शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल

बिहीबार, १७ माघ २०८१, २२ : ००
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । आज २०८१ माघ १७ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–

  • विपक्षी दलको बैठक

संसदका विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । साथै उनीहरुले  राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा आगामी संसदमा सशक्त आवाज उठाउने भएका छन् ।

  • मोर्चाको बैठक

मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

  • विपिन जोशी अपहरण प्रकरण

विगत १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहा हुन लागेको भन्ने समाचार बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। समाचारमा हमासले रिहा गर्ने बन्धकहरूको सूची भनेर दाबी गरिएको एउटा कागज सार्वजनिक गरिएको छ, जसमा विपिनको नाम ५८ औँ नम्बरमा रहेको देखाइएको छ । त्यसलाई नै सेयर गर्दै धेरैले सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । 

  • अखिल क्रान्तिकारी निर्वाचन

चार महिनाको रस्साकसीपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ नेतृत्व पाएको छ । बुधबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा ६८६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हेमन्त राईले ५१५ मत प्राप्त गरे ।

  • सहकारी ठगी प्रकरण

सहकारी प्रकरणमा एकपछि अर्को अदालतमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन जिल्लाबाट धरौटीमा छुटेका छन् । काठमाडौँ, कास्की र रूपन्देही जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भएका हुन् । उनीविरुद्ध अझै दुई जिल्लामा अनुसन्धान भइरहेको छ । 

  • हिउँदे अधिवेशनको तयारी

नेकपा (माओवादी केन्द्र)ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीले सरकारले अध्यादेशमार्फत देश लुट्न लागेको बताएको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले देश लुट्न नदिने भन्दै अध्यादेशको विरोध गर्ने निर्णय गरेको उप महासचिव रामकुमार भट्टराईले जानकारी दिए । 

  • सोनाम ल्होसार

सोनाम ल्होसारको अवसरमा राजधानीमा र्‍याली प्रदर्शन गरिएको छ । ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका साथ तामाङ समुदायले बिहीबार शान्ति बाटिकाबाट टुँडिखेलमा र्‍याली आयोजना गरेका हुन् ।  

  • विपक्षी दलको बैठक

केही दिनअघि काभ्रेको महाभारत जंगलमा डढेलो फैलियो । खानीखोला र महाभारत गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने महाभारत जंगलमा माघ ८ गते दिउँसोदेखि सुरु भएको आगलागी एक सातासम्म फैलिएको थियो । सोमबार (माघ १४ गते) मात्रै उक्त डढेलो नियन्त्रणमा आएको थियो ।

  • विश्व घटना

अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि भएको दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो ।

गाजामा हमासको कब्जामा रहेका ८ जना बन्धकहरूलाई बिहीबार रिहा गरिएको छ । यसमा तीन इजरायली र ५ थाई नागरिक रहेका छन् ।

  • खेलकुद

त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २० रनले हराएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टू–टायर टेस्ट’ प्रणाली फेरि चर्चामा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय क्रिकेट संघसँगै विश्व क्रिकेटका हस्तीहरूले पनि ‘टू–टायर टेस्ट’ प्रणालीको विषयमा चरणबद्ध रूपमा छलफल बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप