विराट एक्स्पोमा खारेजीमा परेको संस्थाले स्टल राखेपछि खैलाबैला
विराटनगर । विराटनगरमा गत १२ गतेदेखि सुरु भएको विराट एक्स्पोमा खारेज गरिएको संस्थाले पनि स्टल राखेपछि खैलाबैला मच्चिएको छ ।
जिल्ला प्रशासन कार्यालय, मोरङले २०८१ कार्तिक ८ गते विराटनगर–१०, ट्राफिक चोकमा कार्यालय रहेको ‘अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ प्रभुपाद’ नामक संस्था खारेज गरेको थियो ।
तर, उक्त संस्थाले एक्स्पोमा स्टल राखेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उच्च अदालतको आदेशानुसार सोमबार खारेज भएको संस्थाको सम्पूर्ण गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको छ ।
‘श्री मोरङ जिल्ला अदालतबाट मिति २०८१/०७/१४ मा जारी भएको अन्तरिम आदेशलाई श्री उच्च अदालत विराटनगरको मिति २०८१/१०/१० को आदेशानुसार निरन्तरता नदिने आदेश भएकोले यस कार्यालयमा मिति २०८१/०४/०३ मा दर्ता नं. ४२१५ मा दर्ता भई खारेज भएको अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ प्रभुपाद नामक उक्त संस्थाको सम्पूर्ण गतिविधिहरू नियन्त्रण गर्न तथा चल अचल सम्पत्ति समेत रोक्का गर्नुहुन आदेशानुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।
संस्थाले २०४७ सालमा नेपालमा दर्ता भएको विश्वव्यापी इस्कोनको नक्कल गर्दै जनमानसमा भ्रम सिर्जना गरेको आरोप थियो । उक्त संस्थाले २०८१ मंसिर १३ गते मोरङ जिल्ला अदालतमा पुनरावेदन गई सो निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन आदेश प्राप्त गरेपनि २०८१ माघ १० गते उच्च अदालत बिराटनगरले सो अन्तरकालीन आदेशलाई बदर गरेको थियो ।
योसँगै अब जिल्ला प्रशासन कार्यालय, मोरङको २०८१ कार्तिक ८ को कारबाही कार्यान्वयनमा गएको छ । संस्था दर्ता ऐन २०३४ को दफा १४(१) बमोजिम खारेज भएको संस्थाको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आउने जनाइएको छ ।
खारेज भइसकेको संस्थाले भने विराट एक्स्पोमा सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्पत्ति ११७ नम्बरको स्टलबाट खुलेआम व्यापारिक प्रयोजनमा लगाएका छन् । एक्स्पोका आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उक्त स्टलको विषयमा धेरैले चासो राखेको कारण के रहेछ भनेर आफूले पनि बुझ्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल