शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
कलाकार

‘सारंग’ फिल्मबारे यस्तो छ ऋचाको अनुभव

बिहीबार, १७ माघ २०८१, १२ : ४९
बिहीबार, १७ माघ २०८१

अभिनेत्री ऋचा शर्मा पछिल्लो समय एकदमै व्यस्त छिन् । उनी अभिनीत फिल्म ‘सारंग’ आगामी २५ गते प्रदर्शन हुँदैछ । यो फिल्मको प्रचारप्रसारमा जुटेकी उनले ‘बलिदान’ चलचित्रको छायाङ्कनमा पनि समय छुट्ट्याउने गरेकी छन् ।

फिल्म ‘सारंग’को प्रचारका क्रममा राटोपाटीसँग भेटिएकी ऋचाले गत फागुन यता ६/७ फिल्ममा काम गरेको जनाउँदै यसबिचमा निकै व्यस्त हुनुपरेको बताइन् ।

उनी अभिनीत फिल्म ‘सारंग’ बच्चाहरूको मानसिक स्वास्थ्यको विषयमा बनेको हो । फिल्ममा उनी ११ वर्षीय छोराको आमा बनेकी छन् । फिल्ममा उनको छोराको भूमिकामा बाल कलाकार आदित्य कार्की छन् भने श्रीमानको भूमिकामा उत्पल झाले अभिनय गरेका छन् ।

हामीले घरमा दिने वातावरणले बच्चामा कस्तो प्रभाव पार्दछ भन्ने विषयलाई आधार बनाएर फिल्म निर्माण भएको ऋचाले बताइन् । कुनै प्रकारको सम्झौता गर्न नसक्ने, आफ्नोबारेमा मात्र सोच्ने दम्पतीको कथामा फिल्म बनेको उनको भनाइ छ ।

‘यो फिल्मले युवा अभिभावक र ६ देखि १२ वर्षसम्मका बच्चाको कथा बोकेको छ,’ उनले भनिन्, ‘हामी फिल्मको प्रचारका लागि स्कुल–स्कुलमा गएर बच्चाहरूसँग गेम लगायतका क्रियाकलाप मार्फत फिल्मको प्रचार गरिरहेका छौँ ।’ अन्य फिल्म झैँ मिडियामार्फत प्रचार पनि भइरहेको उनले सुनाइन् ।

‘फिल्ममा ठुलो कुरो केही छैन तर फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम छ,’ ऋचाले भनिन्, ‘फिल्मको महत्त्वपूर्ण कुरो त्यही हो । श्रीमानले अधिकार जमाउन खोज्ने र मचाहिँ आर्थिक रूपमा सक्षम हुन खोज्ने महिलाको भूमिकामा देखिनेछु ।’

फिल्मका लेखक, निर्माता तथा निर्देशक प्रशान्त तामाङ हुन् ।

अभिनेत्री ऋचा भावनात्मक रूपमा आफू यो फिल्ममा जोडिएको बताउँछिन् । फिल्मका लेखक, निर्माता तथा निर्देशक तामाङले फिल्मका लागि प्रस्ताव गर्दा कथावस्तु नै विशेषगरी आफूलाई केन्द्रित गरेको भनेर सुनाएपछि अभिनयका लागि राजी भएको उनको भनाइ छ ।

‘स्क्रिप्टमा धेरै कमी–कमजोरी थियो । तर, प्रशान्तको फिल्म निर्माणको उद्देश्य मलाई सही लाग्यो’, ऋचाले भनिन्, ‘यो खालको फिल्म बनाउन निर्माताले रुचि देखाइसकेका छैनन् । कथा बाल मनोविज्ञानमा आधारित थियो तर समसामयिक थियो । यसले दिने सन्देश पनि राम्रो लाग्यो ।’

प्रशान्तले यसअघि फिल्म ‘ठुलो मान्छे’ निर्देशन गरेका थिए । यद्यपि अभिनेत्री ऋचाले त्यो फिल्म हेरेकी थिइनन् । प्रशान्तलाई उनले कोरियोग्राफरका रूपमा चिनेकी थिइन् । कोरियोग्राफरले निर्देशन राम्रो गर्छ भन्ने विश्वास पनि ऋचालाई थिएन । कथा लोभलाग्दो भएकाले नै काम गरौँ भनेर जोडिएको उनले बताइन् ।

मंगलबार साँझ लबिङ मलमा फिल्म ‘सारंग’को विशेष शो आयोजना भएको थियो । उक्त शोमा ६० भन्दा बढी स्कुलका प्रिन्सिपल र शिक्षक सहभागी थिए । फिल्म हेरेपछि उनीहरूले विद्यालयका लागि शो बुकिङ गरेको ऋचा बताउँछिन् । उनले भनिन्, ‘फिल्म रिलिज अगाडि ठुलो हल्लाखल्ला नहोला तर रिलिजपछि प्रचार राम्रो हुन्छ ।’

ऋचाले आमाको भूमिका निर्वाह गरेको यो पहिलो फिल्म होइन । उनले थुप्रै फिल्ममा आमाको भूमिका निर्वाह गरिसकेकी छन् । आफू रियलमा आमा बनेपछि उनले आमाको भूमिका निर्वाह गरेको भने यो पहिलो फिल्म हो । त्यसैले यसको अनुभव अन्यको भन्दा फरक र नौलो रहेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘पहिले आमाको भूमिकामा अभिनय गर्दा आफ्नो आमालाई देखेर, उहाँको फिलिङ हेरेर गर्थेँ । अहिले आफैँ आमा भएकाले अझ गहिराइमा पुगेर अभिनय गर्न पाएँ ।’

यो फिल्मको कतिपय दृश्यमा आफ्नै छोरो सम्झिएर ‘यस्तो उसलाई भएको भए के हुन्थ्यो होला !’ भनेर भक्कानो फुटेको ऋचाले सुनाइन् । बच्चाको अगाडि पति–पत्नीले झगडा गर्न नहुने रहेछ भन्ने ठुलो शिक्षासमेत यस फिल्मबाट मिलेको उनको भनाइ छ ।

‘कहिलेकाहीँ श्रीमानसँग झगडा पर्छ । हाम्रो पनि मतभेद हुन्छ । त्यो समय छोराछोरी अगाडि छ भनेर विचार गर्दैनौँ,’ उनले भनिन्, ‘फिल्ममा अभिनयपछि भने ढोका लगाएरमात्र झगडा गर्नुपर्छ भन्ने बुझेँ ।’

ऋचा करिब २ वर्षपछि ‘सारंग’ मार्फत दर्शकमाझ देखिन लागेकी हुन् । पछिल्लो समय उनको फिल्म ‘हिजोआजको कुरा’ प्रदर्शनमा आएको थियो ।

यसबिचमा उनी कमेडी रियालटी शो ‘कमेडी च्याम्पियन’ मार्फत सानोपर्दामा छाएकी थिइन् । आफूलाई दर्शकले अभिनेत्रीको रूपमा चिन्ने भएकाले फिल्ममा खोज्नु स्वाभाविक भएको उनी बताउँछिन् ।

अब भने उनी केही समय निरन्तर फिल्ममा आउने छिन् । किनभने ‘मेयर’, ‘राजागञ्ज’, ‘विमान’, ‘बलिदान’ लगायत उनी अभिनीत फिल्म क्रमशः  रिलिजमा आउनेछन् । उनले भर्खर नयाँ फिल्म ‘कोसेढुङ्गा’ साइन गरेकी छन् भने अर्काे रियालटी शो ‘एक्टिङ स्टार’मा समेत देखिने भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप