मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

नेपाली राजनीतिमा झुट, अवसरवाद र जनताको निरन्तर शोषण

शुक्रबार, १८ माघ २०८१, १० : १२
शुक्रबार, १८ माघ २०८१

नेपाली राजनीतिको मूल चरित्र अवसरवाद, झुट र जनताको निरन्तर शोषण बनेको छ । नेताहरूले सत्ता प्राप्ति र आफ्नो स्वार्थ पूर्तिका लागि नीतिगत स्पष्टताभन्दा व्यक्तिनिष्ठ राजनीति अँगालेका छन् । जनताका लागि गरिएका प्रतिज्ञाहरू कागजमा मात्र सीमित रहन्छन् । व्यवहारमा तिनको कुनै असर देखिँदैन । पार्टीका अधिकांश कार्यकर्ता इमानदार र संघर्षशील देखिए पनि तिनलाई केवल मतदाता बनाउने माध्यमका रूपमा प्रयोग गरिएको छ । चुनावी घोषणापत्रहरू पटक–पटक उल्टिन्छन्, विचारधाराहरू परिस्थितिअनुसार फेर्ने गरिन्छ । गठबन्धनहरू केवल संख्यात्मक समीकरणमा सीमित हुन्छन् । यस्तो प्रवृत्तिले आम नागरिकमा निराशा बढ्दै गएको छ । 

नेपाली नेताको राजनीति सिद्धान्तमा नभएर सत्तामा केन्द्रित छ । सत्तामा पुग्नका लागि स्थिरता, सुशासन र निष्ठाका ठुला भाषण दिन्छन् तर जब परिस्थिति बदलिन्छ ती सबै प्रतिबद्धता बिर्सन्छन् । चुनावअघि एउटै गठबन्धनको पक्षमा भाषण गर्छन् तर चुनावपछि सत्ता समीकरण मिलाउन नयाँ गठबन्धनको ढोका खोल्छन् । विगतका वर्षमा चुनावी घोषणापत्रमा गरिएका वाचा अलपत्र पार्दै आफ्नो स्वार्थ अनुसार गठबन्धन तोड्ने र बनाउने खेल चरम सीमामा पुगेको छ । एकातिर ‘समृद्ध नेपाल’को नारासहित समृद्धिको सपना बाँडिन्छ, अर्कातिर अर्थतन्त्र धराशायी बन्दा पनि सत्ता जोगाउने खेलमै रमाइन्छ । 

संसद् विघटनदेखि सरकार परिवर्तनसम्म सत्तामा टिक्न जुनसुकै नारा दिन सकिन्छ । जुनसुकै दलसँग मिल्न सकिन्छ र जुनसुकै बेला आफ्नै अघिल्लो भनाइलाई अस्वीकार गर्न सकिन्छ । एकपटक संविधानलाई ‘ऐतिहासिक उपलब्धि’ भनिन्छ, अर्काेपटक ‘संशोधन गर्नुपर्छ’ भनिन्छ । एकचोटि ‘स्थिर सरकारको आवश्यकता’ भन्नेहरू सँगै अर्काेपटक ‘संविधानको मर्म विपरीत काम भयो’ भन्नेहरू उभिन्छन् । सत्ता समीकरण मिलाउन कुनै स्पष्ट विचारधारा आवश्यक हुँदैन । चुनावी गठबन्धन चुनावसम्म मात्र सीमित हुन्छ, सरकार बनाउने बेला समीकरण फेरिन्छ, र सरकार टिकाउन फेरि अर्काे सम्झौता गरिन्छ । 

आज जसलाई भ्रष्टाचारको पर्याय ठानिन्छ, भोलि उही व्यक्तिलाई सरकारको नेतृत्वमा समर्थन गर्न सकिन्छ । हिजो जसलाई असफल नेता भनियो, आज उही नेतृत्व आवश्यक भयो भनेर समर्थन गरिन्छ । पार्टीहरूबिच देखिने द्वन्द्व केवल बाहिरी सतहमा मात्र छ, भित्रभित्रै सत्ताका लागि बार्गेनिङ चल्छ । यस्तो राजनीति देख्दा लाग्छ— सिद्धान्त, विचारधारा र प्रतिबद्धता केवल चुनावी भाषणका लागि प्रयोग गरिने औजार मात्र हुन् । 

नेपालमा राजनीतिक नैतिकता कमजोर हुनुमा सत्ता प्राप्तिका लागि जुनसुकै गठबन्धन गर्न सकिने मानसिकता मुख्य कारक बनेको छ । सत्ता टिकाउने खेलमा दलहरूले आफ्ना नीतिगत दृष्टिकोणहरूलाई मात्र होइन, आफ्नै अस्तित्वलाई समेत बार्गेनिङका सामान बनाएका छन् । २०७४ मा स्थिर सरकार बनाउने भन्दै एमाले–माओवादी मिल्दा ‘कम्युनिस्ट युग’ सुरु हुने दाबी गरियो तर चार वर्षमै ती पार्टीहरूबिच सत्ताको स्वार्थले गहिरो दरार ल्यायो । २०७९ मा कांग्रेस–माओवादी सहकार्य भयो, स्थायित्वको नारा दिइयो तर सरकार गठनका दिनदेखि नै अस्थिरताको संकेत देखिन थाल्यो । २०७९ को राष्ट्रपति निर्वाचनदेखि दलहरूले निरन्तर गठबन्धन तोडफोड गरे । 

नेपालमा राजनीतिक नैतिकता कमजोर हुनुमा सत्ता प्राप्तिका लागि जुनसुकै गठबन्धन गर्न सकिने मानसिकता मुख्य कारक बनेको छ । सत्ता टिकाउने खेलमा दलहरूले आफ्ना नीतिगत दृष्टिकोणहरूलाई मात्र होइन, आफ्नै अस्तित्वलाई समेत बार्गेनिङका सामान बनाएका छन् ।

यति मात्रै होइन, सत्ता केन्द्रित राजनीतिले राष्ट्रिय स्वाधीनता र विदेशनीतिलाई समेत प्रभावित पारिरहेको छ । नेताहरू सत्तामा टिक्न अन्तर्राष्ट्रिय शक्तिसँग समीकरण मिलाउन पछि पर्दैनन् । कहिले भारतप्रति झुकेर, कहिले चीनप्रति नजिकिएर त कहिले पश्चिमी शक्तिहरूसँग गठजोड गरेर नेताहरू सत्ताको समीकरण मिलाउने प्रयास गर्छन् । यो प्रवृत्तिले नेपाललाई बाह्य प्रभावमा परनिर्भर बनाउँदै लगेको छ । स्वाधीनता, राष्ट्रिय हित र स्थिरताजस्ता विषय चुनावी भाषणका लागि मात्र उपयोग गरिन्छन् तर वास्तविकतामा तिनको रक्षा गर्ने कुनै ठोस प्रयास गरिँदैन । 

राजनीति र अवसरवादले गर्दा देशभित्र संघीयता कार्यान्वयनका सवालमा पनि समन्वयको अभाव देखिएको छ । संघीयता लागु भएपछि जनताको शासन बलियो हुन्छ भन्ने भनाइहरू दिइए तर प्रदेश सरकारहरू (भलै यिनको औचित्यको बारेमै गम्भीर प्रश्नहरू उठिराखेका छन्) केन्द्रसँग निर्भर बनाइए । स्थानीय सरकारहरूलाई अधिकार प्रत्यायोजन गरिन्छ भन्ने वाचा गरियो तर तिनलाई आवश्यक स्रोत–साधन नै दिइएन । यस्तो असमान राजनीतिक संरचनाले देशको आर्थिक, सामाजिक र प्रशासनिक स्थायित्वलाई नै धराशायी बनाइरहेको छ । 

अब प्रश्न उठ्छ— यस्तो झुट, अवसरवाद र निरन्तर शोषणको राजनीति नेपाली जनताले कहिलेसम्म सहनु ? तिनले पटक–पटक चुनावमार्फत परिवर्तनको आशा गरेका छन् तर नेताहरूको स्वार्थकेन्द्रित राजनीति झन् विकृत बन्दै गएको छ । यस परिस्थितिबाट बाहिर निस्कनका लागि अब राजनीतिक सुधारको अभियान पार्टीभित्रैबाट सुरु हुनुपर्छ । जनताले मात्र होइन, पार्टीभित्रका इमानदार कार्यकर्ताले पनि नेतृत्वको शुद्धीकरणका लागि विद्रोह गर्नुपर्छ । 

प्रत्येक दलका इमानदार कार्यकर्ताले ‘बम्बार्ड द हेडक्वार्टर’ (मुख्यालयमै आक्रमण गर)को भावनाले आफ्नै पार्टीभित्रको अवसरवाद, अनैतिक गठबन्धन र सत्ता स्वार्थका विरुद्ध आवाज उठाउनुपर्छ । नेताहरूले पार्टीलाई व्यक्तिगत सम्पत्ति जस्तो बनाएर चलाउन रोक्नुपर्छ । चुनावका समयमा नेताहरूले गर्ने झुटका विरुद्ध सचेत नागरिक समाज र युवाहरूले प्रतिरोध गर्नुपर्छ । अब वाचा पूरा नगर्ने, नीतिविनाको गठबन्धन गर्ने र जनताको भावना कुल्चने नेतालाई गलहत्याउने बेला आइसकेको छ । 

नेपाली राजनीतिमा यो अराजनीतिक संस्कार अर्थात् झुट, अवसरवाद र जनताको निरन्तर शोषण घाम जत्तिकै छर्लङ्ग छ ।  नेताहरूले बोल्ने र गर्नेबिचको अन्तरमा जनताले कुनै भ्रम पाल्न आवश्यक छैन, यो नियोजित बेइमानी हो । यसखाले निराशाजनक अवस्थाबाट बाहिर आउन अबको राजनीतिलाई केवल सत्ता टिकाउने खेल मात्र बन्न दिने बेला छैन । जनताको हकहितलाई केन्द्रमा राखेर सचेत हस्तक्षेप गर्दै अघि बढ्ने अभ्यास अनिवार्य छ । जनताले आफ्नो विवेक प्रयोग गरी मौकावाद र झुट बोल्नेहरूलाई चिनेर सही निर्णय लिनुपर्छ । केवल चुनावी भाषण र आश्वासनमा होइन नेताहरूका विगतका काम र उनीहरूले देखाएको व्यवहारको आधारमा समर्थन वा अस्वीकार गर्नुपर्छ । 

हामी यो अन्यायपूर्ण राजनीतिक संस्कृति तोड्न असमर्थ भयौँ भने अब आउने पुस्ताले झनै अन्धकार भविष्य भोग्नुपर्नेछ । त्यसैले सुधारको सुरुवात आजैबाट हुन आवश्यक छ । प्रत्येक पार्टी भित्रैबाट सचेत कार्यकर्ताले र प्रत्येक नागरिकको आफ्नो हैसियत र निर्णयले खराबका विरुद्ध आवाज बुलन्द गर्नुपर्छ । जबसम्म जनता मौन बस्छन् तबसम्म अवसरवादी राजनीति झन् मौलाउँदै जानेछ र देशले नसोचेको अवस्था बेहोर्नुपर्नेछ । बेलैमा हेक्का होस्, मौनताको समय अब छैन ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चूडाप्रसाद ढकाल
डा. चूडाप्रसाद ढकाल
लेखकबाट थप