धेरैको रोजाइमा पर्दापर्दै कसरी धराशायी भयो हेटौँडा सिमेन्ट उद्योग ?
मकवानपुर । भौतिक संरचना निर्माण क्षेत्रमा कुनै समय हेटौँडा सिमेन्टको दबदबा नै थियो । सामान्य नागरिकले घर बनाउनु पर्दा होस् वा सरकारी तथा निजी लगानीमा ठुला भौतिक संरचना निर्माणमा हेटौँडा सिमेन्ट पहिलो रोजाइमा पर्दथ्यो ।
कुनै बेला मागअनुसार उत्पादनले धान्न नसक्दा लाइन लागेरै भए पनि हेटौँडा सिमेन्ट खरिद गर्ने उपभोक्ताको कमी थिएन । अहिले हेटौँडा सिमेन्ट बजारमा देख्नै मुस्किल भइसकेको छ ।
हेटौँडा–९, सिमेन्ट रोडस्थित पशुपति सप्लायर्सका सञ्चालक रामप्रसाद घिमिरेले २०६२/०६३ बाट सिमेन्ट बिक्रीको काम गर्दै आएका छन् । ग्राहकको रोजाइमा उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट नै बढी पर्ने गरेको उनको अनुभव छ । घर निर्माण गर्ने सर्वसाधारणदेखि निर्माण कार्यमा संलग्न ठेकदार, मिस्त्री– जो कोहीले सकेसम्म हेटौँडा र उदयपुर सिमेन्ट नै खोज्ने गरेको उनी बताउँछन् ।
उदययुर सिमेन्ट वा हेटौँडा सिमेन्ट पाइएन भने ग्राहकहरू निर्माणको काम रोकेर भए पनि पर्खिएको थुप्रै उदाहरण रहेको घिमिरे सुनाउँछन् । ‘बजारमा माग हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट कहिलेकाहीँ पाइँदैन । उत्पादन नै नभएपछि सिमेन्ट नपाउनु स्वाभाविकै पनि हो,’ उनले भने, ‘तर मानिसको यत्तिको रोजाइमा पर्दापर्दै हेटौँडा सिमेन्ट उद्योगचाहिँ किन बन्द भइरहन्छ भन्ने कुरामा आश्चर्य लाग्छ ।’
यति धेरै माग भएको सिमेन्ट उद्योग घाटामा नजानुपर्ने उनको आकलन छ । ‘अहिले पनि उद्योग बन्द छ, हेटौँडा सिमेन्ट अहिले बजारमा छैन,’ उनले भने, ‘मानिसहरू हेटौँडा सिमेन्ट खोज्न आइरहेका छन् । नपाएपछि निराश भएर जान्छन् ।’
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग कहिलेकाहीँमात्रै चल्छ । परिणामस्वरुप उद्योग सञ्चालनको खर्र्चसमेत धान्न नसक्दा बर्सेनि घाटामा छ ।
पुराना औजार, आर्थिक मन्दी, कर्मचारी र प्रविधि अभावका कारण हेटौँडा सिमेन्ट उद्योग चल्न नसकेको हो । उद्योग सञ्चालनमा ल्याउन निकै कठिन रहेको व्यवस्थापन पक्ष बताउँछ ।
वर्षभरिमा हेटौँडा सिमेन्ट उद्योग मुस्किलले ३/४ महिनामात्र चल्छ । अधिकांश समय उद्योग बन्द हुँदा दैनिक खर्च, कर्मचारीको तलब–भत्ता र मेसिनरी औजारको मर्मत सम्भारको दायित्व पनि बढ्दो छ ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेका अनुसार आर्थिक अभावका कारण कोइला खरिद गर्न नसकेपछि उद्योग बन्द गर्नुपर्ने अवस्था छ । प्रायः सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादनमा समस्या आइरहेको उनले बताए ।
३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसारको कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजार लगायतका समस्याले उद्योग सञ्चालनमा कठिन भइरहेको महाप्रबन्धक पाण्डेको भनाइ छ । सिमेन्ट बिक्रीसमेत घट्दो क्रममा रहेकाले उद्योगले निरन्तर घाटा व्यहोरिरहेको उनले बताए ।
सञ्चालन खर्चसमेत धान्न नसकेको उद्योग चलाउने कि बन्द गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म निर्णय लिन सकेको छैन । सरकारले हालै निजीकरणका लागि सिफारिस गरेका ९ वटा सरकारी उद्योगमा हेटौँडा सिमेन्ट उद्योग पनि समेटिएको छ ।
पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग सञ्चालनका लागि ठुलो रकम माग भएपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । यद्यपि, निजीकरणको प्रक्रियासमेत अघि बढाइएको छैन ।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गत असोजमा उद्योगको निरीक्षण गर्दै हेटौँडा सिमेन्ट निजी क्षेत्रलाई भाडामा दिनसक्ने आशय व्यक्त गरेका थिए । उनले उद्योग सञ्चालनको विभिन्न मोडलको विषयमा छलफल भइरहेको जानकारी दिँदै छिटै निष्कर्षमा पुग्ने दाबी गरेका थिए ।
२०३३ असोज १३ मा शिलान्यास गरिएको उद्योगले २०४३ बाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार मेट्रिक टन छ । हेटौँडा सिमेन्ट उद्योग अन्तर्गत भैंसे, ओख्रे, मजुवा र जोगीमारासहित ४ वटा खानी सञ्चालनमा छन् ।
- उद्योगमा अघोषित लोडसेडिङको मार
निरन्तर घाटाका कारण समस्या झेलिरहेको हेटौँडा सिमेन्ट उद्योग अघोषित लोडसेडिङका कारण थप मारमा परेको छ । आर्थिक समस्याका कारण कच्चा पदार्थको अभाव र पुराना उपकरण बिग्रिएर गत असोजदेखि बन्द रहेको यो उद्योग अघोषित लोडसेडिङका कारण सञ्चालन हुन सकेको छैन ।
बिग्रिएका उपकरण मर्मत गरेर सञ्चालन गर्ने बताउँदै आएको उद्योग मंसिरदेखि विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङका कारण सञ्चालनमा आउन नसकेको उद्योगका महाप्रबन्धक पाण्डेले बताए । उनका अनुसार उद्योगलाई उपलब्ध गराइएको ग्रिडमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ हुँदै आएको छ । विद्युत् प्राधिकरणले घोषित रूपमा लोडसेडिङ नगरे पनि बिहान र बेलुका ३/३ घण्टा विद्युत अवरुद्ध हुँदै आएको पाण्डेको भनाइ छ ।
उनले नियमित विद्युत् सप्लाईका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेरै आग्रहसमेत गरेको बताए । उनका अनुसार सुक्खा मौसम सुरु भएकाले पर्याप्त मात्रामा विद्युत् उत्पादन हुन नसकेको र भारतबाट समेत बिजुली ल्याउन ढिलाइ भएका कारण उद्योगहरूलाई आवश्यक बिजुली दिन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी गराएका छन् ।
पाण्डेले उद्योग सञ्चालन गर्न सके करिब १ लाख बोरा सिमेन्ट उत्पादन गर्न सकिने कच्चा पदार्थ मौज्दात रहेको जानकारी दिए । उनले हाल उद्योगसँग सिमेन्ट मौज्दात १ बोरा पनि नरहेको बताए ।
- ६ महिनामा २२ दिन चल्यो उद्योग, मर्मत खर्च २९ लाखभन्दा बढी
सञ्चालन खर्च धान्न नसक्दा र पुराना उपकरण बिग्रिरहँदा बारम्बार बन्द हुने गरेको हेटौँडा सिमेन्ट उद्योग चालु आर्थिक वर्षको ६ महिनामा जम्मा २२ दिनमात्र सञ्चालन भएको छ । गत आर्थिक वर्षमा यो उद्योग जम्मा ५२ दिन सञ्चालन भएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाभित्र साउनमा १ दिन, भदौमा १४ दिन र असोजमा ७ दिन गरी जम्मा २२ दिन हेटौँडा सिमेन्ट उद्योग चलेको हो । असोज ७ गते प्राविधिक समस्यापछि बन्द भएको उद्योग अहिलेसम्म चल्न सकेको छैन ।
हेटौँडा सिमेन्ट उद्योगको मर्मत खर्च बढ्दो छ । पछिल्लो ६ महिनाको अवधिमा उद्योगको मर्मत खर्च २९ लाख रुपैयाँभन्दा बढी देखिएको छ । उद्योग प्रशासनका अनुसार उद्योगको मर्मत खर्च २९ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
उद्योगले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सो रकम विभिन्न यन्त्र उपकरण, मर्मत तथा खरिदमा खर्च गरेको हो । उद्योगले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ८३ लाख रुपैयाँ मर्मत खर्च गरेको थियो ।
- आर्थिक वर्ष २०७५/०७६ देखि निरन्तर घाटामा
हेटौँडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५/०७६ यता नियमित घाटामा छ । उत्पादन लागत बृद्धि नै उद्योग घाटामा जानुको मुख्य कारण रहेको उद्योग प्रशासनको दाबी छ । उद्योगका महाप्रबन्धक पाण्डेले उत्पादन लागत बढेका कारण घाटामा गइरहेको बताए ।
‘करिब ८०० रुपैयाँ प्रतिबोरामा उत्पादन गरेको सिमेन्ट लागतभन्दा पनि न्यून मूल्यमा बेच्नुपर्दा स्वाभाविक रूपमा घाटामा गइन्छ । त्यसमा पनि पुराना मेसिन बिग्रिरहन्छन् । पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने अवस्था छैन,’ उनले भने ।
एकातर्फ निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता, अर्कातर्फ पुरानो उपकरण, कच्चा पदार्थको मूल्यवृद्धि, बढ्दो उत्पादन लागत लगायतका कारण उद्योग दिन प्रतिदिन टाट पल्टने स्थितिमा पुगेको छ । हरेक वर्ष उद्योगको घाटा १० देखि १२ करोड रुपैयाँ बढिरहेको छ ।
उद्योग प्रशासनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख नाफामा रहेको उद्योग २०७५/०७६ मा १ करोड ५ लाख रुपैयाँ घाटामा गएको थियो । उक्त वर्ष २० लाख ८६ हजार बोरा सिमेन्ट बिक्री गरेको उद्योगले कुल एक अर्ब ६४ करोड २० लाख रुपैयाँ आम्दानी गरेकोमा एक अर्ब ६५ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।
२०७६/०७७ मा पनि उद्योगको घाटाले निरन्तरता पायो । १४ लाख ५५ हजार बोरा सिमेन्ट बिक्री गरेको उद्योगलाई सो वर्ष २३ करोड ८२ लाख रुपैयाँ घाटा भयो । निरन्तर घाटा व्यहोरिरहेको उद्योगले २०७७/०७८ मा अघिल्लो वर्षको तुलनामा केही कम अर्थात् १७ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । त्यस वर्ष उद्योगले १८ लाख ५३ हजार बोरा सिमेन्ट बिक्री गरेको थियो ।
यस्तै २०७८/०७९ मा जम्मा १६ लाख १३ हजार बोरा सिमेन्ट बिक्री गरेको उद्योगलाई १० करोड ६९ लाख रुपैयाँ घाटा भयो । उक्त वर्ष १६ लाख १३ हजार बोरा सिमेन्ट बिक्रीबाट एक अर्ब ४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको उद्योग सञ्चालनका लागि एक अर्ब १५ करोड ३४ लाख रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा जम्मा ९ लाख ३८ हजार १३८ बोरा सिमेन्ट बिक्री गरेको उद्योगले ६० करोड ५७ लाख ५७ हजार २३३ रुपैयाँ आम्दानी गर्दा २५ करोड ४८ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । हालसम्म उद्योगको सञ्चित घाटा १ अर्ब ४१ करोड ४९ लाख ९७ हजार रुपैयाँ देखिएको छ भने आर्थिक वर्ष २०८०/०८१ को उद्योगको कारोबारको लेखा परीक्षण हुन बाँकी छ ।
गत आर्थिक वर्षमा जम्मा ६ लाख १७ हजार ६११ बोरा र चालु आर्थिक वर्षमा २ लाख ८११ बोरा सिमेन्ट विक्री भएकाले घाटा झनै बढ्ने महाप्रबन्धक पाण्डेले जानकारी दिए । उद्योगको हालसम्मको दायित्व १ अर्ब १३ करोड ५५ लाख ६५ हजार रुपैयाँ देखिएको उनले बताए ।
हाल हेटौँडा सिमेन्टको उत्पादन लागत मूल्य प्रतिबोरा ७६४ रुपैयाँ र बिक्री मूल्य जम्मा ६४९ रुपैयाँ ७५ पैसा छ ।
- तलब भुक्तानी गर्नै कठिन
हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीको तलबमा मात्र मासिक ७६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । उद्योगमा ६५५ जनाको स्वीकृत दरबन्दी रहे पनि हाल महाप्रबन्धकदेखि प्रशासन तथा प्राविधिक कर्मचारी गरी १६६ जना कार्यरत छन् । त्यसबाहेक दैनिक ज्यालामा ९० जनाले काम गरिरहेका छन् भने सुरक्षा गार्ड ५३ जना कार्यरत छन् ।
ज्यालादारी कर्मचारीहरूको मासिक खर्च २२ लाख रुपैयाँ र सुरक्षाकर्मीको तलबमा १४ लाख रुपैयाँ खर्च हुने गरेको छ । सबै किसिमका ३०९ जना कर्मचारी र कामदारको तलबमा उद्योगको मासिक १ करोड १२ लाख रुपैयाँ खर्च हुने गरेको महाप्रबन्धक पाण्डेले बताए ।
उद्योग बन्द भए पनि प्रशासन र प्राविधिक काम भइरहने भएकाले कर्मचारीहरू दैनिक हाजिर भइरहेका छन् । उद्योगले चालु आर्थिक वर्षमा सिमेन्ट बिक्री बापत गरेको आय ८ करोड ७७ लाख ५० हजार रुपैयाँले हालसम्म तलब भत्ता भुक्तानी गरेको उनले बताए । सो बाहेक ठेक्का लागेर सप्लायर्सलाई भुक्तानी हुन नसकेको रकमबाट तलब भत्तामा खर्च भइरहेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगले ६ हजार ५६८.७५ मेट्रिक टन क्लिङ्कर उत्पादन तथा बिक्री गरेको छ भने २ लाख ८११ बोरा सिमेन्ट बिक्री गरेको छ । सो बापत उद्योगले ११ करोड ३२ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ ।
- लगानी भित्र्याउने योजना अलपत्र
उद्योग सञ्चालन तथा निरन्तरताका लागि तयार गरेको २ विकल्पसहितको प्रस्ताव अलपत्र परेको छ । विगत ८ महिनादेखि सरकारको विभिन्न मन्त्रालयमा फन्को मारिरहेको उक्त प्रस्तावबारे निर्णय हुन नसक्दा अलपत्र बनेको हो ।
उद्योगको प्राविधिक अडिटको प्रतिवेदन अनुसार व्यवस्थापन पक्षले उद्योगलाई गतिशील बनाउन आफ्ना २ वटा विकल्प तयार पारेको थियो । उक्त विकल्प अनुसार उद्योग सञ्चालनका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान र जग्गा बिक्रीको प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव व्यवस्थापन पक्षले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरे पनि अगाडि बढ्न नसकेको महाप्रबन्धक पाण्डे बताउँछन् । उद्योगका मेसिन ‘रिप्लेसमेन्ट’का लागि ठुलो पुँजी आवश्यक रहेको उनले बताए ।
प्रविधि रिप्लेसमेन्टका लागि सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको खण्डमा नयाँ प्रविधि स्थापना गरिने उनको भनाइ छ । यसका लागि १६० करोड रुपैयाँ लाग्ने प्रस्ताव पेस भइसकेको उनले जानकारी दिए ।
व्यवस्थापन पक्षले उद्योग सञ्चालनका लागि उद्योगको नाममा रहेको जग्गा अधिग्रहणलाई विकल्पको रूपमा अघि सारेको छ । हेटौँडा सिमेन्ट उद्योगको नाममा रहेको हेटौँडा–९, लामसुरेको १६ बिघा जग्गामध्ये ५ बिघा राष्ट्र बैंकले अधिग्रहण गर्ने गरी व्यवस्थापन पक्षले प्रस्ताव गरेको छ । राष्ट्र बैंकको पहलमा अर्थ मन्त्रालय हुँदै उद्योग मन्त्रालय र विभागबाट हेटौँडा सिमेन्ट उद्योगसम्म सो प्रस्ताव आइपुगे पनि टुङ्ग्याउन नसकिएको महाप्रबन्धक पाण्डेले बताए ।
- नियमित उद्योग सञ्चालन गर्न मजदुरको जोड
समग्र ट्रेड युनियन हेटौँडा सिमेन्ट उद्योग कमिटीका अध्यक्ष कुमार खतिवडाका अनुुसार पछिल्लो समय मर्मतको कारणले उद्योग बन्द भइरहेको छ । सिमेन्टको उत्पादन लागत मूल्य र बिक्री मूल्यमा भएको अन्तरले पनि उद्योग लामो समयदेखि घाटामा रहेको उनले बताए ।
उत्पादनका लागि भएको खर्चभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपर्ने बाध्यताले उद्योगले सञ्चालन खर्चसमेत जुटाउन नसकेको खतिवडा बताउँछन् ।
‘मजदुरले पटक–पटक उद्योग व्यवस्थापनसँग उद्योग नियमित सञ्चालनको वातावरण बनाउन आग्रह गर्दै आएका छौँ । धेरै पटक हामीले लिखित र मौखिक रूपमा उद्योग व्यवस्थापनसँग सिमेन्टको मूल्य समायोजनदेखि उद्योग सञ्चालनको पहलका लागि दबाब दिएका छौँ,’ उनले भने ।
उद्योग प्रसाशनले संघीय सरकारसँग उद्योग सञ्चालनको विकल्पका लागि कुरा गरिरहेको जानकारी गराए पनि समस्या कहिल्यै समाधान नभएको खतिवडाले बताए । उनले भने, ‘सरकार फेरिने बित्तिकै सम्बन्धित मन्त्रीले उद्योग निरीक्षण गरेका हुन्छन् । हामीसँगको कुरामा तत्कालै समस्या समाधान भएर एकदुई दिनमै उद्योग सञ्चालन हुने आश्वासन दिने गरेका छन्,’ उनले भने, ‘तर उद्योग सञ्चालन हुनेभन्दा पनि बन्द नै हुने अवस्थामा पुगेकोजस्तो लाग्न थालेको छ ।’
हेटौँडा सिमेन्ट उद्योगमा पुरानो मेसिन छ । नयाँ खुलेका उद्योगमा नयाँ प्रविधि छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको मेसिन जडान गर्नुपर्ने भए पनि सम्बन्धित निकायले ध्यान नदिएका कारण उद्योग न राम्ररी चल्न सकेको छ, न त बन्द भएको छ ।
पुराना प्रविधिको मेसिन बिग्रिरहने भएकाले लागत खर्च धेरै हुने गरेको उद्योग प्रशासन बताउँछ ।
उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ कोइलाको मूल्य र आयात पनि अर्को समस्या छ । उद्योगको व्यवस्थापन पक्षले समयमै बक्यौता तिर्न नसकेपछि उताबाट कोइला नआउने र उद्योग सञ्चालनमा समस्या हुने गरेको पाइन्छ ।
उद्योग व्यवस्थापनले राम्रोसँग व्यवस्थापन गरिदिने र सरकारले लगानी बढाइदिने हो भने हेटौँडा सिमेन्ट उद्योग फेरि नाफामा जाने खतिवडा बताउँछन् । उनले भने, ‘हामी काम गर्न तयार छौँ तर उद्योग व्यवस्थापनले गर्नुपर्ने समन्वय अभाव र सरकारले ध्यान नदिँदा सयौँ मजदुर–कर्मचारी बिचल्लीमा पर्ने र राज्यको अर्बौंको सम्पत्ति खेर जाला कि भन्ने चिन्ता छ ।’