अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन : नयाँ युगका लागि ‘ब्रेक थ्रु’
काठमाडौँ । चार महिनाको रस्साकसीपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ नेतृत्व पाएको छ । बुधबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा ६८६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हेमन्त राईले ५१५ मत प्राप्त गरे ।
अनेरास्ववियु क्रान्तिकारीले उमेर हद विवादको निकासदेखि लिएर नयाँ नेतृत्व चयनसम्म आइपुग्दा पहिलो पटक लोकतान्त्रिक अभ्यास सुरु गरेको छ । सापकोटा र राईमात्र होइन, यसपटक अन्य नेताले पनि संगठनभित्र आफ्नो लोकप्रियता मापन गर्ने राम्रो अवसर पाए ।
विद्यार्थीको निर्वाचन भए पनि समग्र माओवादी आन्दोलनलाई नयाँ युगमा प्रवेश गराउन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया ‘ब्रेक थ्रु’ भएको कतिपयले बताएका छन् ।
असोज १० देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विवाद सतहमा आएको थियो । सोही विवादका कारण सम्मेलन स्थगित भएको थियो । पार्टी नेतृत्व, संगठनका इन्चार्ज, पूर्वअध्यक्ष, निवर्तमान पदाधिकारी, निर्वाचन समिति लगायतको प्रयासका कारण निर्वाचन सम्भव भयो ।
अहिले संगठनका अध्यक्षसहित सिङ्गो केन्द्रीय समितिमा ३२ वर्ष मुनिका युवा आएका छन् । संगठनको इतिहासमै नयाँ युग सुरु भएको नेताहरूले बताएका छन् । विधि, पद्धति, प्रणालीबाट आन्तरिक जनवादलाई बलियो बनाउन निकै मेहनत गरेका उपमहासचिव जनार्दन शर्माले प्रत्यक्ष प्रतिस्पर्धामार्फत विद्यार्थी संगठनको नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको बताए ।
‘विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्वाचनबाट नीतिगत रूपले नयाँ पुस्ता आइसकेको थियो । सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो । यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जन संगठनहरूमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहनेछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
शर्माले विद्यार्थीको निर्वाचनलाई शिक्षाका रूपमा ग्रहण गर्दै अझै सुधारको खाँचो रहेको दुई बुँदा औँल्याएका छन् । पहिलो, जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त्य गर्न प्रतिनिधिहरूलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकार सुनिश्चितता गर्न जरुरी रहेको उनको तर्क छ ।
दोस्रो, निर्वाचनप्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रूपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोगलाई सोही अनुरूपको सहजकर्ता, व्यवस्थापन, दबाबमुक्त रूपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्ने शर्माले प्रस्ट पारेका छन् ।
विद्यार्थीको निर्वाचनले निष्क्रिय रहेका अन्य जबस/मोर्चा र पार्टीलाई समेत आन्तरिक लोकतन्त्रको अभ्यासमा डोर्याउन मद्दत गरेको छ । यस्तै, ३२ वर्ष उमेर हद लागु गरेर अनेरास्ववियु क्रान्तिकारीले नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियु लगायत संगठनलाई समेत नैतिक दबाब दिएको छ ।
यो निर्वाचनले अब शक्तिशाली गुटको छहारीमा बसेर वा नेताको घरदैलो चहारेर स्वघोषित नेता बन्ने युगको अन्त्य भएको नेताहरूले विश्लेषण गरेका छन् । विद्यार्थीको निर्वाचन ‘ब्रेक थ्रु’ नै भएको अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा बताउँछन् । अहिलेसम्म पार्टीका शक्तिशाली नेतालाई रिझाएपछि बल्ल संगठनको नेता बन्न पाइन्छ भन्ने मान्यतालाई चुनावी परिणामले खारेज गरिदिएको शर्माको बुझाइ छ ।
‘आजसम्म विद्यार्थी नेता बन्दा कुनै गुटका नेतालाई समाउन जानुपर्थ्यो । नेतालाई रिझाएपछि बल्ल आफू नेता बन्न पाइन्छ भन्ने मनोविज्ञान थियो । विद्यार्थीको बिचमा जानुपर्ने थिएन’, उनले भने, ‘अब गुट भत्किएको छ । अझै भत्कन्छ । जो लोकप्रिय मत लिएर आउँछ, त्यो नै पार्टीका निम्ति आवश्यक छ ।’
संगठनको इतिहासमै ‘ब्रेक थ्रु’ भएको शर्माले बताए । निर्वाचनबाट लोभलाग्दा साथीहरू नेतृत्वमा आएको भन्दै उनले यसलाई पार्टीले आत्मसात् गर्ने बताए ।
