शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : हेटौँडा सिमेन्ट उद्योग

योजना मिलेको खण्डमा कमजोर प्रविधिबाट पनि उपलब्धि हुन सक्छ

शुक्रबार, १८ माघ २०८१, ०९ : ३५
शुक्रबार, १८ माघ २०८१

नेपालको दोस्रो सिमेन्ट उद्योग हो हेटौँडा सिमेन्ट उद्योग । २०३३ असोज १३ गते शिलान्यास भई २०४३ मंसिर २६ गतेदेखि यो उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको देखिन्छ । एशियाली विकास बैंकको ऋण सहयोगमा स्थापित यस उद्योगको मिलको आयु १८ र खानी–ढुङ्गा सम्बद्ध उपकरणको ५ वर्षको हो ।

यो उद्योगका प्रायः सबै मेसिन र उपकरणहरूको नयाँ व्यवस्थापन आवश्यक छ । समयको प्रवाहसँगै विज्ञानले ठुलो फट्को मारेको छ । हेटौँडा सिमेन्ट उद्योगमा पुरानो प्रविधिसँग म्यानुअल मेसिनहरूका कारण जनशक्ति, ऊर्जा, सञ्चालन र मर्मत खर्च बढी आउँछ । फेरि पनि सम्बद्ध मन्त्री, विज्ञ प्राविधिक, प्रशासनबिचको राम्रो संयोजन मिलेको खण्डमा कमजोर र पुराना मेसिन तथा प्रविधिबाट पनि ठुलो उपलब्धि हुन सक्दो रहेछ भन्ने मैले विश्वास लिएको छु ।

तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीबाट २०७३-७६ सम्म ३ वर्षको लागि म अध्यक्षका रूपमा नियुक्त भएँ । तत्कालीन अवस्थामा उद्योग ८२ करोड घाटामा थियो तर २०७६ मा मैले आफ्नो कार्यकाल सकेर निस्किँदा १६ करोड नाफामा भएको देखिन्छ । त्यसका लागि म यस उद्योगका कर्मचारी, मजदुर साथीहरू र प्रेमशंकर सिहंजीलाई विशेष धन्यवाद दिन चाहन्छु ।

हुन त हामी सबैलाई प्रेरित गर्ने उद्योगमन्त्रीको नियत खराब भइदिएको भए, उद्योगबाट चन्दा र कमिसन खोजेको भए न त हामीले सबैलाई सही रूपमा परिचालन गर्न सक्थ्यौँ, न त परिणाम निकाल्न सक्थ्यौँ । राज्य चलाउने नेतृत्व असल भएमा कमजोर सामग्रीबाट पनि निकै राम्रो परिणाम निकाल्न सकिने रहेछ भन्ने उदाहरण त १८ वर्ष आयु भएको मेसिन र ५ वर्ष आयु भएको ढुङ्गाखानी सम्बद्ध उपकरणबाट पनि ३३ वर्षपछि इतिहासमा सबैभन्दा राम्रो उत्पादन तथा बिक्रीले प्रमाणित गरेकै छ ।

हुन त म कार्यकारी अध्यक्ष होइन तर पनि सरकारको निकट निष्पक्ष व्यवहारमा रही आर्थिक प्रलोभनमा नपर्ने हो भने सबैको सल्लाह र सहकार्यमा राम्रो परिणाम निकाल्न सकिन्छ । भनिन्छ– संस्थान बिगार्ने र सपार्नेमा प्रमुख हात सम्बद्ध मन्त्रीको हुन्छ । राम्रो मन्त्री हुँदा सबैलाई अनुशासनमा राख्न सकिन्छ ।

कतिपयले उद्योग बिगार्नुमा मजदुरको भूमिका हुन्छ भन्छन् । मेरो ३ वर्षे बसाइमा कांग्रेस निकट, एमाले निकट र माओवादी निकट मजदुर संघ–संगठनबाट कुनै समय असहयोग भएन । उहाँहरू उद्योगको अहितमा गएको पनि मैले पाइनँ । मजदुरदेखि प्रशासन तर्सने र प्रशासनदेखि मजदुर तर्सने कारण एकले अर्काेलाई बुझ्ने र बुझाउनेमा पनि समस्या छ ।

यस संरचनालाई मन्त्री प्रशासन र मजदुर मिल्यो भने त नाफा हुने रहेछ नि भनेरमात्र बुझियो भने पनि गल्ती हुनेछ । हामीले हाम्रा छिमेकमा चलेका उद्योगहरू हेरौँ, प्रतिदिन ३ हजारभन्दा बढी क्षमतामा जम्मा ३०० भन्दा कम जनशक्तिबाट सञ्चालन गरी प्रचुर मात्रामा फाइदा कमाएको देखेका छौँ ।

त्यसैले तत्कालीन अवस्थामा हाम्रो बोर्ड बैठकले उद्योगको क्षमता वृद्धि गरी प्रतिदिन २ हजार ८०० मेट्रिक टन पुर्‍याउने, त्यसका लागि स्वचालित मेसिन जडान गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो । एउटा मन्त्रीले पूर्ण कार्यकाल चलाउन नपाउँदै अर्को मन्त्री आउनाले त्यो निर्णयलाई निष्कर्षमा पुर्‍याउन पाइएन । त्यसैको परिणाम आजसम्म हेटौँडा सिमेन्टले भोगिरहेको छ ।

  • क्षमता अभिवृद्धिको पर्खाइमा

उद्योगको उपकरण विस्थापन तथा नयाँ उपकरण जडानका लागि ठुलो पुँजीको आवश्यकता रहन्छ । उद्योगमा हाल २९५ स्थायी कर्मचारी कार्यरत छन् । उनीहरूको सेवा–सुविधा तथा कार्यभारको व्यवस्थापनसमेत जरुरी छ । हाल उद्योगमा उत्पादित सिमेन्टको लागत औसतभन्दा १२८.०३ रुपैयाँ धेरै छ । उद्योगको अवस्था सुधार गर्न उक्त लागत मूल्यमा कम गर्न जरुरी रहन्छ भने ३३० दिन प्रतिवर्ष उत्पादन गर्ने र क्षमता अभिवृद्धि गर्न जरुरी छ । पुरानो र म्यानुअल मेसिनहरूका कारण बढी लागत लाग्ने समस्या छ । उत्पादन लागत घटाउनु अहिलेको आवश्यकता हो ।

उद्योगको अवस्था सुधारका लागि बिक्री तथा बजार व्यवस्थापन गर्नुपर्ने हुन्छ । गुणस्तरका कारण हेटौँडा सिमेन्टको बजार माग उच्च रहे पनि अन्य निजी कम्पनीहरूको भन्दा हेटौँडाको लागत मूल्य अधिक हुँदा प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्था छ । त्यसमा सुधार आवश्यक रहन्छ । ऊर्जा, जनशक्ति, सञ्चालन र मर्मतमा भइरहेको बढी खर्चलाई नियन्त्रणको नीति अवलम्बन गर्नुपर्दछ । यी कार्य गर्न सकेको खण्डमा मात्र उद्योगको अवस्थामा सुधार आउन सक्छ ।

उद्योगको भैंसे, ओखे, मजुवा र जोगिमारामा चुनढुङ्गा खानीको व्यवस्थापनसँगै गुणस्तरीय चुनढुङ्गाको उत्पादन गर्नुपर्छ । त्यसका लागि नयाँ चुनढुङ्गा खानीको पहिचान तथा उत्पादनमा जोड दिनुपर्छ । उद्योगको उत्पादन सुधार गर्न आवश्यक गुणस्तरीय ७८० टीपीडी क्लिंकर प्लान्ट सञ्चालनका लागि करिब १ हजार ४०० मेट्रिक टन चुनढुङ्गाको व्यवस्थापन गर्नुपर्छ । गुणस्तर नियन्त्रण शाखाका अनुसार ओख्रेको गुणस्तर घट्दै गएकाले त्यसको उचित व्यवस्थापन गरी उद्योगलाई आवश्यक चुनढुङ्गा मध्ये ३० प्रतिशत चुन र ४६ प्रतिशत क्याल्सियम अक्साइड सहितको उच्च गुणस्तरको हुन आवश्यक छ । उक्त कच्चा पदार्थको प्रयोगबाट प्रतिवर्ष २७० दिन उद्योग नियमित सञ्चालन गर्नुपर्छ ।

प्रमुखतः उद्योगको पुरानो मेसिनरी औजारको विस्थापन अहिलेको आवश्यकता हो । जसका लागि टीपीडी प्लान्टको क्षमता अभिवृद्धि गरी २ हजार ८०० टीपीडी पुर्‍याउनु पर्ने हुन्छ । उद्योगमा रहेको ३०० मेट्रिक टन प्रतिघण्टा क्षमताको ह्यामस क्रसर परम्परागत र पुरानो प्रविधिको छ । जसबाट कच्चा पदार्थको समिश्रण बनाउन निकै कठिन भइरहेको छ । निकै पुरानो बल मिल, वे फिडर, प्रि ज्याकिङ्ग, लुब्रिकेटिङ्ग र मेन मोनिटरिङ्गमा समस्या भइरहेको छ । वे फिडर, इनलेट सिल, किल्न गर्न गियर, ग्राभेल बेड फिल्टर, कुलर, कोइला फिडर र ग्राइन्डिङ्ग प्रणाली, प्रोसेस इरर किल्ल रोल, उपकरण र नियन्त्रण यन्त्र, सबै विद्युतीय उपकरणहरू र तिनको नियन्त्रण प्रणालीहरूमा समस्या छ ।

सिमेन्ट मिलको डाइनामिक एअर सेप्रेटर धेरै पटक बिग्रिरहेको छ । अत्यधिक विद्युत् खपत गरी थोरै उत्पादन दिने, रोटरी प्याकिङ मेसिन जडान आवश्यक छ ।

  • उद्योगको क्षमता अभिवृद्धि जरुरी

उद्योगको दीर्घजीवनका र बजारको बढ्दो मागलाई सम्बोधन गर्नका लागि क्षमता अभिवृद्धि जरुरी छ । उत्पादन मूल्य घटाउन र गुणस्तर बढाइ अन्य उद्योगहरूसँग प्रतिस्पर्धी बनाउन अहिलेको आवश्यकता समेत हो । नयाँ प्रविधिका मेसिन तथा उपकरणहरूका माध्यमबाट उत्पादनलाई प्रभावकारी बनाउने भएकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

७५० टीपीडीबाट २ हजार ८०० टीपीडी क्षमता अभिवृद्धिका लागि आवश्यक तत्त्वहरू व्यवस्थापन गर्नुपर्ने देखिन्छ । मर्मतको सट्टा सबै मेसिन प्रतिस्थापन, पुराना विद्युतीय सामग्री तथा उपकरणहरूको सुधार गरिनुपर्छ । उच्च गुणस्तरयुक्त चुनढुङ्गा रहेको कम्तीमा पनि एउटा थप खानीको व्यवस्था आवश्यक छ । नयाँ आयोजना सञ्चालनका लागि प्रबन्धक, मेकानिकल इञ्जिनियर, इलेक्ट्रिकल इञ्जिनियर, सिभिल इन्जिनियर र माइनिङ इन्जिनियर वा भूगर्भविद् रहेको एउटा सक्षम आयोजना समूह तयार गरिनुपर्दछ ।

उद्योगको क्षमता अभिवृद्धि आयोजना कार्यान्वयनका लागि आयोजना अवधि निर्धारण गरी अघि बढ्नु पर्दछ । आयोजना निर्माण अवधि सुरु भएको २१ देखि २२ महिनाभित्र उत्पादन सुरु गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ । सो आयोजना सञ्चालनका लागि सरकारले ४ अर्ब ६२ करोड ३३ लाख २८ हजार रुपैयाँ लगानी गर्नुपर्दछ ।

उक्त लगानीबाट उद्योगले प्रतिदिन २८०० मेट्रिक टन क्लिंकर उत्पादन गर्दछ भने वार्षिक ३३० दिन उद्योग सञ्चालन गरी उत्पादन क्षमता ९ लाख २४ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नुपर्दछ । क्षमताको ८० प्रतिशतमात्र उत्पादन गर्दा प्रतिवर्ष ७ लाख ३९ हजार मेट्रिक टन उत्पादन गरी उद्योग सञ्चालनको मोडल तयार गर्नुपर्दछ ।

नयाँ प्रविधिसहित हेटौँडा सिमेण्ट उद्योगको क्षमता अभिवृद्धि पश्चात् इन्धन खपतमा कमी आउँछ । श्रम मूल्यमा कमी आउनुको साथै ऊर्जा खपतमा घटाएर उद्योगको उत्पादन लागतसमेत कम गरिनुपर्छ । उत्पादन गर्ने क्रममा विभिन्न शीर्षकमा हुने अर्थमा कमी ल्याएर उत्पादन बढाउनेतर्फ उद्योग केन्द्रित हुनुपर्दछ । नयाँ प्रविधिका मेसिनहरू वातावरणीय दृष्टिले उपयुक्त हुने र ध्वनि तथा वायु प्रदूषणमा कमी ल्याउने भएकाले आर्थिक रूपले समेत उद्योगलाई फाइदा पुग्दछ ।

(न्यौपाने हेटौँडा सिमेन्ट उद्योगमा २०७३-०७६ सम्म अध्यक्ष थिए । न्यौपानेसँग रातोपाटीका लागि गणेश दुलालले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रघुरमन न्यौपाने
रघुरमन न्यौपाने
लेखकबाट थप