ब्राण्ड बनेको हेटौँडा सिमेन्ट उद्योग कसरी धरमरायो ?

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड अहिले धराशायी बनिरहेको छ । निजी क्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योग जुर्मुराएको अवस्थामा सरकारी स्वामित्वको उद्योग धराशायी हुनु आफैँमा अनौठो हो ।
एशियाली विकास बैंकको ऋण सहयोगमा स्थापित गरिएको यो उद्योगको उत्पादन क्षमता दैनिक १६ हजार बोरा (८ टन) छ । यद्यपि, यो उद्योग हाल बन्दजस्तै अवस्थामा छ ।
उद्योग सञ्चालन र उत्पादनको टुङ्गो छैन । बन्द अवस्थाको उद्योगका मेसिनरी औजार जीर्ण बनिरहेका छन् । उद्योग सञ्चालन हुन नसक्दा निरन्तर रूपमा घाटा बेहोर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर उद्योगको आर्थिक दायित्व दिन प्रतिदिन बढिरहेको छ ।
हेटौँडा सिमेन्ट उद्योगले हाल ३५ जना कर्मचारीलाई अवकाशपछि निवृत्तिभरणको सेवाको रकम तथा उद्योगको बिजुली, पानीको भुक्तानी गर्न सकेको अवस्था छैन । अनेक समस्याका बिच संरचनामा मात्र रहेको उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारे प्रस्ट निर्णय हुन सकेको छैन । उद्योगको भविष्यका विषयमा उचित निर्णय हुन नसक्दा आर्थिक भार बढाउने काममात्र भइरहेको छ ।
करिब १५० बिघा क्षेत्रफलमा रहेको उद्योगको सोही अनुपातको क्षेत्रमा खानी क्षेत्र छ । उद्योग क्षेत्र र खानी क्षेत्र गरेर उद्योग अन्तर्गत करिब ३०० बिघा जग्गा छ । हेटौँडा सिमेन्टले क्लिङ्करसमेत आफैँ उत्पादन गर्दछ ।
कुनै समय यो उद्योग ८० प्रतिशत क्षमतामा सञ्चालित थियो । उद्योग सञ्चालनका लागि कच्चा पदार्थको अभाव छैन । कच्चा पदार्थ सङ्कलनमा पनि कुनै विवाद छैन । क्वालिटीको मामलामा अब्बल यस उद्योगको उत्पादन धेरैको रोजाइमा पर्दछ । निजी उद्योगहरूको सिमेन्टको दाम ४८० रुपैयाँ प्रतिबोरा हुँदा यसको उत्पादन ६८० रुपैयाँ प्रतिबोरासम्ममा बिक्री भइरहेको थियो । यसले पनि यो उद्योगको उत्पादन कति गुणस्तरीय र लोकप्रिय थियो भन्ने बुझ्न सकिन्छ ।
हाल हेटौँडा सिमेन्ट उद्योग न सञ्चालनमा छ, न त बिक्रीका लागि तयारी वस्तु नै गोदाममा छ । उद्योगको गोदाम रित्तो छ, कर्मचारी कामविहीन छन् । उद्योग चल्न नसक्दा प्रशासनिक खर्च बढेको बढ्यै छ । उत्पादन शून्य छ । मेसिनरी औजार केही बिग्रिएका छन् भने केही जीर्ण अवस्थामा छन् । जसोतसो मर्मतको भरमा उद्योगले आक्कलझुक्कल उत्पादन गर्दछ ।
हेटौँडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन सुरु गरे यता धेरै वर्ष राम्रै बजार पायो । त्यतिबेला बजारमा यसले एकछत्र राज गरेको थियो । त्यसैले यो उद्योगले आफ्नो स्थापना लागत उठाइसकेको हुनुपर्ने हो । उद्योग पहिला जुन रफ्तारमा चलेको थियो, त्यसले पर्याप्त मात्रामा चालु पुँजीको व्यवस्थापन भइसकेको हुनुपर्ने हो तर त्यस्तो अवस्था देखिँदैन । अलि अगाडिको प्रविधि भएको हुनाले भर्खरै स्थापना भएका उद्योगको तुलनामा हेटौँडा सिमेन्ट उद्योगको केही मात्रामा उत्पादन लागत बढी होला । उद्योग स्थापना लागत उठिसकेको अवस्थामा यसले अरू उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति होइन । त्यसो हो भने यो किन बारम्बार संकटमा पर्दछ ? यो विषय गम्भीर बनिरहेको छ ।
हाल आएर त उठ्नै नसक्ने गरी थलिएको अवस्थामा हेटौँडा सिमेन्ट पुगेको विभिन्न माध्यमहरूबाट सुन्नमा आएको छ । आर्थिक वर्ष २०४२/०४३ मा सिमेन्ट उत्पादनको सुरुवात गरेको हेटौँडा सिमेन्टले लगभग सबै मेसिन विस्थापित गर्नुपर्ने अवस्था छ । उक्त कार्यका लागि राज्यले ठुलो पुँजी लगानी गर्नुपर्ने हुन्छ । हेटौँडा सिमेन्ट उद्योगले विभिन्न आर्थिक वर्षमा मेसिनरी औजार विस्थापन तथा नयाँ जडानका लागि कार्ययोजना समेत बनाएको देखिन्छ तर कार्यान्वयन हुन सकेको छैन ।
हेटौँडा सिमेन्ट उद्योग नेपाल गुणस्तर तथा नापतौल विभागबाट ‘शक्ति’ ब्राण्डको ओपीसी सिमेण्टको गुणस्तर चिह्न ‘एनएस ४९–२०४१’ प्राप्त गर्न सफल भइसकेको छ । आफ्नै स्वामित्वमा प्रचुर मौज्दात र गुणस्तर सहितका ४ वटा चुनढुंगा खानी रहेकाले गुणस्तर कायम गर्न प्रशस्त विकल्प छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड पूरा गर्नुको अतिरिक्त जर्मनस्तरको मापदण्ड (डिआइएन–११६४ पिजे ३५ एफ) अनुसारसमेत नियमित गुणस्तर परीक्षण गर्ने गरिएको छ । तोकिएको तौलमै उपलब्ध हुने गरेको हेटौँडा सिमेन्ट गुणस्तरको मामलामा उच्चतम सावधानीका साथ कायम गरेको देखिन्छ ।
सरकारी स्वामित्वमा सञ्चालित ठुला उद्योगहरूको हालत प्रायः यस्तै रहेको हामी पाउँछौँ । व्यवस्थापकीय रूपमा उचित निर्णय हुन नसक्दा सरकारी उद्योगहरू धराशायी बनिरहेका छन् । हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट कारखाना यस्ता थुप्रै उदाहरण पाउँछौँ । यी उद्योगहरूको उचित व्यवस्थापन तथा संरक्षण हुन सकेको छैन ।
यसका केही कारण छन्ः
(क) चरम राजनीतिक कारण (नियुक्ति, बिक्री, सञ्चालनमा)
(ख) भद्दा व्यवस्थापकीय संरचना
(ग) ट्रेड युनियन (हाबी हुनु)
(घ) इमानदारिता, नैतिकता र लगनशीलताको अभाव
(ङ) परिवर्तनीय प्रविधिहरूलाई समयमै अवलम्बन नगर्नु
माथि उल्लेख गरिएका विषयहरूलाई मध्यनजर गर्दै बजारमा गुणस्तरीय सिमेन्ट उचित मूल्यमा उपभोक्ता समक्ष पुर्याउनका लागि हाल भएको व्यवस्थापकीय संरचनालाई पूर्ण रूपले परिवर्तन गर्नुपर्दछ । चुस्त, पारदर्शी र नैतिकवान् व्यवस्थापकीय संरचना तयार गरी आवश्यकता अनुसार आधुनिक प्रविधिमा क्रमशः परिणत गर्दै उद्योग सञ्चालन गर्नु उचित हुने देखिन्छ ।
(लेखक पोखरेल बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता
-
‘कोशी’ नामबारे माओवादीको दोहोरो नीति कहिलेसम्म ?