माओवादीका नेता लक्ष्मण पन्तले गत वर्ष आफूले केन्द्रीय समिति बैठकमा उठाएको मुद्दा विद्यार्थी संगठनमा लागु हुँदा खुशी व्यक्त गरेका छन् । उनी पार्टीको सबै समिति, जबस/मोर्चामा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने माग राख्दै आएका नेतामध्ये एक हुन् ।
‘२०८० को साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका सबै तहमा प्रत्यक्ष चुनाव गरौँ भनी मैले उठाएको मुद्दा विद्यार्थीहरूको हकमा पूरा भएको छ । अब सिङ्गो पार्टीमा लागु गर्नुको विकल्प छैन’, उनले भने ।
यद्यपि माओवादी केन्द्रका सचिव राम कार्की विद्यार्थी संगठनमा प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट भए पनि नेता बन्न लहरो समाउने प्रवृत्ति नहटेको बताउँछन् ।
‘विद्यार्थीले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट गरेका छन् तर अझै पनि नेताको लहरो समाउने प्रवृत्ति हटिसकेको छैन । उनीहरूले आफ्नो क्यालेण्डर आफैँ बनाउनुपर्छ’, कार्कीले भने, ‘विद्यार्थीमात्र होइन, जबस/मोर्चा सबै स्वायत्त हुनुपर्छ । माओवादीभित्र चुनाव हुनु ठुलो कुरा हो । विद्यार्थीबाट सुरू भएको छ । यो सकारात्मक पक्ष हो ।’
मास संगठन (जनवर्गीय संगठन) स्वायत्त रूपमा चल्नुपर्ने भन्दै कार्कीले भ्रातृ संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने कुरा जुँगा फुलिसकेका पार्टी नेता बसेर टुंगो लगाउने विषय नभएको बताए ।
जनार्दनको लाइन अनुमोदन
विद्यार्थीको निर्वाचनले केही मात्रामा गुटको प्रभावलाई खारेज गरिदिएको छ । पार्टीलाई युद्धकालीन धङ्घङीभन्दा पनि बदलिँदो परिवेशमा नयाँ तरिकाबाट जान विधि, पद्धति र प्रणालीको विकास गर्नुपर्ने मत राख्दै आएका उपमहासचिव शर्माको लाइन अनुमोदन भएको देखिन्छ । गएको साउन अन्तिम साता सम्पन्न स्थायी समिति बैठकमा पार्टी निर्माणबारे १४ बुँदे सुझाव पेस गर्दा उनी निकै आलोचित भएका थिए । उनले वर्तमान केन्द्रीय समिति भङ्ग गरी प्रचण्डको संयोजकत्वका महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनको मिति तोक्नुपर्ने प्रस्ताव राखेका थिए ।
भर्खर सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा पनि उनले असोजभरिमा महाधिवेशन मिति तोक्नुपर्ने प्रस्ताव राखेका थिए । गत वर्ष फागुनको पहिलो हप्ता सम्पन्न प्रथम विधान महाधिवेशनमा पार्टीको सबै समिति प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने प्रस्ताव उनले गरेका थिए ।
केन्द्रीय समिति बैठकले ६ महिना पार्टी रुपान्तरण अभियान चलाउने र अर्को ६ महिनामा महाधिवेशनको मिति तोक्ने निर्णय ग¥यो । विधान अधिवेशनले पार्टीका सबै समिति प्रत्यक्ष निर्वाचित हुने र सोही समितिले पदाधिकारी तोक्ने निर्णय पारित गरेको थियो । यसरी शर्माको प्रस्ताव अनुमोदन हुँदै गएको विश्लेषण हुन थालेको छ ।
विद्यार्थी निर्वाचनले पार्टी नेतृत्वमाथि दबाब
सम्मेलन भएको ४ महिनासम्म नेतृत्व छनोट गर्न नसक्नुमा संगठनका निवर्तमान नेतृत्व टिम र पार्टीका शीर्ष नेताहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ जोडिएको देखिन्छ । पार्टी विधानमै जबस/मोर्चालाई स्वायत्त संगठनको मान्यता दिने अनि आफू अनुकूलको व्यक्ति ल्याउन छलछाम गर्ने प्रवृत्ति यसपटक पनि देखियो ।
पुस १३ गते ३२ वर्ष उमेर हदसम्बन्धी निर्वाचनमा खुला पक्षधर पराजित भएपछि सामाजिक सञ्जालमा ‘काका’(३२ वर्ष उमेरमाथि) र ‘भतिज’(३२ वर्ष उमेरमुनि)बिच छेडखानी नै चल्यो । त्यसको प्रत्यक्ष असर नेतृत्वको निर्वाचनमा पर्यो ।
यतिसम्म कि विद्यार्थीको विवाद पार्टीको पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकसम्म पुग्यो । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले अवकासप्राप्त नेताहरूलाई उनीहरूको चाहना, क्षमताका आधारमा पार्टीले व्यवस्थापन गर्ने निर्णय लिएपछि विवाद साम्य भए पनि मनोवैज्ञानिक असर बाँकी नै रह्यो ।
माघ ८ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास असफल भयो । पार्टीको प्रयास असफल भएपछि सोही दिन हेडक्वाटरको नाम र फोटो जोडेर शीर्ष नेता निकट विद्यार्थीहरूले अध्यक्षमा मनोनयन दर्ता गराए । अध्यक्षमा विजय सापकोटा, हेमन्त राई, सुदिन पौडेल, उपदेश यादव, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दर्ता गराए । उपमहासचिव शक्ति बस्नेत निकटका सापकोटालाई अध्यक्ष प्रचण्डको पनि साथ रहेको प्रचार गरियो । राईलाई अर्का उपमहासचिव जनार्दन शर्मा निकट रहेको प्रचार गरियो । यसैगरी पौडेललाई उपमहासचिव वर्षमान पुन, यादवलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, बुढालाई उपाध्यक्ष कृष्णबहादुर महरा र थापालाई उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङ निकटका भनेर प्रचार गरियो । अन्तिम समयमा बुढा र थापालाई दबाबमै उम्मेदवारी फिर्ता गर्न लगाइयो ।
पौडेल र यादवलाई समेत उम्मेदवारी फिर्ता लिन लगाउने प्रयास असफल भएपछि माघ १२ गते दुई घण्टा ढिलो गरी मतदान प्रक्रिया अगाडि बढाइयो । मतदान शान्तपूर्वक सम्पन्न भए पनि मतगणना सम्पन्न गर्न निर्वाचन समितिलाई सकस प¥यो । विवादकै कारण विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना पाँच दिनसम्म रोकियो । अन्ततः बुधबार सार्वजनिक अन्तिम नतिजा अनुसार उपमहासचिव शर्मा निकट मानिएका राईको प्यानलले अध्यक्ष बाहेक, महासचिव, चार जना उपाध्यक्ष, ७ जना उपमहासचिव, ५ जना सचिव र एक कोषाध्यक्ष जित्न सफल भयो । विद्यार्थीको निर्वाचनले आगामी दिनमा माओवादीभित्रको शक्ति सन्तुलन नै फेरबदल हुनसक्ने आकलन गरिएको छ ।
यद्यपि पार्टी हेडक्वाटर(प्रचण्ड) भर्सेस जनार्दनका रूपमा निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइएकोमा इन्चार्ज हिमाल शर्माले असन्तुष्टि पोखे । ‘अहिले यस्तो छ कि मान्छेहरूले धेरै गुट भए, कुन गुटका आए भनेर बाहिर ल्याएका छन्, त्यो होइन । अब गुट भत्किएको छ । अझै भत्कन्छ । कसैले पनि भल छोपेर धमिल्याउने प्रयास नगरे हुन्छ’, उनले भने, ‘विद्यार्थीको चुनावमा नेताले खेल्ने प्रयास नगरे हुन्छ । जसले जितेका छन्, उनीहरू आफ्नै क्षमता र योग्यताले जितेर आएका हुन् । नेतारूले अगाडि सार्दैमा चुनाव जित्छन् भन्ने मनोविज्ञान यसपटक साथीहरूले तोडिदिएका छन् ।’
यो निर्वाचनले गुटको आडमा वर्षौंसम्म नेतृत्वमा बसेर काम नगर्ने प्रवृत्ति अन्त्य भएको शर्माको बुझाइ छ । जबस÷मोर्चाको मात्र होइन, पार्टीको सबै समिति प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिनुपर्ने सन्देश दिएको उनले बताए ।
‘पार्टीलाई गतिशील बनाउन नेतामुखी होइन कार्यकर्तामुखी हुनुपर्ने विद्यार्थीको चुनावी परिणामले सन्देश दिएको छ । यसले जसब/मोर्चामात्रै होइन, पार्टीका सबै तहका नेतृत्व प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट आउनुपर्ने दबाब सिर्जना गरेको छ । यसलाई सकारात्मक लिनुपर्छ’, शर्माले भने ।
निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले माओवादीले भर्खर–भर्खरमात्र लोकतान्त्रिक अभ्यास गर्न थालेकाले समस्या आए पनि बिस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गरे । विद्यार्थीको निर्वाचनदेखि चुनावी परिणाम सार्वजनिक गर्ने बेलासम्म निकै दबाब रहेका उनी सबैको सहमतिमा अन्तिम परिणाम घोषणा गर्न सफल भएका थिए ।
क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष सापकोटाले पार्टी नीति र नेतृत्वको मार्गनिर्देशमा विद्यार्थी आन्दोलनलाई सहमति, सहकार्य र एकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष पदमा प्रतिस्पर्धी सबैले प्राप्त गरेको मतको सम्मान गर्दै संगठनको हितमा लगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
‘मेरो प्रतिस्पर्धी मित्रहरूले प्राप्त गरेका जनमतलाई संगठनको हितमा यथोचित स्थान र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु । निर्वाचित नेता साथीहरूमा मेरो अपिल छ– प्रतिस्पर्धाको शक्तिलाई सहकार्यको ऊर्जामा बदलेर आसन्न स्ववियु निर्वाचनको तयारीमा केन्द्रित होऔँ । हामीले फेरि अर्को इतिहास रच्नेछौँ’, सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग