शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विकास निर्माण

कति बन्यो नागढुंगा–मुग्लिन सडक खण्ड, कहिले सकिन्छ काम ?

शुक्रबार, १८ माघ २०८१, ०७ : १७
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । संघीय राजधानी भित्रिने र बाहिरिने प्रमुख सडक हो, नागढुंगा–मुग्लिन सडक । यही सडकमार्ग हुँदै देशका अधिकांश जिल्लाबासी राजधानीबाट ओहोरदोहोर गर्छन् । 

यस खण्डबाट दैनिक करिब १५ हजार सवारी आवतजावत गर्छन् । तर यसको अवस्था दर्दनाक अवस्था छ । वर्षौँदेखि यात्रुले धुलो र हिलोका कारण निकै सास्ती भोग्दै आएका छन् । 

सडकखण्ड वरपरका स्थानीयबासी धुलो र हिलोका कारण वाक्कदिक्क मात्र छैनन्, स्वास्थ्यसम्बन्धी गम्भीर समस्यामा नै पर्न थालिसकेको गुनासो गरिरहेका छन् । 

राजमार्ग आसपासका व्यापार व्यवसाय ठप्प नै हुन लागिसकेका छन् । दुर्घटनाको जोखिम उस्तै छ । तर सडक खण्डको निर्माणमा सरकारको तदारुकता भने खासै देखिएको छैन । 

करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन वटा प्याकेज छुट्याएर स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्याइएको छ । 

पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ । 

यी तीन वटै प्याकेजको निर्माणका लागि सरकारले विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको छ । तीन प्याकेजमध्ये पहिलो र दोस्रो नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्ड गजुरी धादिङअन्तर्गत निर्माणको चरणमा छ । 

तेस्रो प्याकेज नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनअन्तर्गत निर्माणको क्रममा छ । 

नागढुंगा–नौबिसे खण्डको प्रगति ६५ प्रतिशत 
पहिलो प्याकेजको नागढुंगा–मुग्लिन सडक खण्ड २०८१ जेठ २७ भित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि म्याद नाघेको ८ महिना भइसक्यो । तर सडक खण्ड निर्माण सम्पन्न हुन सकेको छैन । 

नागढुंगा–मुग्लिन सडक पूर्वीखण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार हालसम्म यसको भौतिक ६५ र वित्तीय ५४ प्रतिशत प्रगति भएको छ । यस खण्डको पाँच किलोमिटर सडकमा कालोपत्रको काम सकिएको छ भने ७.२६ प्रतिशत बाँकी छ । 

‘असार मसान्तभित्र दुई वटा पुल निर्माण र बाँकी सडक कालोपत्र गरिसक्ने लक्ष्य लिएका छौँ,’ ओझाले भने। 

यो खण्डको सडक स्तरोन्नतिका लागि कुल १ अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ गते ठेक्का सम्झौता भएको यसको निर्माण २०८१ जेठ २७ भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । तर सम्झौताको डेढ वर्षपछि मात्रै निर्माण सुरु गरिएको थियो ।  

२०७९ जेठ २६ गतेदेखि यो खण्डको स्तरोन्नति सुरु गरिएकोमा हालसम्म करिब ६५ प्रतिशत मात्रै स्तरोन्नतिको काम सकिएको छ । 

नौबिसे–मलेखु खण्ड २०८३ असारमा निर्माण सक्ने लक्ष्य
दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड हो । ४३.५४ किलोमिटर दूरी रहेको यसको कुल ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी जेडआईसीजी–शर्मा–लामा जेभीले ठेक्का पाएको छ । 

२०८२ जेठ २७ भित्र निर्माण सम्पन्न गर्ने गरी २०७९ वैशाख १४ गते ठेक्का सम्झौता भएको थियो । तर, २०८३ असार मसान्तभित्र मात्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको योजना प्रमुख ओझा बताउँछन् । 

ओझाका प्रमुख दोस्रो प्याकेजको सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक फराकिलो पार्ने, वाल लगाउने, बिजुलीको पोल सार्नेलगायत कार्य अन्तिम चरणमा छ । तर यस खण्डको सडकमा कालोपत्र सुरु भएको छैन । चालु आर्थिक वर्ष २०८१/८२ भित्र १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको उनले बताए । 

यसैगरी यस खण्डमा १३ वटा पुल रहेका छन् । तीमध्ये २ वटा निर्माणसम्पन्न भएका छन् । दोस्रो खण्डका बाँकी ११ पुलमध्ये चालु वर्षभित्र ९ वटा निर्माणसम्पन्न गर्ने लक्ष्य छ । हालसम्म यो खण्डको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ भने, वित्तीय प्रगति २३ प्रतिशत छ ।

यी दुवै सडक खण्ड स्तरोन्नतिका लागि बजेट अभाव नभए पनि निर्माण सामग्रीको अभाव भएकाले सम्पन्न गर्न चुनौती थपिएको प्रमुख ओझा बताउँछन् । 

विश्व बैंकको ऋण सहयोगमा यो सडक खण्ड निर्माण भइरहेकाले बजेट अभाव नभएको उनले बताए । तर पछिल्लो समय निर्माण सामग्री र मूल्यवृद्धिले समस्या बढाएको उनले बताए । ‘सिमेन्टको मूल्य बढ्दा अभाव भएको छ, महँगै रकम तिर्छु भन्दा पनि पाउन सकिरहेको छैन,’ प्रमुख ओझा भन्छन्, ‘सरकारको मापदण्डका कारण ढुङगा गिटी बालुवाको पनि अभाव भएको छ ।’

प्रयोग गरिरहेका बालुवा तथा ढुंगाखानीमा मुद्दा पर्दा सडक खण्ड निर्माणमा असर पुगेको उनले बताए । साथै मापदण्डले तोकेको गुणस्तरीय गिटीसमेत सीमित ठाउँमा मात्र पाइने भएको भन्दै उनले अर्को समस्यासमेत सुनाए । 

बिजुलीका पोलहरू सार्ने लगायतका कारण पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । 

मलेखु–मुग्लिनको प्रगति कति ?
तेस्रो प्याकेजमा राखिएको यसको लम्बाई ३८.८६ किलोमिटर हो । यसको ठेक्का सम्झौता २०७९ पुस १५ गते भएको थियो । कुल ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा शर्मा–जेडआईसीजीले यो सडक खण्ड निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने हो । तर हालसम्म यसको निर्माण २५ प्रतिशत मात्र भएको बताउँछन् मलेखु मुग्लिन खण्डका इन्जिनियर दिपेश महर्जन् ।

महर्जनका अनुसार यस खण्डमा सडक चौडा गर्ने कार्य भइरहेको छ । यस खण्डमा पर्ने ६ पुल मध्ये पाँच वटा निर्माण भइरहेका छन् । गत असोजमा आएको बाढीपहिरोले यो खण्डमा ठूलो क्षति पुर्‍याएको थियो ।


यस खण्डका ६ स्थानमा पहिरो जाँदा सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो । कृष्णभीरमा करिब एक सय मिटरसम्म सडक भासिएकाले निर्माणमा झनै चुनौती थपिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप