शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : हेटौँडा सिमेन्ट उद्योग

‘हेटौँडा सिमेन्ट उद्योग जर्जर अवस्थामा छ’

हामीले राज्यसँग अनुदान मागेको होइन, ऋण प्रवाह होस् भनेका हौँ : नरेन्द्र भण्डारी
शुक्रबार, १८ माघ २०८१, ०९ : ४९
शुक्रबार, १८ माघ २०८१

पछिल्लो समय हेटौँडा सिमेन्ट उद्योग सञ्चालनका लागि सरकारले नयाँ सञ्चालक समिति गठन गरेको छ । गत जेठमा नरेन्द्र भण्डारीलाई अध्यक्ष नियुक्त गरी उद्योग सञ्चालनको जिम्मेवारी सरकाले थमाएको छ ।

उनी अध्यक्ष भएलगत्तै उद्योग सञ्चालनका लागि पहल गरिरहेका छन्  तर ठोस नतिजा भने आउन सकेको छैन । भण्डारीले उद्योगमा मन्त्रीहरूको भ्रमण गराउनेदेखि काठमाडौँ पुगेर उद्योगका माग राख्दै आएका छन् । सरकार उद्योग सञ्चालनमा सकारात्मक देखिए पनि सो विषयमा सरकारी तहबाट नीतिगत निर्णय हुन नसकेको उनी बताउँछन् । धराशायी बनेको उद्योगलाई जीवन दिन आफू निरन्तर लागिरहे पनि नतिजा हात पर्न नसकेको उनको भनाइ छ ।

हेटौँडा सिमेन्ट उद्योग किन धराशायी भयो र यसलाई सञ्चालन गर्न के–कस्ता सुधार आवश्यक छन् भन्नेबारे रातोपाटीका लागि गणेश दुलालले सो उद्योगको सञ्चालक समिति अध्यक्ष भण्डारीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, अध्यक्ष भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • हेटौँडा सिमेन्ट उद्योगको अहिलेको अवस्था के हो ?

अहिले हेटौँडा सिमेन्ट उद्योग जर्जर अवस्थामा छ । ५/६ वर्ष यता जम्मा डेढ अर्ब जति घाटामा छ । भदौ–असोजमा २२/२५ दिन चलाइसकेपछि मेसिनमा ब्रिक लाइनिङ झर्ने लगायतका प्राविधिक समस्या देखियो । अहिले त्यसलाई मर्मत गर्ने काम भइरहेको छ । केही अरू टेक्निकल समस्या मर्मत सम्बन्धी काम पनि भयो । मर्मतको काममा पनि व्यवस्थापन र कर्मचारीहरूबिच समस्या भयो र समयमा हुन सकेन तर पनि धिमा गतिमा काम भने भइरहेको छ । छिटो काम गर्न पाएको भए १५/२० दिनमै सबै समस्या हल हुन्थ्यो तर अहिले बल्ल ३ महिनापछि मर्मतको काम सकिने अवस्थामा पुगेको छ ।

  • अहिले उद्योग बन्द हुनुको कारण के हो ?

अहिले बन्द हुनुको कारण मर्मत कै लागि हो । मर्मत सकिँदा पनि किन चलेन भन्नुहुन्छ भने अहिले उद्योगहरूमा लेडसेडिङ छ । सिमेन्ट उद्योग सञ्चालन भइरहेको अवस्थामा निश्चित समय निरन्तर चल्नुपर्छ । नत्र त्यसले कोइला नास गर्छ । लाइन बन्द भयो भने एक पटकमा १०० टनभन्दा बढी कोइला खेर जान्छ, जसले २५ लाख बराबरको नोक्सान हुन्छ । विद्युत् नियमित भयो भने उद्योग निरन्तर चल्ने अवस्था हुन्छ । अहिले बिहान र बेलुका ३/४ घण्टा लेडसेडिङ हुने कारण ‘फायर’ गर्न सक्ने अवस्था छैन । उद्योग अब चल्ने अवस्थामा छ । हामीसँग उद्योग सञ्चालनका लागि आवश्यक सबै स्रोत पर्याप्त छ । १ हजार टन जति स्टकमा कोइला, चाहिने ढुङ्गा, जिप्सन आदि र मेसिनसमेत तयार अवस्थामा छ । २ लाख बराबरको सिमेन्ट उत्पादन गर्न समस्या छैन । तर, निरन्तर उत्पादनको विषयमा भने धेरै विषयमा काम गर्नुपर्छ ।

  • तत्काल सञ्चालनका लागि के पहल भइरहेको छ ?

तत्काल सञ्चालनका लागि हामीले विद्युत् नियमित गर्ने प्रयास गरिहेका छौँ । विद्युत् प्राधिकरणसँग हामीले छलफल गरिसकेका छौँ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल भइरहेको छ । हाम्रोलागि छुट्टै विद्युत् दिन वा अन्य विकल्पमा उद्योग चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । उद्योगमा छुट्टै विद्युत् दिनेगरी प्रसारण लाइन विकास गर्नुपर्ने देखियो । त्यसका लागि हामीले ५० लाख रुपैयाँ खर्चिएर ट्रान्सफर्मर किन्नुपर्ने अवस्था देखियो, जो हाल सम्भव छैन ।

अर्काे भनेको वीरगञ्ज कोरिडोरका लागि लगिएको प्रसारण लाइनको व्यवस्थापन हो, जहाँबाट हामीले विद्युत् प्रयोग गर्दै आएका छौँ । हामीले निरन्तर विद्युत् पाउँदा अरुले पनि प्रयोग गर्ने समस्या भएकाले वीरगञ्ज कोरिडोरमा गएको लाइनलाई बिचमा कटौती गरी उद्योगमा विद्युत् दिने तयारी भएको छ । त्यस विषयमा सरकारी निकायलाई हामी गुहारिरहेका छौँ तर त्यसको नतिजा आएको छैन ।

  • त्यति नहुँदासम्म सुक्खा महिनाभरि उद्योग बन्द हुन्छ ?

ट्रान्सफर्मर किन्न नसक्न र लाइन व्यवस्थापन हुन नसकेका कारण उद्योग बन्द भएको हो । व्यवस्थापन नभएसम्म उद्योग चलाउन सक्ने अवस्था रहन्न ।

  • यो समयमा कति घाटा भयो ?

उद्योग बन्द हुँदा पनि प्रशासनिक खर्च नियमित भइरहेको छ । मासिक एक करोडभन्दा बढी जति रकम कर्मचारीको तलब र अरू दैनिक खर्चमा घाटा हुन्छ ।

  • उद्योगमा कच्चा पदार्थ किन्ने क्षमता पनि छैन भन्ने कुरा छ । खास कुरा के हो ?

उद्योगसँग कच्चा पदार्थ किन्ने नसक्ने अवस्था होइन । हामीले आन्तरिक रूपमा व्यवस्थापन गरिरहेका छौँ तर निरन्तर सञ्चालन गर्ने हो भने लगानी चाहिन्छ । अहिले उद्योगको रज्जु मार्ग खासै काममा आएको छैन । त्यसलाई पुनः चलाउन पनि सकिन्न । यसले बस्ती क्षेत्रमा दुर्घटनाको जोखिम बढाइरहेको छ । केही घटना पनि भएका छन् । त्यसलाई बेच्नेतर्फ लागेका छौँ । ठेक्का लागेर काम भइरहेको छ, जसबाट उद्योगले स्रोत जम्मा गरेको छ । उद्योगको सञ्चालक समितिले उक्त रकम कच्चा पदार्थमा मात्र खर्च गर्ने निर्णयसमेत गरेको छ । त्यो पैसा कर्मचारीको तलबमा खर्च हुँदैन । कच्चा पदार्थ खरिदमै लगाउने भनेका छौँ । जसअनुसार उद्योगमा ४ करोड रकम कच्चा पदार्थ खरिदका लागि हुन्छ ।

  • अहिले सप्लायर्सलाई पनि रकम भुक्तानी हुन सकेको छैन । त्यसतर्फ के भइरहेको छ ?

व्यापारमा घाटा लाग्दै गयो । सप्लायर्सको ५०/६० करोड दायित्व नै छ ।

  • यति समस्या आउनुको कारण के देख्नुभयो ?

व्यक्तिलाई दोष दिनुभन्दा पनि हामी बुझ्नुपर्ने कुरा भनेको २०७२/०७४ को समयमा उद्योग कम थिए । सिमेन्टको रेट पनि राम्रो थियो । ९०० रुपैयाँमा सिमेन्ट बिक्री हुन्थ्यो । त्यो समयमा कच्चा पदार्थको भाउ कम थियो र सिमेन्टको मूल्य बढी हुने गर्थ्यो । त्यस समयमा उद्योगले राम्रै व्यापार गरेको देखिन्छ । त्यसपछिका वर्षहरूमा उद्योग निरन्तर घाटा हुँदै गयो । सिमेन्टको मूल्य घट्यो, उत्पादन राम्रो हुन सकेन ।

उद्योग ४० वर्ष पुरानो मेसिनमा मात्र सीमित भयो । मर्मत गर्ने र चलाउनेमा मात्र सीमित भयो । त्यसमा अन्तरिम व्यवस्थापनले पनि ठुलो भूमिका खेलेको देखिन्छ ।

  • अध्यक्ष बन्दा जुन ऊर्जाको साथ आउनुभएको थियो, त्यस अनुसार काम भयो ? कति सन्तुष्ट हुनुहुन्छ आफ्नो कामबाट ?

इमानदार भएर लाग्छु भनेर आएको थिएँ, लागिरहेको छु । उद्योगको समस्या हल गरेर हेटौँडाको बजारलाई उद्योगमैत्री बनाउने र राज्यको लगानी डुब्न नदिने लक्ष्य हो । सोही अनुसार मेरो अडान कायमै छ र म त्यसलाई आधार बनाएर इमानदार भएर काम गरिरहेको छु । मैले गर्न सक्ने धारणा लिएर अघि बढेको छु तर देखिने गरी नतिजा निकाल्न सकिएको छैन । राज्यलाई घचघच्याउने हो । ठुलो समस्या भइसकेको कारण एक्लै गर्न सकिँदैन भन्नेमा स्पष्ट छु ।

  • राजनीतिक रूपमा कति सहयोग पाउनुभएको छ ?

छलफलमा सहयोग नै पाएको छु तर भौतिक रूपमा सहयोग पाइएको छैन ।

  • तपाईं समर्थक भएको पार्टी सत्तामा छ । प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री पनि एउटै पार्टीको हुनुहुन्छ तर पनि नतिजा नआउनुमा कमजोरी कहाँ रहेछ ?

प्रधानमन्त्री, मन्त्री, सांसदहरू यो उद्योग चलाउनु पर्छ भन्ने पक्षमा सकारात्मक हुनुहुन्छ तर नतिजा आउन सकेको छैन । अल्पकालीन कार्ययोजनाको विषयमा छलफल नै भएको छैन, जसले गर्दा नतिजा दिन नसकेको हो । प्राथमिकता क्रममा निर्धारण नहुँदा दीर्घकालीन सोच रहे पनि सकारात्मक नतिजा दिन नसकेको हो कि भन्ने मेरो धारणा छ ।

  • सरकारबाट नीतिगत निर्णय हुन नसक्नुको कारण के रहेछ त ?

हामीले निरन्तर पहल गरिरहेका छौँ । मन्त्रीज्यूले पनि निर्णय गराउन खोजिरहनु भएको छ तर निर्णय हुन सकेको छैन । पछिल्लो समय सार्वजनिक संघ–संस्था व्यवस्थापन विधेयक आएको छ । घाटामा गएका सार्वजनिक संघ–संस्था, व्यवस्थापनमा भएका कमजोरी लगायत विविध कुराको निकास यो विधेयकले दिन्छ भन्ने विश्वास लिएका छौँ ।

  • तपाईं अध्यक्ष भएपछि उद्योगमन्त्रीलाई हेटौँडा ल्याउनुभयो । मकवानपुरका सांसदलाई पनि साथ लिएर हेटौँडा सिमेन्ट उद्योग सञ्चालनका लागि पहल गरिरहनुभएको छ । प्रधानमन्त्रीले पनि उद्योग चलाउनु पर्छ भनिरहनु भएको छ । तपाईं आफ्नो व्यवसाय छोडेर पनि यसमा लागिपर्नु भएको छ । यसका बाबजुद उद्योग चल्न नसक्नुको मुख्य समस्या के हो ?

माथिल्लो तहबाट नीतिगत निर्णय गर्न कठिन भइरहेको छ । हाम्रालागि हेटौँडा सिमेन्ट उद्योग महत्त्वपूर्ण होला, नेतृत्व तहमा अन्य विषय पनि उत्तिकै महत्त्वका हुन सक्छन्, जसले यस्ता विषयलाई प्राथमिकतामा रोक्न सक्छ । यसलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्छ भनेर सबै लागिरहनु भएको छ । त्यसका लागि ६/८ महिना लाग्न सक्छ ।

अहिले अल्पकालीन रूपमा चलाउँ भन्ने सोच हो । केही समस्या हल गर्नुपर्ने अवस्था छ । सरकारले ऋणका लागि निर्णय गरिदियोस् भनेर लागिरहेका छौँ । राज्यको ऋण हामी ५ वर्षमा तिर्छाैं भनेका छौँ । राज्य अलि फरक मोडलमा जाने कि भन्ने सोचमा पनि छ । अल्पकालीन रूपमा उद्योग चलाउने र दीर्घकालीन समाधानको उपायमा सरकार लागेको बुझेको छु तर, कहाँ तालमेल नमिलेको हो भन्ने थाहा पाउन सकिएको छैन । 

  • उद्योग प्रशासनबाट निर्णय गरेर २ वटा प्रक्रियामा अघि बढाउन सिफारिस पनि भएको थियो । ऋण मोडल र राज्यले लगानी गरिदियोस् भन्ने तपाईंहरूको माग थियो । यो निर्णय हुन सक्ने अवस्था छ कि छैन ?

देख्दा २ देखिए पनि हाम्रो एउटैमात्र मोडल हो । हामीले राज्यसँग अनुदान मागेको होइन । बिग्रेका सामानहरूको मर्मत र पुनर्स्थापनाका लागि ऋण प्रवाह होस् भनेका हौँ तर राज्य फरक ढङ्गले अघि बढिरहेको देखिन्छ । हामीले प्रस्ताव राखे पनि सरकार दीर्घकालीन रूपमा काम गर्ने रणनीति बनाउन अघि बढेको देखिन्छ । अहिले निजीकरण गर्ने विषय पनि आइरहेको छ । केही मोडलमा छलफल भइरहेको छ । पूरै बेच्ने हो कि सेयर बेच्ने भन्ने विकल्पमा छलफल भएको छ भन्ने बुझेको छु ।  

  • अब हेटौँडा सिमेन्ट उद्योगको अवस्था के हुन्छ त ?

उद्योग कुन मोडलमा चल्ने, राज्यले के भन्छ भनेर कुर्नपर्ने अवस्था छ अहिले । केही वर्ष लाग्छ भनेर हामीले अल्पकालीन रूपमा उद्योग चलाउन २० करोड अनुदान मागेका छौँ । त्यसका अलावा अरू कुनै तरिकाबाट उद्योग चलाउने आधार तयार गरिदेऊ भनिरहेका छौँ । हामीले स्थानीयस्तरमा यहाँका राजनीतिक दलहरूसँग मिलेसम्म छलफल चलाउँदै आएका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप