगै रिलेटेड हो । क्यामरा मेनले क्यामराको महत्त्व बुझे झैँ म कलाकार भएकाले भ्यानिटी भ्यान महत्त्वपूर्ण लागेर भित्र्याएको हो ।
रेस्टुरेन्टको कुरा गर्दा मिटिङ प्वाइन्ट होस् भनेर, व्यवसायभन्दा पनि अफिसको हिसाबले सुरु गरेको हो । फिल्म वितरण त नेपालभित्र राम्रो हुन्छ । विश्वबजारमा पनि नेपाली फिल्मलाई प्रचार गर्दै लान आफ्नै सर्कल भयो भने अझ बलियो हुन्छ कि भन्ने हिसाबले प्रयास गरिरहेको छु । जे–जति काम गर्न खोजेको छु, फिल्मसँग रिलेटेट इकोसिस्टममा काम गर्न खोजिरहेको छु ।
- नवअभिनेत्री दिव्या रायमाझीसँगको प्रेमको कुरा रिलमा मात्र हो कि रियल नै हो ?
– यो रिलको कुरो हो । रिलमा पनि प्रेम छ कि छैन । त्यो अहिले भन्न मिल्दैन । त्यसका लागि फिल्म हेर्नुपर्छ । रियलमा त झन् प्रेम सम्भावना नै नभएको कुरो हो । फिल्मको चर्चाका लागि, दिव्यालाई दर्शकले नोटिस गर्दै गर्दा दुई जनाको जोडी राम्रो देखिएर पनि होला । फिल्मको चर्चाका लागि यो कुरो राम्रै होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तामा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कृष्णप्रसाद सिटौला
-
सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम
-
‘पार्टी टुक्र्याउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’
-
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
-
अध्यादेशबारे प्रधानमन्त्रीको प्रस्टीकरण : संसद् नचलेकै बेला हो ल्याउने
-
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश