शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफी क्रिकेट : पूर्वाधार निर्माणको काम समयमै सकिनेमा आशंका

शुक्रबार, १८ माघ २०८१, ०९ : ०१
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदै छ । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुनेछ । 

भारतले भने च्याम्पियन्स ट्रफीमा आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ यूएईमा खेल्नेछ । प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तानी भूमिमा खेल्न अस्वीकार गरेपछि ‘हाइब्रिड मोडल’ का आधारमा यूएईलाई सह–आयोजक बनाइएको हो । 

प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, भारत, न्युजिल्यान्ड र आयोजक पाकिस्तान छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । 

प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान र न्युजिल्यान्डबिच फेब्रुअरी १९ तारिखमा खेलिने छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा भौतिक पूर्वाधारण निर्माणको विषय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का लागि चिन्ताको विषय बनेको छ । 

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनवरी ३१ तारिखभित्र पूर्वाधार निर्माणको सम्पूर्ण काम सकेर आईसीसीलाई जिम्मा लगाउने प्रतिबद्धता व्यक्त गरेको छ । तर, कराँची स्टेडियमको निर्माण कार्य भने हालसम्म पुरा भएको छैन । 

कराँची स्टेडियम निर्माण कार्यको जिम्मा लिएका बिलाल चौहानले काम युद्धस्तरमा भइरहेको जनाएका छन् । रङ्गशाला पूनःनिर्माणको काम गत अक्टोबरदेखि सुरु गरिएको थियो । तर, निर्धारित समयमै काम पुरा हुनेमा आशंका व्यक्त गरिएको छ । 

हालै बिलाल चौहानले सञ्चारकर्मीसँगको कुराकानीमा पीसीबीका अध्यक्षले रङ्गशाला निर्माणका क्रममा केही शर्त अघि सारेको बताएका छन् । पीसीबी अध्यक्षले रङ्गशालामा दुईवटा ठुला स्क्रीन र तीन सय ५० वटा एलईडी लाइट राखिनु पर्ने शर्त अघि सारेका छन् । 

बिलाल चौहानका अनुसार, खेलको प्रत्यक्ष प्रशारणलाई स्तरीय बनाउन केही अग्ला पोलहरु तयार पार्नु पर्ने र रङ्गशालामा दर्शकको सुविधाका लागि पाँच हजारवटा नयाँ कुर्सी राखिनु पर्ने माग पनि पीसीबी अध्यक्षले गरेका छन् ।  

यसैगरी, मैदानको दुबैतर्फ दुईवटा डिजिटल स्क्रीन जडान गरिनु पर्ने र चार तल्ले भवन निर्माण गर्नु पर्ने शर्त पनि रहेको छ ।, निर्धारित समयभित्रै यी सम्पूर्ण काम पुरा गर्न निकै कठिन रहेको पनि बिलाल चौहानले बताएका छन् । 

बिलाल चौहान पीसीबीका निर्देशक पनि हुन् । उनले प्रतियोगिताका लागि आवश्यक न्युनतम पूर्वाधारहरु भने निर्धारित समयमै पुरा भइसक्ने दाबी गरेका छन् । उनले पूर्वाधार निर्माणका लागि मजदुरको सँख्या पनि थप गरिएको दाबी गरेका छन् । 

‘पीसीबी अध्यक्षले थप केही शर्त राखेपछि हामीले दिउँसो करिब ६ सय र रातको समयमा तीन सय मजदुरलाई काममा लगाएका छौँ । रङ्गशाला पूननिर्माणको काम सुरु भएयता कुनै पनि मजदुर आफ्नो घर गएका छैनन् । सबैले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेका छन् । निर्धारित समयमै काम पुरा गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भनेका छन् । 

लाहोरमा पनि यस्तै युद्धस्तरमा काम भइरहेको उनले बताए । ‘लाहोरको रङ्गशालामा पनि द्रुतगतिमा काम भइरहेको छ । त्यहाँका प्रोजेक्ट म्यानेजरले पनि समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्माण कार्यमा सक्रिय हामी सबैको निजी जीवन अहिले ओझेलमा परेको छ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप